ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा निधन भएका सिरहाको धनगढीमाई नगरपालिका–७ निवासी स्व. रामशरण महतोको क्रियाकर्म खर्चका लागि २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

धनगढीमाई नगरपालिका–७ कसहा निवासी दर्पि महतोका ४० वर्षीय छोरा रामशरण महतो वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत थिए। काम गर्ने क्रममा विद्युत्को करेन्ट लागेर गम्भीर घाइते भएका महतोको उपचारका क्रममा निधन भएको थियो। महतोको निधनपछि कतारमा कार्यरत कुशवाहा समुदायका नेपालीहरूले आवश्यक समन्वय तथा सहयोग जुटाउँदै उहाँको शव कतारस्थित नेपाली राजदूतावासको समन्वयमार्फत नेपाल ल्याई अन्तिम संस्कार सम्पन्न गराएका थिए।

स्व. महतोको शव नेपाल ल्याउने प्रक्रियामा प्रवासी कुशवाहा कल्याण समाज दोहा कतारका संस्थापक तथा एनआरएनए आईसीसी सदस्य शिवकुमार महतो, समाजका कतार अध्यक्ष घुरन महतोसहित पदाधिकारी तथा सदस्यहरूले प्रत्यक्ष रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरूको पहल र समन्वयका कारण शवलाई छिटो नेपाल ल्याउन सहज भएको बताइएको छ। यसै क्रममा स्व. महतोको परिवारलाई क्रियाकर्म खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय मनोजकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा प्रवासी कुशवाहा कल्याण समाजका अध्यक्ष अशोककुमार सिंह, कतार शाखाका महासचिव सन्तोषकुमार सिंह, कतार शाखाका उपाध्यक्ष उपेन्द्र महतो लगायत समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै प्रवासमा रहेका नेपाली समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोगले दुःखको समयमा पीडित परिवारलाई ठूलो राहत पुग्ने बताएका थिए।
प्रवासी कुशवाहा कल्याण समाजले आगामी दिनमा पनि वैदेशिक रोजगारीका क्रममा समस्या तथा विपत्तिमा परेका कुशवाहा समुदायका नेपालीहरूलाई आवश्यक सहयोग, उद्धार तथा समन्वयमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। स्व. रामशरण महतोको असामयिक निधनप्रति कार्यक्रममा उपस्थित सबैले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic