ताजा समाचार

लहान एक्स्पो २०८३ पुस २४ देखि माघ ४ गतेसम्म आयोजना हुने, १५० स्टल र २५ करोडको कारोबार लक्ष्य

  • कार्तिक १५, २०८३
  • ६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो २०८३’ आयोजना हुने भएको छ। जिल्ला उद्योग वाणिज्य संघ, सिरहा, लहानले आज पत्रकार सम्मेलन गरी एक्स्पोको मिति, उद्देश्य, व्यवस्थापन तथा तयारीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।

लहानस्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको परिसरमा सञ्चालन हुने एक्स्पोमा स्थानीय उत्पादन, कृषि, उद्योग, व्यापार, पर्यटन, हस्तकला तथा उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा जिल्ला उद्योग वाणिज्य संघ, सिरहा, लहानका अध्यक्ष प्रदीप कुमार गुप्ताले एक्स्पोले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै उद्योगी, व्यवसायी, उत्पादक, वितरक, लगानीकर्ता तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनका अनुसार एक्स्पोमा नेपालका विभिन्न क्षेत्रका उत्पादक तथा व्यवसायीका अतिरिक्त सम्भव भएसम्म छिमेकी तथा अन्य राष्ट्रका प्रदर्शकहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ। महोत्सवमा विभिन्न वस्तु तथा सेवाका करिब १५० वटा प्रदर्शनी तथा बिक्री स्टल रहनेछन्। आयोजकले एक्स्पो अवधिभर करिब एक लाख ५० हजार दर्शक तथा उपभोक्ताले अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ।

एक्स्पोमा घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषि तथा कृषिजन्य सामग्री, जडीबुटी, हस्तकला, तयारी पोशाक, जुत्ताचप्पल, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, पर्यटन र दैनिक उपभोग्य वस्तुका प्रदर्शनी कक्ष रहनेछन्। त्यसैगरी, एक्स्पोलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी विभिन्न भागमा विभाजन गरेर व्यवस्थित रूपमा सञ्चालन गरिने जनाइएको छ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विद्यालय तथा विभिन्न कला केन्द्रका सांस्कृतिक कार्यक्रम र अन्य मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ। आगन्तुक तथा सहभागीहरूको सुविधाका लागि सूचना तथा मिडिया केन्द्र, प्राथमिक उपचार, खानेपानी, शौचालय, पार्किङलगायत आवश्यक आधारभूत सुविधाको व्यवस्था गरिने आयोजकले जनाएको छ। साथै, एक्स्पोलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूसँग समन्वय गरिनेछ।

मधेश प्रदेश कृषि, उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक विविधताका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएकाले यस एक्स्पोमार्फत स्थानीय उत्पादन र मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने लक्ष्य राखिएको संघले जनाएको छ। आयोजकका अनुसार यस्ता व्यापारिक प्रदर्शनी तथा महोत्सवले स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना, लगानीका अवसरको पहिचान, पर्यटन विकास तथा क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जिल्ला उद्योग वाणिज्य संघ, सिरहा, लहानको मुख्य आयोजनामा सञ्चालन हुने एक्स्पोलाई सफल बनाउन लहान नगरपालिका, निजी क्षेत्र, उद्योग वाणिज्यसम्बद्ध संघसंस्था, सरकारी निकाय तथा अन्य सरोकारवालासँग सहकार्य गरिने अध्यक्ष गुप्ताले बताए।

पत्रकार सम्मेलनमार्फत संघले उद्योगी, व्यवसायी, लगानीकर्ता, उत्पादक, सञ्चारकर्मी तथा आम नागरिकलाई एक्स्पोमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। आगामी पुस २४ देखि माघ ४ गतेसम्म सञ्चालन हुने लहान एक्स्पो २०८३ ले लहानको व्यापारिक पहिचानलाई थप विस्तार गर्दै स्थानीय उत्पादन, उद्यमशीलता र आर्थिक गतिविधिलाई नयाँ अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤