लहान, २१ कात्तिक । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नेपालले लहानका दुई विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरूलाई प्रदान गरिएको छात्रवृत्ति कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ। संघका अध्यक्ष मोहन पासमान, जिल्ला समन्वय समिति (जिसस) का सभापति दिनेश महतो, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नेपालका जिल्ला कार्यक्रम अधिकृत वरिश लाल मोची तथा सञ्चारकर्मीहरूको उपस्थितिमा विद्यालयमै पुगेर छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको अवस्था र छात्रवृत्ति रकमको उपयोगबारे अनुगमन गरिएको हो।
अनुगमनका क्रममा लहान नगरपालिका–१० बैरिया गुदिगाउँस्थित श्री जनता सेकेन्ड्री माध्यमिक विद्यालयका २२ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको जानकारी दिइएको छ। त्यसैगरी, लहान नगरपालिका–२४ डन्डाटोलस्थित श्री दलित भानुभक्त आधारभूत विद्यालयका १२ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्। दुवै विद्यालयका गरी जम्मा ३४ जना विद्यार्थी छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भएका छन्। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमध्ये श्री जनता सेकेन्ड्री माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत काजल कुमारी पासमान, कक्षा ७ की सुस्मा कुमारी पासमान र सुजिता कुमारी पासमान तथा कक्षा १० की सन्ध्या कुमारी पासमानले छात्रवृत्तिबाट प्राप्त रकम शैक्षिक सामग्री खरिद र ट्युसन कक्षामा खर्च गर्ने बताएका छन्।
विद्यार्थीहरूले छात्रवृत्तिबाट प्राप्त रकम कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री खरिद तथा अतिरिक्त ट्युसन पढ्न प्रयोग गर्ने बताएपछि अनुगमन टोलीले छात्रवृत्तिले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको थियो। दलित समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नदिन सहयोग गर्ने तथा शैक्षिक निरन्तरता कायम राख्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
अनुगमनका क्रममा संघका अध्यक्ष मोहन पासमान, जिल्ला कार्यक्रम अधिकृत वरिश लाल मोची, जिसस सभापति दिनेश महतोसहितको टोलीले छात्रवृत्ति कार्यक्रमको प्रभावकारिता र विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे जानकारी लिएको थियो। यस प्रकारका छात्रवृत्ति कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका दलित समुदायका बालबालिकालाई शिक्षामा अघि बढ्न प्रेरणा दिनुका साथै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
लहान क्षेत्रका विद्यालयमा दलित विद्यार्थीलाई छात्रवृत्ति, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा अनुगमन सम्पन्न
लहान नगरपालिका–२ को वडाध्यक्ष उम्मेदवारीको तयारी, समग्र विकास र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved