ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा दलित बालबालिकाको शिक्षामा पहुँचको अवस्थाबारे विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO), को आयोजनामा तथा Save the Childrenको सहयोगमा २०८३ साल भदौ २ गते सखुवानन्कारकट्टी गाउँपालिका–३, महदेवा पोर्ताहास्थित श्री माध्यमिक विद्यालय महदेवा पोर्ताहामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष मोहन पासवानले गर्नुभएको थियो भने सखुवानन्कारकट्टी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा धनवीर मोची, शिवचन्द्र यादव, घुना पासमान, रविन्द्रकुमार यादव, जगदीश पासमान, जिबछप्रसाद यादव, मोहम्मद अताउल राइन, विद्यालयका प्रधानाध्यापक घुरन यादवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बरिशलाल मोचीले गर्नुभएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा विद्यालय तहमा दलित छात्रवृत्ति वितरणको अवस्था, छात्रवृत्ति कार्यान्वयनमा देखिएका समस्या, छात्रवृत्ति रकमको प्रभावकारी उपयोग, दलित तथा सीमान्तकृत बालबालिकाको विद्यालयमा पहुँच र शिक्षालाई निरन्तरता दिने क्रममा उनीहरूले भोगिरहेका चुनौतीका विषयमा छलफल गरिएको थियो। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले वि.सं. २०४८ सालदेखि नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। Save the Childrenको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा मन्त्रालयसँगको समन्वयमा सञ्चालन हुँदै आएको यस कार्यक्रमको मुख्य उद्देश्य दलित, गरिब तथा सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्नु रहेको संघले जनाएको छ।
संघका अनुसार नेपाल छात्रवृत्ति कार्यक्रम अक्षय कोषमार्फत सञ्चालन हुँदै आएको छ। कार्यक्रमअन्तर्गत विभिन्न समयमा स्थापना भएका अक्षय कोषबाट प्राप्त ब्याज रकमलाई छात्रवृत्ति वितरणमा प्रयोग गरिँदै आएको छ। विगत दुई दशकको अवधिमा कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन हुँदा ५ हजारभन्दा बढी दलित तथा सीमान्तकृत बालबालिकाले छात्रवृत्ति प्राप्त गरी उच्च शिक्षा हासिल गर्न सफल भएको संघको विवरणमा उल्लेख छ। हाल कार्यक्रम सामाजिक–आर्थिक तथा शैक्षिक सूचकमा पछाडि रहेका र दलित समुदायको जनसंख्या उल्लेख्य रहेका तराईका सिरहा, महोत्तरी र सर्लाही तथा पहाडी क्षेत्रका जाजरकोट र कालिकोट गरी पाँच जिल्लामा सञ्चालनमा रहेको बताइएको छ।
सिरहा र महोत्तरी जिल्लामा विशेषगरी दलित छात्राहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ। निरन्तर छात्रवृत्ति कार्यक्रमअन्तर्गत विभिन्न वर्षमा ठूलो संख्यामा दलित छात्राहरूलाई सहयोग प्रदान गरिएको संघले जनाएको छ। छात्रवृत्ति रकम विद्यार्थीहरूको बैंक खातामा जम्मा गरी विद्यार्थी तथा अभिभावकलाई त्यसबारे जानकारी गराउने व्यवस्था रहेको छ। कार्यक्रमअन्तर्गत लक्षित समूहअनुसार कक्षा ६ देखि ८ सम्मका छात्रालाई मासिक रु. ५००, कक्षा ९ र १० का छात्रालाई रु. ६०० छात्रवृत्ति प्रदान गरिँदै आएको छ। त्यस्तै अतिजोखिम समूहका छात्राहरूलाई कक्षा १ देखि ८ सम्म मासिक रु. ६००, कक्षा ९ र १० मा रु. ७००, कक्षा ११ र १२ मा रु. १,३००, स्नातक तथा प्राविधिक तहमा रु. २,१०० र स्नातकोत्तर तहमा रु. २,६०० मासिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको जानकारी दिइएको थियो।
छात्रवृत्ति त्रैमासिक रूपमा वर्षमा चार पटक वितरण गरिँदै आएको र सोहीअनुसार लक्षित विद्यार्थीको खातामा रकम जम्मा गरिने संघले जनाएको छ। यसले आर्थिक रूपमा कमजोर दलित छात्राहरूलाई विद्यालय तथा उच्च शिक्षा निरन्तरता दिन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो। अन्तरक्रियामा सहभागी अभिभावक तथा सरोकारवालाहरूले छात्रवृत्ति रकम समयमै उपलब्ध गराउनुपर्ने, वास्तविक लक्षित विद्यार्थी पहिचान गर्नुपर्ने, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्नुपर्ने तथा विद्यालय तहदेखि उच्च शिक्षासम्म दलित विद्यार्थीलाई निरन्तर सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले विगत लामो समयदेखि दलित तथा गरिब बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि नीतिगत पैरवी तथा जनवकालत गर्दै आएको जनाएको छ। संघले स्थानीय तहमा सरकारी विद्यालयमा दलित छात्रवृत्ति वितरणको अवस्था अनुगमन गर्ने, सूचना तथा प्रमाण संकलन गर्ने र सम्बन्धित शिक्षा शाखा, विद्यालय, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइमार्फत प्रभावकारी कार्यान्वयनका लागि पहल गर्दै आएको बताएको छ। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहका सरकारी विद्यालयमा दलित छात्रवृत्ति वितरण तथा कार्यान्वयनको वास्तविक अवस्था पहिचान गर्नुका साथै दलित बालबालिकाले शिक्षाका क्रममा भोगिरहेका समस्या र शिक्षामा उनीहरूको पहुँचको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।
अभियानअन्तर्गत जिल्ला तथा स्थानीय तहका शिक्षा शाखा, सरकारी विद्यालय, शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यालय, स्थानीय जनप्रतिनिधि, संघसंस्था, शिक्षक, अभिभावक तथा अन्य सरोकारवाला निकायलाई मुख्य लक्षित समूहका रूपमा राखिएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र लक्षित वर्गमैत्री बनाउन स्थानीय तह, विद्यालय, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा राखेका थिए। साथै दलित तथा सीमान्तकृत बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन छात्रवृत्तिसँगै शैक्षिक वातावरण, पहुँच र निरन्तरतामा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic