ताजा समाचार

लहान नगरपालिकाद्वारा ८० छठ व्रतालु महिलालाई सारी वितरण

  • कार्तिक २७, २०८३
  • २५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारका छठ व्रतालु महिलाहरूलाई लक्षित गरी सारी वितरण गरेको छ। छठ पर्वलाई मर्यादित, सभ्य र उल्लासमय रूपमा मनाउन सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न विपन्न बस्तीका ८० जना महिलालाई सारी वितरण गरेको हो।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार लहान नगरपालिका वडा नं. १४ स्थित बस्तीपुर, वडा नं. २४ स्थित माणिकदह झुट्की तथा मलहन्मामा रहेका मुसहर बस्तीका छठ व्रतालु महिलाहरूलाई एक–एक थान सारी वितरण गर्नुभएको हो। नगरप्रमुख चौधरीका अनुसार स्थानीयवासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै लहानस्थित दुर्गा मन्दिरमा भक्तजनहरूले चढाएका सारीहरू मन्दिर समितिमार्फत प्राप्त गरी आर्थिक रूपमा कमजोर तथा विपन्न बस्तीका महिलाहरूलाई वितरण गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि थप विपन्न परिवारका छठ व्रतालु महिलाहरूलाई सारी वितरण गर्ने उहाँले जानकारी दिनुभयो।

उहाँले आर्थिक रूपमा सम्पन्न परिवारका लागि छठ पर्वमा व्रतालु महिलालाई नयाँ वस्त्रको व्यवस्था गर्नु सहज भए पनि दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि नयाँ सारी किन्नसमेत कठिन हुने गरेको बताउनुभयो। ‘आर्थिक रूपले सबल भएकाहरूले आफ्ना घरका छठ व्रतालुलाई नयाँ वस्त्र किनिदिन कुनै समस्या नहोला,’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘तर मजदुरी गरेर खाने परिवारका महिलाहरूलाई पूजाका लागि नयाँ वस्त्र किनिदिन समस्या हुने भएकाले नगरपालिकाको पहलमा एक–एक थान सारी वितरण गरिएको हो।’

छठ पर्व मधेससहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, आस्था र निष्ठाका साथ मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी परिवारका सदस्यको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मनाइने यस पर्वमा व्रतालु महिलाहरूले कठोर उपवास बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। छठ पर्वका अवसरमा व्रतालुहरूले नयाँ तथा शुद्ध वस्त्र धारण गरी विधिपूर्वक पूजा–अर्चना गर्ने गर्छन्। कात्तिक शुक्ल षष्ठीका दिन नदी, तलाउ तथा पोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत् समापन हुन्छ।

नगरप्रमुख चौधरीले पछिल्लो चार वर्षदेखि निरन्तर व्यक्तिगत तथा संस्थागत पहलमा गरिब, दलित र विपन्न बस्तीका छठ व्रतालु महिलाहरूलाई सारी वितरण गर्दै आएको बताउनुभयो। उहाँका अनुसार आर्थिक अभावका कारण पर्व मनाउन आवश्यक सामग्री तथा नयाँ वस्त्रको व्यवस्था गर्न नसक्ने परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले यस्तो अभियानलाई निरन्तरता दिइएको हो। नगरपालिकाको यस पहलले आर्थिक रूपमा कमजोर परिवारका महिलाहरूलाई छठ पर्व मनाउन थप सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल लहान–२३ द ...

शियाराम यादव,लहान कार्तिक २६।  जनता समाजवादी पार्टी (जसपा) नेपाल वडा इकाई कमिटी लहान–२३ क ...

‘भ्रमको खेती होइन, य ...

रामअधार यादव ,रौतहट, कार्तिक २५ गते । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले रौतहट ...

सप्तरीमा प्रथम करमने ...

ओम प्रकाश यादव लहान कार्तिक २५ । सप्तरीको खडक नगरपालिका–४ करमनियामा खेलकुदको विकास, स्थानीय खे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤