ताजा समाचार

नरहामा निःशुल्क आँखा शिविर, ९० जनाले लिए सेवा

  • असोज १६, २०८३
  • ३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ९० जनाले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन्। तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापनमा सञ्चालित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखा सम्बन्धी समस्या भएका तथा नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेका स्थानीयको आँखा परीक्षण गरिएको थियो।

शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजक पक्षका विजय कुमार यादवले जानकारी दिए। शिविरमा छनोट भएका मोतियाबिन्दुका बिरामीहरूको फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा–११ मा निःशुल्क शल्यक्रिया गरिने उनले बताए। आँखाको समस्या समयमै पहिचान गरी उपचार गराउन सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ। आयोजकले आँखासम्बन्धी समस्या भएका तथा नियमित परीक्षण गराउनुपर्ने सर्वसाधारणलाई समयमै आँखा जाँच गराउन आग्रह गरेको छ।

शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र सहभागी सेवाग्राहीप्रति समाजसेवी रामउदगार यादवले आभार तथा धन्यवाद व्यक्त गरेका छन्। शिविर सञ्चालनमा तिलगंगा आँखा प्रतिष्ठान, रामलाल गोल्छा आँखा अस्पताल तथा अस्ट्रेलियन एड र फ्रेड होलोज फाउन्डेसनको सहयोग रहेको जनाइएको छ।

रामउदगार यादव लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका स्थानीय व्यक्तित्वका रूपमा परिचित छन्। विभिन्न सामाजिक गतिविधि तथा समुदायमुखी कार्यमा निरन्तर सहयोग गर्दै आएका यादव अहिले उमेरका कारण सक्रिय जिम्मेवारीबाट क्रमशः विश्राम लिने अवस्थामा पुगेका छन्। उनका छोरा विजय कुमार यादवले भने बुबाले अघि बढाउँदै आएको सामाजिक सेवाको जिम्मेवारी सम्हाल्दै आएका छन्। सानै उमेरदेखि सामाजिक गतिविधिमा सक्रिय रहेको बताइएका विजय अहिले लहान अस्पताल चोकमा ‘एलआरएल’ नामक संस्था तथा प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। उनी प्रयोगशाला प्राविधिकका रूपमा समेत कार्यरत छन्।

स्थानीयस्तरमा सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा सक्रिय विजयले आगामी दिनमा समाजसेवालाई थप व्यवस्थित रूपमा अघि बढाउने बताउँदै आएका छन्। स्थानीय स्रोतका अनुसार उनी नरहा गाउँपालिकाको अध्यक्ष पदका लागि तयारीसमेत गरिरहेका छन्।

विजयका बुबा रामउदगार यादव सामाजिक सेवासँगै स्थानीय राजनीतिमा समेत सक्रिय रही असल राजनीतिक छवि बनाएका व्यक्तिका रूपमा स्थानीयस्तरमा परिचित छन्। बाबुले सुरु गरेको सामाजिक सेवाको अभियानलाई छोराले निरन्तरता दिन थालेपछि यादव परिवारको सामाजिक सक्रियता स्थानीय समुदायमा थप चर्चामा आएको छ।

प्रतिक्रिया दिनुहोस

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

सिरहामा बढ्दो लागूऔष ...

रहमुल, लहान, १६ असोज । सिरहामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुने घटना बढ्दै गएपछि यसको का ...

लहान कांग्रेसको नगर ...

ओम प्रकाश यादव, लहान असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लहान नगरपालिका नगर सभापति पद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤