लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको ढिलाइप्रति जनता समाजवादी पार्टी (जसपा) नेपाल सुखीपुर नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। नगर समितिले ज्ञापनपत्र बुझाउँदै सामाजिक सुरक्षा भत्ता नियमित र समयमै वितरण गर्न माग गरेपछि नगर प्रमुखले दशैंअघि नै भत्ता वितरणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
जसपा नेपाल सुखीपुर नगर समिति अध्यक्ष इन्जिनियर जिबछ यादवको नेतृत्वमा गएको टोलीले असोज ७ गते नगर प्रमुख रामऔतार यादवलाई ज्ञापनपत्र बुझाउँदै सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको ढिलाइ तत्काल अन्त्य गर्न माग गरेको थियो। ज्ञापनपत्रमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गले लामो समयदेखि आफ्नो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्दा दैनिक जीवनयापनमा समस्या भइरहेको उल्लेख गरिएको छ। साथै, भत्ता वितरणको निश्चित मिति, प्रक्रिया र आवश्यक व्यवस्थाबारे लाभग्राहीलाई समयमै जानकारी गराउन नगरपालिकासँग माग गरिएको थियो।
ज्ञापनपत्रमाथि छलफल गर्दै नगर प्रमुख रामऔतार यादवले सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा दशैंअघि नै लाभग्राहीलाई भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको जसपा नगर समितिले जनाएको छ। जसपा युवा नेता सुरेन्द्र यादवले सामाजिक सुरक्षा भत्ता कुनै दल वा व्यक्तिको कृपा नभई लक्षित नागरिकको अधिकार भएको बताए। उनले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका लाभग्राहीले आफ्नो हकको रकम समयमै र सहज रूपमा प्राप्त गर्नुपर्नेमा जोड दिए।
उनले भत्ता वितरणको मिति र प्रक्रियाबारे नगरपालिका तथा सम्बन्धित निकायले स्पष्ट सूचना सार्वजनिक गरी लाभग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गर्नुपर्ने बताए। नगर समितिले नगर प्रमुखबाट व्यक्त प्रतिबद्धता कार्यान्वयन भए/नभएको विषयमा निरन्तर निगरानी गर्ने जनाएको छ। साथै, दशैंअघि नै सामाजिक सुरक्षा भत्ता वितरण नभए पुनः नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दबाबमूलक कार्यक्रम अघि बढाउने संकेतसमेत गरेको छ।
लामो समयदेखि भत्ता वितरणमा ढिलाइ हुँदा विशेषगरी ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर लक्षित वर्ग प्रभावित भइरहेका बेला नगर प्रमुखको प्रतिबद्धताले दशैंअघि भत्ता पाउने आशा बढाएको छ। अब नगरपालिकाले प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै लाभग्राहीलाई समयमै भुक्तानी उपलब्ध गराउनुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved