ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यालय भवनको शनिबार समुद्घाटन गरिएको छ। विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी भवनको औपचारिक उद्घाटन गरिएको हो। सोही अवसरमा वडामा कार्यरत १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकलसमेत वितरण गरिएको छ।

वडा नं. १५ का अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने पूर्ववडाध्यक्ष गौरीबहादुर भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमस्थलमा पुग्नुभएका नगरप्रमुख चौधरीलाई नवनिर्मित वडा कार्यालयको प्रवेशद्वारमा पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो। त्यसपछि उहाँले रिबन काटेर भवनमा प्रवेश गर्नुभएको थियो। वडा अध्यक्ष तेजनारायण चौधरीलाई उहाँकै कार्यकक्षमा आसन ग्रहण गराएपछि नगरप्रमुख चौधरीले शिलापत्रमा उल्लेखित विवरण वाचन गर्नुभयो। त्यसलगत्तै झण्डोत्तोलन गरी नवनिर्मित वडा कार्यालय भवनको औपचारिक समुद्घाटन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले वडा नं. १५ को विगतको अवस्था विभिन्न क्षेत्रमा कमजोर र नाजुक रहेको आफूले अनुभव गरेको स्मरण गर्नुभयो। स्थानीय नागरिकको आवश्यकता, चाहना र अपेक्षालाई ध्यानमा राख्दै शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, संस्कृति तथा सामाजिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो। नगरप्रमुख चौधरीले विकास निर्माणका कामबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिन सक्नु र जनताको मुहारमा मुस्कान ल्याउन सक्नु आफ्नो लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो। स्थानीय तहको विकास जनताको आवश्यकता र चाहनाअनुसार हुनुपर्नेमा जोड दिँदै उहाँले जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरिएको बताउनुभयो।

वडा अध्यक्ष तेजनारायण चौधरीले लहान नगरपालिकाको सबैभन्दा ठूलो वडा वडा नं. १५ मा पछिल्लो समय विभिन्न क्षेत्रमा थुप्रै विकास भएको बताउनुभयो। उहाँका अनुसार वडाभित्रका विभिन्न विद्यालयमा भवन निर्माण, सामुदायिक भवन निर्माण तथा अधिकांश सडक पक्की बनाउने काम सम्पन्न भएका छन्। त्यसैगरी वडाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल हात्ती दह र पञ्चवती मन्दिरलगायत क्षेत्रको विस्तार, सुधार र विकासका लागि समेत आवश्यक बजेट उपलब्ध गराइएको उहाँले बताउनुभयो। यी विकासका काममा सहयोग पुर्यावएको भन्दै वडा अध्यक्ष चौधरीले नगरप्रमुख महेशप्रसाद चौधरीप्रति आभार व्यक्त गर्नुभयो।

नगरपालिकाका २४ वटै वडालाई समानताको सिद्धान्तअनुसार प्रत्येक वर्ष ५०/५० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नीति नगरप्रमुख चौधरीको सकारात्मक विशेषता भएको वडा अध्यक्ष तेजनारायण चौधरीले उल्लेख गर्नुभयो। समान बजेट वितरणको अभ्यासले सबै वडामा विकासका काम अघि बढाउन सहयोग पुगेको उहाँको भनाइ थियो।
कार्यक्रममा हात्ती दह पर्यटन क्षेत्रका अध्यक्ष रुद्रनारायण चौधरीले लहान नगरपालिकामा विकासको लहर ल्याउन नगरप्रमुख महेशप्रसाद चौधरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले नगरको समग्र विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा नगरप्रमुखले पुर्यामएको योगदानको चर्चा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै, समाजसेवी बलिराम चौधरीले नवनिर्मित वडा कार्यालय भवन वडावासीका लागि गौरवको विषय भएको बताउनुभयो। नयाँ भवनबाट नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गर्दै उहाँले स्थानीयवासीले सुशासन कायम गर्न र सार्वजनिक सेवा प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
भवन निर्माणमा योगदान पुर्याैउने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो। स्थानीयवासी पशुपति चौधरीले वडा कार्यालय भवनको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको बताउनुभयो। नगरप्रमुख महेशप्रसाद चौधरीको पहलमा सुविधासम्पन्न भवन निर्माण भएपछि स्थानीय नागरिकको आवश्यकता पूरा भएको उल्लेख गर्दै उहाँले खुसी व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्ववडाध्यक्ष गौरीबहादुर भट्टले विगतमा सानो झुपडीजस्तो भवनमा बसेर वडा कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गर्नुभयो। अहिले सुविधासम्पन्न भवन निर्माण हुनुले वडामा विकास र परिवर्तनको अनुभूति गराएको उहाँले बताउनुभयो। पूर्ववडाध्यक्ष भट्टले नवनिर्मित वडा कार्यालय भवनलाई नमुना भवनको संज्ञा दिँदै यसको निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वर्तमान वडा अध्यक्ष तेजनारायण चौधरीलाई धन्यवाद दिनुभयो। उहाँले नयाँ भवनबाट वडावासीले सहज, सरल र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
भवन उद्घाटनसँगै आयोजित कार्यक्रममा वडामा कार्यरत १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको थियो। साइकल वितरणले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा स्वास्थ्यसम्बन्धी सेवा तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्वास्थ्य सेवा तथा जनचेतना विस्तारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। उनीहरूको कार्यसम्पादनलाई सहज बनाउन साइकल वितरण गरिएको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो।
लहान नगरपालिका वडा नं. १५ को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सामाजिक अगुवा, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले वडा नं. १५ को विकास निर्माणमा नगरप्रमुख महेश प्रसाद चौधरीले पुर्याीउनुभएको योगदानको प्रशंसा गरेका थिए। कार्यक्रमको उद्घोषण मावि ढोढनाका शिक्षक दोस्तबहादुर भट्टराईले गर्नुभएको थियो। उहाँको प्रभावकारी र व्यवस्थित उद्घोषण शैलीले कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरूले बताएका थिए। नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा आएसँगै वडा नं. १५ का नागरिकलाई स्थानीय सरकारबाट प्राप्त हुने प्रशासनिक तथा सिफारिसलगायतका सेवा थप व्यवस्थित रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। भवन निर्माणसँगै वडा कार्यालयको भौतिक पूर्वाधारमा सुधार हुनु स्थानीय विकासको अर्को उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved