वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा (Basic Life Support–BLS) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।
आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (CPR), प्राथमिक उपचार तथा अन्य जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गरी अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
GTA Foundation ले सञ्चालन गरिरहेको ‘नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता’ सम्बन्धी अध्ययनअन्तर्गत तालिम आयोजना गरिएको हो। अध्ययनको मुख्य उद्देश्य एम्बुलेन्स चालकहरूको ज्ञान, दक्षता र व्यवहारिक सीप विकास गर्दै आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर तथा प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ।
मंगलबार बिहान ९ः३० बजेदेखि १२ः३० बजेसम्म नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा ३४ जना एम्बुलेन्स चालकको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा GTA Foundation का तर्फबाट इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक ललिता अवाल, अनुसन्धान सहायक रुबी श्रेष्ठ र ललिता कुँवरको उपस्थिति रहेको थियो। कार्यक्रम नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा सञ्चालन गरिएको थियो।
तालिममा GTA Foundation का प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट आधारभूत जीवनरक्षा प्रशिक्षक प्रशिक्षण (BLS-ToT) सफलतापूर्वक सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईंले समेत सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए। तालिमका क्रममा सहभागी एम्बुलेन्स चालकहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, CPR, आधारभूत जीवनरक्षा अभ्यास, प्राथमिक उपचारका विधि तथा अन्य जीवनरक्षासम्बन्धी व्यवहारिक सीपबारे प्रशिक्षण दिइएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिलाई आकस्मिक स्वास्थ्य सेवाको महत्वपूर्ण पक्षका रूपमा लिँदै यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। अस्पताल पुग्नुअघि बिरामीको पहिलो सम्पर्कमा रहने स्वास्थ्य सेवाका महत्वपूर्ण पक्षमध्ये एम्बुलेन्स सेवा पनि एक हो। त्यसैले एम्बुलेन्स चालकहरूमा आधारभूत जीवनरक्षासम्बन्धी ज्ञान र सीप हुनु बिरामीको प्रारम्भिक व्यवस्थापन तथा सुरक्षित अस्पताल स्थानान्तरणका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
GTA Foundation र नेशनल मेडिकल कलेजबीचको सहकार्यले एम्बुलेन्स चालकहरूको क्षमता विकाससँगै समुदायस्तरमा आकस्मिक स्वास्थ्य सेवा तथा अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic