ओम प्रकाश यादव लहान मंसिर ३। सिरहाको लहान नगरपालिका–२१ स्थित खोरिया टोल र वडा नं. १५ को बानोमा स्वच्छता अभियानअन्तर्गत सरसफाइसम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। समुदायमा स्वच्छता, सरसफाइ र सुरक्षित शौचालयको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचदिने अभियान सुरु गरिएको हो।
वाटरएड, दलित जनकल्याण युवा क्लब र भिजन ६३ इन्टरनेसनलको आयोजनामा ‘सुरक्षित शौचालय, समान भविष्य’ भन्ने मूल नारासहित अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। पाँच दिनसम्म निरन्तर सञ्चालन हुने यस अभियानमार्फत स्थानीय समुदायलाई सरसफाइको महत्त्व, सुरक्षित शौचालयको प्रयोग, स्वच्छ खानेपानी तथा व्यक्तिगत र वातावरणीय स्वास्थ्यका विषयमा व्यावहारिक जानकारी प्रदान गरिनेछ।
कार्यक्रमका क्रममा स्थानीय महिला तथा समुदायका सदस्यहरूलाई सरसफाइसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै दैनिक जीवनमा अपनाउनुपर्ने स्वस्थ व्यवहारबारे अभिमुखीकरण गरिएको थियो। विशेषगरी खुला दिसापिसाबका कारण पानीका स्रोत, हावा तथा वातावरण प्रदूषित हुने र विभिन्न सरुवा रोग फैलिने जोखिम रहने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।
अभिमुखीकरण कार्यक्रममा दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक गीता चौधरी, युथ भोलेन्टियर मंगलदेव पासवान र चन्द्रनारायण यादवले सहजीकरण तथा प्रशिक्षण दिएका थिए। उनीहरूले खाना खानुअघि र खाइसकेपछि, शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने, खानेपानीलाई सुरक्षित रूपमा छोपेर राख्ने तथा आवश्यक शुद्धीकरण गर्ने, शौचालयको नियमित प्रयोग र सरसफाइ गर्ने तरिकाबारे सहभागीलाई जानकारी गराएका थिए।
प्रशिक्षकहरूले खुला दिसापिसाबका कारण दिसामा रहेका हानिकारक जीवाणु विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्न सक्ने जोखिमबारे समेत जानकारी गराएका थिए। खेतबारीमा उत्पादन हुने तरकारी, सागसब्जी, फलफूल तथा अन्य खाद्यवस्तुमा फोहोर र जीवाणुको संक्रमण हुन सक्ने भएकाले खानेकुरा राम्रोसँग धुने, पकाएको खाना छोपेर राख्ने, घरवरपरको फोहोरमैला उचित व्यवस्थापन गर्ने र खुला ठाउँमा दिसापिसाब नगर्ने विषयमा विशेष जोड दिइएको थियो।
त्यसैगरी, सुरक्षित शौचालयको अभाव र प्रयोगसम्बन्धी व्यवहारमा सुधार नआउँदा विशेषगरी महिला, बालबालिका तथा सीमान्तकृत समुदायका सदस्यहरूले विभिन्न स्वास्थ्य तथा सामाजिक समस्या भोग्नुपर्ने अवस्थाबारे पनि छलफल गरिएको थियो। शौचालय निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको नियमित प्रयोग, सरसफाइ र उचित व्यवस्थापनसमेत उत्तिकै महत्त्वपूर्ण रहेको प्रशिक्षकहरूले बताएका थिए।
कार्यक्रममा सहभागी स्थानीय महिलाहरूले आफूहरूले सिकेका सरसफाइसम्बन्धी व्यवहारलाई घरपरिवार र समुदायमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले साबुनपानीले नियमित हात धुने, घर तथा घरवरपरको वातावरण सफा राख्ने, खानेकुरा छोपेर राख्ने, सुरक्षित शौचालयको प्रयोग गर्ने र फोहोरमैलाको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन्।
आयोजक संस्थाहरूका अनुसार अभियानको मुख्य उद्देश्य समुदायमा सरसफाइसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै व्यवहार परिवर्तनमार्फत सुरक्षित र स्वस्थ वातावरण निर्माण गर्नु हो। विशेषगरी शौचालयको पहुँच, प्रयोग र सरसफाइमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै सबै नागरिकलाई सुरक्षित सरसफाइको अभ्यासमा सहभागी गराउने लक्ष्य अभियानले लिएको छ।
पाँचदिने अभियानबाट खोरिया टोल र बानोका स्थानीय बासिन्दामा स्वच्छता तथा सरसफाइप्रति सकारात्मक सोचको विकास हुने, खुला दिसापिसाब गर्ने प्रवृत्तिमा कमी आउने र सुरक्षित शौचालयको नियमित प्रयोग बढ्ने अपेक्षा गरिएको छ। स्वच्छता केवल व्यक्तिगत स्वास्थ्यको विषय मात्र नभई परिवार, समुदाय र समग्र समाजको स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण पक्ष भएकाले सबैले आफ्नो दैनिक व्यवहारमा सरसफाइलाई प्राथमिकता दिनुपर्ने सन्देशसमेत अभियानले दिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved