Siraha Times
ताजा समाचार

लहान–९ मा ‘घर–घरको शान’ स्वच्छता अभियान, सरसफाइसँगै सडक नाटकमार्फत जनचेतना

  • भदौ ६, २०८३
  • २४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका सरसफाइकर्मी तथा अभियानमा खटिएका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत गोठ टोलका विभिन्न स्थानमा सरसफाइ गर्नुका साथै स्थानीय बासिन्दालाई स्वच्छता, सरसफाइ तथा शौचालयको प्रयोगका विषयमा जनचेतना प्रदान गरिएको थियो।

IMG_20260821_170211_769.jpg

वडा नम्बर ९ का अध्यक्ष चौधरीका अनुसार गोठ टोलमा करिब १३० घरधुरी रहेका छन् र सबै घरमा शौचालयको पहुँच रहेको छ। उनले सरसफाइमा केही कमजोरी देखिए पनि यस्ता अभियानले स्थानीयवासीमा स्वच्छताप्रतिको चेतना अझ बढाउने विश्वास व्यक्त गरे। “आफ्नै गाउँ–टोललाई जति सक्दो सफा–सुग्घर राख्नु सचेत नागरिकको कर्तव्य हो,” वडा अध्यक्ष चौधरीले भने, “यस अभियानबाट स्थानीय बासिन्दाले सरसफाइको महत्वलाई अझ गम्भीर रूपमा मनन गर्ने विश्वास छ।”

IMG_20260821_170039_89.jpg

कार्यक्रम सरसफाइ अभियानबाट सुरु भई स्थानीयवासीमा व्यवहार परिवर्तन तथा स्वच्छतासम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले सडक नाटकसहित सम्पन्न गरिएको थियो। कार्यक्रममा सरसफाइ, शौचालयको प्रयोग, स्वस्थ जीवनशैली तथा स्वच्छ वातावरण निर्माणसम्बन्धी सन्देशहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको नेतृत्व सूर्य नारायण रामले गरेका थिए। कार्यक्रममा अमन रौनियार, सुन्दर साह, गीता चौधरी, आनन्द भस्मा र मनिष खत्रीलगायतको सहभागिता रहेको थियो।

IMG_20260821_165226_992.jpg

कार्यक्रमलाई प्रभावकारी बनाउन दलित जनकल्याण युवा क्लबले सडक नाटकमाध्यमबाट जनचेतनामूलक नाट्य प्रस्तुति गरेको थियो। क्लबका प्रोजेक्ट म्यानेजर तथा कार्यकारी निर्देशक विनोद विसुन्केसहितको टोलीले स्वच्छता, शौचालयको अनिवार्य प्रयोग र स्वस्थ समाज निर्माणको सन्देश दिने प्रस्तुति दिएको थियो। सो अवसरमा स्थानीयवासीको सहभागितामा विभिन्न जनचेतनामूलक नारासहित र्‍यालीसमेत निकालिएको थियो। र्‍यालीमा “गहना जेवर, रूप सिङार, चर्पी बिना जीवन बेकार” तथा “जेकरा घरमे चर्पी नै, ओकरा घरमे शादी नै” जस्ता नारामार्फत शौचालयको प्रयोग र स्वच्छताको महत्वबारे सन्देश प्रवाह गरिएको थियो।

IMG_20260812_115728

स्थानीय तह, सरसफाइकर्मी, कर्मचारी, युवा क्लब तथा समुदायको संयुक्त सहभागितामा सञ्चालन गरिएको अभियानले गोठ टोलमा स्वच्छता कायम राख्न र नागरिकमा सरसफाइसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१