रहमुल,लहान २९ कात्तिक । सप्तरीको सुरुंगा नगरपालिका–११ खजनपुर भजकामा सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ। रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न फाइनल खेलमा महुलिया युवा क्लब, सुरुंगा नगरपालिका–८ ले मुशहर्निया युवा क्लब, खडक नगरपालिकालाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको छ।
श्री सन्यासी बाबा युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महुलिया युवा क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बन्न सफल भएको हो। फाइनल खेलमा मुशहर्निया युवा क्लबलाई गोलरहित अवस्थामा राख्दै महुलिया युवा क्लबले निर्णायक एक गोल गर्न सफल भयो। पराजित मुशहर्निया युवा क्लबले उपविजेतामा चित्त बुझाएको छ।खेलकुद अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि समाजसेवी तथा इँटा उद्योगका संस्थापक मोहम्मद उल्फत रहनुभएको थियो। प्रतियोगितामा विभिन्न क्षेत्रका गरी आठवटा टिमले सहभागिता जनाएका थिए। स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीका लागि ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी र दोस्रो हुने टोलीका लागि २६ हजार ५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो। प्रथम पुरस्कारको नगद तथा सिल्ड समाजसेवी मोहम्मद उल्फतले सहयोग गर्नुभएको थियो भने दोस्रो पुरस्कार स्थानीय समाजसेवी पुनम कुमारी चौधरीले उपलब्ध गराउनुभएको थियो।त्यसैगरी प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न स्थानीय ९२ जना व्यक्तिले आर्थिक सहयोग गरेको आयोजकले जानकारी दिएको छ। स्थानीय समाजसेवी, युवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सामूहिक सहयोगबाट प्रतियोगिता सम्पन्न भएको आयोजकको भनाइ छ।
शनिबार सम्पन्न फाइनल तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि समाजसेवी मोहम्मद उल्फत र विशिष्ट अतिथि समाजसेवी पुनम कुमारी चौधरी रहनुभएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष इन्द्रदेव चौधरी, शुभनारायण चौधरी, छेदी साह, ११ का वडाध्यक्ष रामकुमार चौधरी, कार्यपालिका सदस्य निर्मला चौधरी, १० न.वडाध्यक्ष चन्द्रनारायण यादव, समाजसेवी महेन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो।त्यस्तै शिक्षा पत्रकार राधेश्याम राम तथा गहवर राष्ट्रिय दैनिकका सम्पादक राशिन्द्रकुमार यादवसहित स्थानीय बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले ग्रामीण क्षेत्रमा यस्ता खेलकुद प्रतियोगिताले युवाहरूको प्रतिभा प्रस्फुटन गर्न, खेलप्रतिको आकर्षण बढाउन र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाहरूलाई अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको संस्कार सिकाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
स्थानीय ९२ जना सहयोगीको आर्थिक योगदान र समाजसेवीहरूको साथले सम्पन्न प्रतियोगिताले ग्रामीण क्षेत्रमा सामूहिक प्रयासबाट पनि ठूला खेलकुद गतिविधि सञ्चालन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।प्रतियोगिताको उपाधि जितेसँगै महुलिया युवा क्लबले विजेताको गौरव हासिल गरेको छ भने उपविजेता मुशहर्निया युवा क्लबले पनि उत्कृष्ट प्रतिस्पर्धामार्फत खेलप्रेमीको मन जितेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved