ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालिका–१९, नौडेगा राम टोलमा सरसफाइ तथा सुरक्षित शौचालय प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको छ।

सोमबार भदौ १ गते आयोजित कार्यक्रममा स्थानीयवासीको सहभागितामा “घर–घरको शान, स्वच्छता अभियान”, “जकर घरमे चर्पी नै, ओकर घरमे शादी नै” लगायतका नारासहित जनचेतनामूलक जुलुस निकालिएको थियो। जुलुसपछि प्रस्तुत गरिएको सडक नाटकमा “शौचालय हमर सभक शान छी” भन्ने मुख्य सन्देशमार्फत सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत तथा सामुदायिक सरसफाइ, स्वच्छ वातावरण र स्वस्थ व्यवहारका विषयमा स्थानीय समुदायलाई सचेत गराइएको थियो।
लहान नगरपालिकाका २४ वटै वडामा सञ्चालन भइरहेको “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत नौडेगामा गरिएको सडक नाटकले शौचालयको अभावमा स्थानीय समुदायले भोग्दै आएका समस्या तथा त्यसबाट उत्पन्न हुने स्वास्थ्य र सामाजिक जोखिमलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको थियो।

लहान–१९, नौडेगा क्षेत्रमा करिब १०० घरधुरी रहेको र तीमध्ये केही घरमा मात्र शौचालय रहेको स्थानीयले बताएका छन्। अझै पनि केही परिवार शौचालयविहीन अवस्थामा रहेको भन्दै स्थानीयवासीले शौचालय निर्माण र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रममा उपस्थित एक वृद्धले शौचालय नहुँदा स्थानीयवासीले भोग्नुपरेका समस्या निकै गम्भीर रहेको बताए। उनले भने, “चर्पी नहुँदा हामीले भोगेका कुरा यहाँ वर्णन गर्न पनि एकदमै कठिन छ। घरका महिला, बालबालिका र वृद्धवृद्धालाई झन् बढी समस्या हुने गरेको छ।”

त्यस्तै, कार्यक्रममा सहभागी एक वृद्ध आमाले भावुक हुँदै शौचालयको अभावका कारण आफ्ना छोरी तथा बुहारीहरू बाहिर गएर शौच गर्न बाध्य भएको पीडा सुनाइन्। उनले भनिन्, “सायद हामी गरिब भएकै कारण होला, हाम्रो घरमा चर्पी छैन। हाम्रा छोरी–बुहारी बाहिर झाडीमा शौच गर्न बाध्य छन्। तर आजको कार्यक्रम हेरेपछि हाम्रो बुद्धि खुल्यो। अब बरु एक छाक खाना नखाई भए पनि घरमा चर्पी बनाउँछु।”

उनको यो भनाइले शौचालय निर्माण केवल सरसफाइको विषय नभई महिला तथा बालिकाको सुरक्षा, सम्मान, स्वास्थ्य र सामाजिक प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट देखाएको छ। सडक नाटकमार्फत खुला ठाउँमा शौच गर्दा हुने स्वास्थ्य जोखिम, वातावरणीय प्रदूषण तथा सामाजिक समस्याबारे समेत जानकारी गराइएको थियो। स्थानीयवासीलाई प्रत्येक घरमा सुरक्षित शौचालय निर्माण गरी नियमित प्रयोग गर्न, घरआँगन तथा वरपरको वातावरण सफा राख्न र बालबालिकालाई समेत सरसफाइसम्बन्धी व्यवहार सिकाउन आग्रह गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले जनचेतनामूलक सडक नाटकजस्ता कार्यक्रमले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै शौचालय निर्माण र प्रयोगको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। स्थानीयवासीले आफ्नो टोललाई पूर्ण रूपमा शौचालययुक्त र स्वच्छ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

लहान नगरपालिकाका २४ वटै वडामा सञ्चालन भइरहेको यस अभियानले “हरेक घरमा सुरक्षित शौचालय, स्वच्छ परिवार र स्वस्थ समाज” निर्माण गर्ने लक्ष्यलाई व्यवहारमा उतार्न समुदायस्तरमा जनचेतना फैलाउने काम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic