रहमुल, लहान, २० कार्तिक। सिरहाको लहान नगरपालिका २२ स्थित सिसवनीमा बुधबारदेखि प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले एक कार्यक्रमबीच गरेका छन्। खेलकुदको माध्यमबाट आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै भेट्रान खेलाडीहरूको खेलप्रतिको रुचि, उत्साह र सक्रियतालाई निरन्तरता दिने लक्ष्य आयोजकले राखेको छ। प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै समाजमा अनुशासन, सहकार्य, सकारात्मक सोच र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सद्भाव कायम गर्ने र विभिन्न समुदाय तथा पुस्ताबीच आपसी सम्बन्ध बलियो बनाउने महत्वपूर्ण माध्यमसमेत भएको उल्लेख गरे। खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन तथा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे। भेट्रान खेलाडीहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिताले लामो समयदेखि खेलकुदमा आबद्ध खेलाडीहरूलाई पुनः मैदानमा फर्कने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तालाई समेत फुटबलप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका सदस्य निशान्त चौधरीका अनुसार प्रतियोगितामा विभिन्न स्थानका गरी जम्मा १० वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेल मिर्चैया युथ क्लब र उदयपुर युथ क्लबबीच भएको थियो। स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण, भेट्रान खेलाडीको सम्मान र युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउन प्रतियोगिताले योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved