ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा भएको छ। लहान नगरसभाहलमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी भई साक्षर नगरपालिका घोषणा गरेका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो, शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनाल, नगरपालिकाका २४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमको विधिवत् उद्घाटन गमलामा पानी हालेर गरिएको थियो। स्वागत मन्तव्य राख्दै उपप्रमुख राम चलितर महतोले असार मसान्तको व्यस्त समयमा पनि कार्यक्रममा सहभागी भएका सबैप्रति आभार व्यक्त गर्दै सिरहाको पहिलो साक्षर नगरपालिका बन्न सफल हुनु सम्पूर्ण नगरवासीका लागि गर्वको विषय भएको बताए। उपप्रमुख महतोले आफ्नो मन्तव्यमा संघीय व्यवस्थाबारे उठिरहेका बहसप्रति पनि धारणा राख्दै संघीयता खारेज गर्ने चर्चा उपयुक्त नभएको बताए। उनले संघीयताको आन्दोलनमा सिरहा र विशेषगरी लहानको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, हालै मधेश प्रदेशमा एसईई परीक्षामा जफत गरिएका मोबाइल फोन जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएको विषय उठाउँदै त्यससम्बन्धी निर्णय लिने जिम्मेवार पक्षमाथि कारबाही भए वा नभएको प्रश्नसमेत उठाए।
कार्यक्रममा शिक्षा शाखा प्रमुख अमिरी यादवले साक्षर अभियानको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले सञ्चालन गरेका साक्षरता अभियान, विद्यालय शिक्षाको पहुँच विस्तार, वयस्क साक्षरता, समुदायस्तरीय सचेतना कार्यक्रम तथा शैक्षिक सुधारका गतिविधिबारे जानकारी गराए। कार्यक्रममा उपस्थित सम्पूर्ण जनप्रतिनिधि तथा सरोकारवालाले ‘साक्षर प्रतिबद्धता’ पत्रमा हस्ताक्षरसमेत गरेका थिए।
प्रमुख अतिथि तथा शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले लहान नगरपालिकालाई सिरहाको पहिलो साक्षर नगरपालिका बन्न सफल भएकोमा बधाई दिँदै साक्षरता अभियानलाई केवल घोषणा वा प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले शिक्षा क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दलित समुदाय, विपन्न परिवार तथा उच्च शिक्षा हासिल गर्न चाहने छोरी–बुहारीलाई विशेष प्राथमिकता दिने नीति रहेको बताए।
मन्त्री सिंहले प्रदेशभरका ८७ वटा विद्यालयमा ‘मोडेल किचेन’ स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने बताए। उनले प्रदेशभर करिब ३ हजार २०० सामुदायिक विद्यालय रहेको उल्लेख गर्दै सीमित बजेटका बाबजुद शिक्षा क्षेत्रमा सुधारका प्रयास जारी रहने स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले शुभकामना मन्तव्य दिँदै सिरहा जिल्ला अझै पनि शैक्षिक सूचकांकमा देशको ७२औँ स्थानमा रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले साक्षर घोषणा कागजमा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्रले यस अभियानलाई सफल बनाउन आवश्यक सकारात्मक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनालले लहान नगरपालिकालाई बधाई दिँदै देशका ६८ जिल्ला साक्षर घोषणा भइसकेको र सिरहा यस अभियानको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे। उनले लहानको सफलताले जिल्लाका अन्य स्थानीय तहलाई पनि साक्षर अभियान अघि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले मधेश प्रदेश शिक्षा क्षेत्रमा अझै पनि देशकै पछाडि रहेको उल्लेख गर्दै लहानको साक्षर घोषणा प्रदेशका लागि सकारात्मक उपलब्धि भएको बताए। उनले विगतमा पटक–पटक प्रयास भए पनि सिरहाले साक्षर नगरपालिका घोषणा गर्न नसकेको अवस्थामा आजको उपलब्धि ऐतिहासिक भएको बताए। एसईई परीक्षामा जफत गरिएका मोबाइल नष्ट गरिएको विषयमा बोल्दै उनले आफू सम्बन्धित समितिको पदेन सदस्य भए पनि उक्त निर्णय भएको समयमा उपस्थित नरहेको स्पष्ट पार्दै कानुनी पक्षबारे आवश्यक जानकारी सार्वजनिक हुने बताए।
कार्यक्रमको अवसरमा साक्षर अभियान सफल बनाउन योगदान पुर्या एका विभिन्न व्यक्ति तथा अभियानमा परिचालित स्वयंसेवकलाई सम्मानसमेत गरिएको थियो। लहान नगरपालिका साक्षर घोषणा भएसँगै सिरहामा शिक्षा सुधार, निरक्षरता न्यूनीकरण तथा जीवनोपयोगी शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीचको सहकार्यबाट साक्षरतालाई व्यवहारमा रूपान्तरण गर्दै गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
औरही गाउँपालिकामा शिक्षा, कृषि र पूर्वाधारमा तीव्र लगानी: ३.३९ करोडको छात्रावास–पुस्तकालय भवन शिलान्यास, ६ तले प्रशासकीय भवन पनि निर
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic