रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रका विभिन्न शीर्षकमा विनियोजित करिब ३ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको विषयले स्थानीय शैक्षिक क्षेत्रको अवस्था र स्थानीय सरकारको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएको छ।
शिक्षा क्षेत्रमा लगानीको आवश्यकता बढिरहेका बेला ठूलो रकम खर्च हुन नसक्नुले विद्यालयको व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक सुधारका योजनामाथि प्रत्यक्ष असर परेको सरोकारवालाहरूको भनाइ छ। यस विषयमा गाउँपालिकाको शिक्षा शाखामा बुझ्दा तत्कालीन शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले बजेट फ्रिज हुनुका पछाडि राजनीतिक खिचातानी, स्थानीय सरकारको अल्पमतको अवस्था, जनप्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी नदेखिनु, विज्ञ जनशक्तिको अभाव तथा कर्मचारीले प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण नहुनुजस्ता कारण रहेको बताएका छन्। हाल शिक्षा शाखा प्रमुखका रूपमा संयोग कुमार ठाकुर हाजिर भइसकेका छन्।
यादवका अनुसार स्थानीय सरकार गठन भएयता शिक्षा क्षेत्रमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन। राजनीतिक खिचातानी, व्यक्तिगत प्रतिष्ठाको लडाइँ र विद्यालय व्यवस्थापनमा गैरअभिभावकको दबदबाजस्ता प्रवृत्तिले शैक्षिक सुधारको गति कमजोर बनाएको उनको भनाइ छ। शिक्षा क्षेत्रका लागि बजेट उपलब्ध हुनु मात्रै पर्याप्त नभई त्यसको समयमै कार्यान्वयन र प्रभावकारी उपयोग आवश्यक हुन्छ। तर सखुवानन्कारकट्टीमा बजेट खर्च हुन नसक्दा विद्यालय र विद्यार्थीले प्राप्त गर्नुपर्ने सुविधासमेत प्रभावित भएको देखिन्छ।
तत्कालीन शिक्षा शाखा प्रमुख यादवले यस वर्ष बजेट फ्रिज हुँदा सबैभन्दा बढी दुःखी पालिकाका शिक्षकहरू भएको बताएका छन्। शिक्षकहरूको लामो प्रयासपछि संघीय सरकारबाट ल्याइएको तीनवर्षे कार्यक्रम सञ्चालन हुन नपाउँदै फिर्ता गएको उनको भनाइ छ। उक्त कार्यक्रम कार्यान्वयन हुन नसक्नुले शिक्षक, विद्यार्थी र समग्र पालिकाको शैक्षिक विकासमा असर परेको यादवले बताएका छन्। शिक्षा सुधारका लागि प्रयास र स्रोत जुटाइए पनि राजनीतिक तथा प्रशासनिक अवरोधका कारण उपलब्ध अवसर उपयोग हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका २० वटा विद्यालयमध्ये १२ वटामा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन हुन नसकेको बताइएको छ। विद्यालय व्यवस्थापन समितिको अभावले विद्यालय सञ्चालन तथा प्रशासनिक कामकाजमा विभिन्न समस्या सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ। व्यवस्थापन समिति नहुँदा शिक्षक पदपूर्ति, कार्यालय सहयोगी नियुक्ति तथा विद्यालयको समग्र व्यवस्थापनमा कठिनाइ भइरहेको छ। यसको असर नियमित पठनपाठनमा समेत परेको बताइएको छ। विद्यालयको प्रशासनिक प्रक्रिया प्रभावकारी नहुँदा शिक्षकहरूमा असन्तुष्टि बढेको र शैक्षिक वातावरणसमेत प्रभावित भएको देखिन्छ।
विद्यालय व्यवस्थापन समितिको गठन सामान्य प्रशासनिक प्रक्रिया मात्रै नभई विद्यालयप्रति अभिभावकको सहभागिता, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम हो। त्यसैले लामो समयसम्म समिति गठन हुन नसक्नुले विद्यालय व्यवस्थापनमा देखिएका समस्यालाई थप जटिल बनाएको छ। पालिकाका विद्यालयहरूको भौतिक संरचना निर्माण तथा जनशक्ति व्यवस्थापनमा काम भएको बताइए पनि त्यसअनुसार विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको विषय चिन्ताजनक बनेको छ। विद्यालयमा भवन, कक्षाकोठा र शिक्षकको व्यवस्था हुनु सकारात्मक पक्ष हो। तर यतिले मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित हुँदैन। प्रभावकारी विद्यालय व्यवस्थापन, नियमित अनुगमन, शिक्षकलाई काम गर्ने अनुकूल वातावरण, विद्यार्थीको सिकाइ मूल्याङ्कन र अभिभावकको सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ।
स्थानीय तहका विद्यालयमा योग्य र अनुभवी शिक्षक हुँदाहुँदै पनि अपेक्षित शैक्षिक परिणाम हासिल हुन नसकेको गुनासो छ। शिक्षकहरूमा उत्प्रेरणा बढाउने र विद्यालयलाई परिणाममुखी बनाउने वातावरण सिर्जना गर्नुको सट्टा प्रशासनिक तथा राजनीतिक समस्यामा अल्झिनुपरेको अवस्था रहेको सरोकारवालाहरू बताउँछन्। सखुवानन्कारकट्टी गाउँपालिकाअन्तर्गत चारवटा माध्यमिक विद्यालय रहेका छन्। तीमध्ये वडा नम्बर १ को मौवाही र वडा नम्बर २ को सोठियाइनस्थित विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएको बताइएको छ। त्यस्तै वडा नम्बर ३ को माध्यमिक विद्यालय महदेवा पोर्ताहा र वडा नम्बर ५ को माध्यमिक विद्यालय महेशबारीमा सुधारका संकेत देखिए पनि तिनलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन थप काम गर्नुपर्ने आवश्यकता रहेको छ।
पालिकाभित्रका माध्यमिक विद्यालयहरूको अवस्थाले विद्यालयको नाम, भवन र शिक्षकको संख्याभन्दा पनि व्यवस्थापन, नियमित पठनपाठन र विद्यार्थीको सिकाइ उपलब्धिलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ। त्यसैगरी पालिकाभित्र रहेका १६ वटा आधारभूत विद्यालयमध्ये खैरबोना, सिमराहा, कुश्मा आ.बि.सोठियाइनका विद्यालयबाहेक अन्य विद्यालयमा अपेक्षित सुधार हुन नसकेको बताइएको छ। विद्यालयअनुसार समस्या पहिचान गरी सुधारका योजना लागू गर्नुपर्ने आवश्यकता देखिन्छ। विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउन, कुपोषणको जोखिम घटाउन र सिकाइमा सहयोग पुर्याउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर सखुवानन्कारकट्टी गाउँपालिकामा कार्यपालिकाको निर्णयअनुसार वडा अध्यक्षको सिफारिस अनिवार्य गरेकोले दिवा खाजामा समस्या देखिएको हो।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved