रहमुल, लहान, २९ कात्तिक । सिरहाको भगवानपुर गाउँपालिकाको सहयोग तथा थ्री स्टार क्लब नहराको आयोजनामा सञ्चालित कबड्डी प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। वडा नं. २ र वडा नं. ५ बीच भएको रोमाञ्चक फाइनल खेलका क्रममा दर्शकबीच विवाद उत्पन्न भएपछि खेल बीचमै रोकिएको थियो।
खेल समाप्त हुन करिब पाँच मिनेट बाँकी रहँदा खेलमैदान बाहिर रहेका दर्शकहरूबीच विवाद भएपछि खेल प्रभावित बनेको थियो। यद्यपि, दुवै वडाका खेलाडीहरूले खेल अवधिभर अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धा गरेका थिए। विवाद खेलाडीहरूबीच नभई दर्शकहरूबीच भएको आयोजक तथा स्थानीयवासीले स्पष्ट पारेका छन्।
घटना लगत्तै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको थियो। सुरक्षा निकायको सक्रियताका कारण सम्भावित ठूलो घटना हुनबाट जोगिएको थियो। खेल पुनः सञ्चालन गर्न आयोजकले पटक–पटक सूचना जारी गरे पनि वडा नं. ५ का खेलाडीहरू बाँकी खेल खेल्न मैदानमा नफर्किएपछि उपलब्ध अंकका आधारमा वडा नं. २ लाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता वडा नं. २ को टोलीले नगद ११ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नं. ५ को टोलीलाई गाउँपालिकामा बोलाएर पछि सम्मान गरिने गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले जानकारी दिएका छन्। अध्यक्ष यादवले फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भइरहेको अवस्थामा दर्शकबीचको विवादले प्रतियोगितालाई प्रभावित बनाएको भन्दै दुःख व्यक्त गरे। उनले आपसी समझदारी, सहकार्य र सद्भाव कायम राख्दै घटनालाई थप विवादित नबनाउन सबै पक्षलाई आग्रह गरे।
स्थानीय नहरावासीले पनि घटनालाई आपसी समझदारीबाट समाधान गर्दै खेलाडीहरूको मनोबल कमजोर हुन नदिन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। भगवानपुर गाउँपालिकामा कबड्डी खेललाई पुनर्जीवित गर्ने उद्देश्यले लामो समयदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ। स्थानीयस्तरमा यस प्रतियोगिताको सुरुवात पूर्व गाउँपालिका अध्यक्ष बेचन यादवको कार्यकालदेखि भएको बताइन्छ। त्यसलाई वर्तमान गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले समेत निरन्तरता दिँदै आएका छन्।
प्रतियोगिताको निरन्तरताले स्थानीय युवाहरूमा कबड्डी खेलप्रति आकर्षण बढाउनुका साथै सयौँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ। यस प्रतियोगितामा सहभागी खेलाडीहरूको प्रदर्शनले भगवानपुरमा कबड्डी खेलको राम्रो सम्भावना रहेको देखाएको छ। उचित प्रशिक्षण, खेल सामग्री, नियमित अभ्यास र आवश्यक लगानी उपलब्ध गराउन सके यहाँका खेलाडीले राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको खेलप्रेमीहरूको भनाइ छ।
खेलमैदानबाहिर भएको विवादले प्रतियोगितालाई प्रभावित बनाए पनि यस घटनालाई खेलको भविष्यसँग जोडेर नकारात्मक रूपमा लिनुभन्दा कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आयोजक, जनप्रतिनिधि, खेलप्रेमी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक छ। खेल हारजितभन्दा माथि हुन्छ। खेलाडीको मेहनत, अनुशासन र खेलभावनाको सम्मान गर्दै भगवानपुरको कबड्डी खेललाई स्थानीयस्तरबाट राष्ट्रियस्तरसम्म पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved