ओम प्रकाश यादव, लहान मंसिर ११। स्थानीय तहमा विकास निर्माणलाई प्रभावकारी बनाउन नगर प्रमुख जयप्रकाश चौधरी र वडा अध्यक्ष मो. कमालुद्दिनबीचको सहकार्यलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ। नगरपालिकाको स्रोत, नगरस्तरीय योजना तथा विभिन्न सरकारी कार्यालय र निकायबाट प्राप्त बजेटलाई वडाको आवश्यकता अनुसार परिचालन गर्ने प्रयास गरिएको अध्यक्षको भनाइ छ।
अध्यक्षका अनुसार राजनीतिक पृष्ठभूमि जस्तोसुकै भए पनि जनताको सेवामा समर्पित भएर काम गर्नु जनप्रतिनिधिको मुख्य जिम्मेवारी हो। निर्वाचित भएपछि वडाको विकासलाई प्राथमिकतामा राख्दै आफूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने प्रयास गरेको उनले बताए। वडा नं. ६ मा भएका योजनाहरूको विवरण हेर्दा भौतिक पूर्वाधारसँगै शिक्षा, कृषि, धार्मिक स्थलको संरक्षण र सामाजिक सचेतनाका क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गरिएको देखिन्छ।
आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ६ अन्तर्गत विभिन्न टोल तथा बस्तीलाई जोड्ने सडक निर्माण, आरसीसी ढलान र नाला निर्माणका योजनाहरू सञ्चालन गरिएको विवरण वडा अध्यक्षले उपलब्ध गराएका छन्। पोखरीदेखि पूर्व काशीलाल चौधरीको घर हुँदै दक्षिण धुत्र साहको घरसम्म आरसीसी सडक ढलानका लागि १० लाख रुपैयाँ, बारिकको घरदेखि मजलुमको घरसम्म आरसीसी ढलानका लागि ८ लाख रुपैयाँ र पुरनचन्दको घरदेखि दुर्गानन्द चौधरीको घरसम्म पक्की सडक ढलानका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको विवरणमा उल्लेख छ।
त्यस्तै, सफिकुलको घरदेखि पश्चिम नदीसम्म, छवेन्द्र भगतको घरदेखि ध्रुव साहको घरसम्म तथा प्रथमलाल चौधरीको घरदेखि मुक्ति चौधरीको घरसम्म आरसीसी सडक ढलानका लागि छुट्टाछुट्टै १०/१० लाख रुपैयाँका योजना समावेश छन्। चकवा क्षेत्रमा सडक स्तरोन्नति तथा नाला निर्माण, जानकीनगरको अधुरो सडक र शाखा सडक ढलान, चकवाको शाखा सडक, वीरपुरको नयाँ मस्जिद जाने सडक तथा वीरपुरको शाखा सडक निर्माणका लागि पनि बजेट छुट्याइएको विवरणमा छ। यसैगरी इन्द्र चौतारीदेखि श्रवण चौधरीको घरसम्म दुई लाइन आरसीसी सडक निर्माणका लागि १५ लाख रुपैयाँ, वीरपुरको पूर्वपट्टि दुई किलोमिटर कृषि सडक निर्माणका लागि ५० लाख रुपैयाँ तथा सलामतको घरदेखि सहामुद्दिनको घरसम्म आरसीसी ढलान र नाला निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। हकिमको घरदेखि वीरपुरको जामे मस्जिदसम्म नाला निर्माण, रासलालको घरदेखि पश्चिम नदीसम्म नाला निर्माण तथा शलहेश मन्दिर पछाडि बाउन्ड्री वाल निर्माणका योजनासमेत अघि बढाइएको विवरणमा उल्लेख छ।
वडा अध्यक्षले वडाको आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले भेपर लाइट जडान, समरसियल बोरिङ, धार्मिक स्थल संरक्षण तथा मदरसाको पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएको बताएका छन्। वडा नं. ६ भित्र भेपर लाइट जडानका लागि १० लाख रुपैयाँ तथा समरसियल बोरिङका लागि दुईवटा १०/१० लाख रुपैयाँका योजना समावेश गरिएको विवरण छ। चकवा टोलस्थित डिहबार मन्दिर संरक्षणका लागि ३ लाख रुपैयाँ र मदरसामा जस्ता छाना लगाउन २ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ। यसले वडाका विभिन्न समुदायको धार्मिक, सांस्कृतिक तथा आधारभूत पूर्वाधार आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको अध्यक्षको भनाइ छ।
वडा नं. ६ को विकासमा नगरस्तरीय योजनाबाट समेत महत्वपूर्ण बजेट परिचालन गरिएको अध्यक्ष राइनले बताएका छन्। नगरपालिकाको समन्वय र नगर प्रमुख जयप्रकाश चौधरीको सहकार्यमा सडक, शैक्षिक संस्था तथा सामुदायिक भवन निर्माणका योजनाहरू अघि बढाइएको विवरण उनले उपलब्ध गराएका छन्। नगरस्तरीय योजनाअन्तर्गत पुरनचन्द्रको घरदेखि सुरेश चौधरीको घरसम्म आरसीसी सडक ढलानका लागि २० लाख रुपैयाँ तथा जानकीनगर, कल्याणपुरदेखि चकवा टोलसम्म आरसीसी सडक ढलानका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, खडक बहुमुखी क्याम्पसको भवन निर्माणका लागि विभिन्न चरणमा ६० लाख, ४० लाख र ४० लाख रुपैयाँका योजना समावेश गरिएको छ। यीमध्ये एउटा योजना माननीय माला कुमारी कर्णको कोषबाट रहेको विवरणमा उल्लेख छ। शैक्षिक क्षेत्रको विकासलाई प्राथमिकता दिँदै पुस्तकालय भवन निर्माणका लागि ९० लाख रुपैयाँ तथा श्री भ.स.रा.ज. मा.वि. को भवन र बाउन्ड्री वाल निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ। यी दुवै योजना माननीय रुबी कुमारी कर्णको कोषबाट सञ्चालन गरिने विवरणमा उल्लेख छ। यसैगरी मदरसा सहमनिया भवन निर्माणका लागि १० लाख रुपैयाँ, जानकीनगरमा शलहेश मन्दिर निर्माणका लागि ८ लाख रुपैयाँ र राजमार्गदेखि मोहपितको खेतसम्म कृषि सडक निर्माणका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ।
स्थानीय शिक्षाको पहुँच विस्तार र सामुदायिक संस्थाको संस्थागत विकासका लागि खडक बहुमुखी क्याम्पस सञ्चालन तथा इन्टरलिंक इँटा उद्योग सञ्चालनलाई समेत महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। वडा नं. ६ को विकासका लागि वडा र नगरपालिकाको बजेट मात्र नभई विभिन्न सरकारी कार्यालय तथा संघसंस्थासँग समन्वय गरेर थप बजेट ल्याउने प्रयास गरिएको अध्यक्षले बताएका छन्। उनले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमअन्तर्गत सलकपुर, मोरङबाट सौरी चटान वन उपभोक्ता समितिका लागि ३५ लाख रुपैयाँको योजना परेको छ।
त्यस्तै, लकेश्वर नदी नियन्त्रणका लागि नदी नियन्त्रण तथा सिँचाइ कार्यालयबाट ६५ लाख रुपैयाँ र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीबाट थप ५० लाख रुपैयाँको योजना समावेश गरिएको छ। पर्यटन विकास कार्यालय, लहान सिरहाबाट मुस्लिम सामुदायिक इदगाह तथा कब्रिस्तान निर्माण र देवगनही मन्दिरको बाउन्ड्री वाल तथा सौन्दर्यीकरणका लागि ५० लाख रुपैयाँ छुट्याइएको विवरणमा उल्लेख छ। भौतिक पूर्वाधार कार्यालय सप्तरीबाट मुस्लिम सामुदायिक भवन निर्माणका लागि २० लाख रुपैयाँ तथा वीरपुरमा नाला निर्माणका लागि २० लाख रुपैयाँको योजना समावेश गरिएको छ।
यसैगरी सिंहदरबारस्थित पर्यटन मन्त्रालयबाट डिहबार थान निर्माणका लागि ८ लाख रुपैयाँ र माननीय माला कुमारी कर्णको पहलमा राजमार्गदेखि मिस्टरको घरसम्म आरसीसी सडक ढलानका लागि २० लाख रुपैयाँको योजना ल्याइएको अध्यक्ष राइनले बताएका छन्। यी योजनाले सडक तथा भौतिक पूर्वाधारसँगै नदी नियन्त्रण, धार्मिक पर्यटन, सामुदायिक भवन र कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्यायउने अपेक्षा गरिएको छ। वडा अध्यक्ष राइनका अनुसार विकास भनेको सडक, नाला र भवन निर्माणमा मात्र सीमित हुनुहुँदैन। समाजमा शिक्षा, समानता, सचेतना र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु पनि विकासकै महत्वपूर्ण पाटो हो। यसै सोचअनुसार वडा नं. ६ मा विभिन्न सामाजिक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन्।
बालविवाहमुक्त वडा घोषणा।साक्षर वडा घोषणा।बालश्रममुक्त वडा घोषणा।युवा मैत्री वडा घोषणा।बालमैत्री वडा घोषणा।महिला हिंसा न्यूनीकरणका लागि सडक नाटक।अपाङ्गता भएका व्यक्तिहरूका लागि सीपमूलक तालिम।सरसफाइ अभियान तथा डस्टबिन वितरण। यी कार्यक्रममार्फत बालबालिकाको अधिकार संरक्षण, महिला सशक्तीकरण, युवाको क्षमता विकास, अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भरता र समुदायमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको अध्यक्ष राइनको भनाइ छ।
खडक नगरपालिकाको वडा नं. ६ मा विकासका योजना अघि बढाउन नगर प्रमुख जयप्रकाश चौधरी र वडा अध्यक्ष मो. कमलुद्दीन राइनबीचको सहकार्य महत्वपूर्ण रहेको अध्यक्ष राइनको भनाइ छ। स्थानीय तहमा विकास निर्माणका काम सफल बनाउन जनप्रतिनिधिबीच आपसी समन्वय, बजेटको उचित व्यवस्थापन र नागरिकको आवश्यकताअनुसार योजना छनोट आवश्यक हुन्छ। यही मान्यताअनुसार नगरपालिकाको नेतृत्व र वडा कार्यालयबीच समन्वय गरेर वडाका विभिन्न क्षेत्रमा योजना ल्याउने प्रयास गरिएको उनले बताए। नगर प्रमुख चौधरीको नेतृत्वमा नगरपालिकाले वडास्तरका विकास योजनालाई प्राथमिकता दिएको र आफूले पनि वडावासीको माग तथा आवश्यकताअनुसार योजनाहरू अघि बढाउन पहल गर्दै आएको अध्यक्ष राइनको भनाइ छ।
उनका अनुसार कुनै एउटा टोल वा समुदायलाई मात्र केन्द्रमा नराखी वडाका सबै बस्तीमा विकासका अवसर पुर्यााउने उद्देश्यले काम गरिएको छ। सडक, नाला, कृषि, शिक्षा, खानेपानी, धार्मिक स्थल, सामुदायिक भवन र सामाजिक सचेतनाका कार्यक्रमलाई सँगसँगै अघि बढाइएको उनले बताए। वडा अध्यक्ष मो. कमलुद्दीन राइनले आफू निर्वाचित भएदेखि नै वडावासीको सुखदुःखमा साथ दिने र जनताको आवश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ काम गरिरहेको बताएका छन्।
उनले भने, जनप्रतिनिधि भएपछि जनताको सेवामा समर्पित हुनु आफ्नो पहिलो जिम्मेवारी हो। राजनीतिक पृष्ठभूमिभन्दा पनि जनताको विश्वास र उनीहरूको काम गरेर देखाउनु महत्वपूर्ण रहेको उनको भनाइ छ। वडामा अझै आवश्यकताअनुसार विकासका कामलाई निरन्तरता दिने, बाँकी रहेका समस्या पहिचान गर्ने र आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।
खडक नगरपालिका वडा नं. ६ मा उपलब्ध गराइएको योजनाको विवरणले पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रका लागि बजेट विनियोजन तथा स्रोत परिचालन गर्ने प्रयास भएको देखाउँछ। तर विकासको वास्तविक मूल्याङ्कन गर्दा बजेट विनियोजनसँगै योजनाको कार्यान्वयन अवस्था, निर्माणको गुणस्तर, पारदर्शिता र नागरिकले प्राप्त गरेको लाभलाई समेत आधार बनाउनुपर्ने हुन्छ। वडा अध्यक्ष राइनले प्रस्तुत गरेको विवरणअनुसार वडा, नगरस्तरीय तथा विभिन्न सरकारी निकायबाट सञ्चालन गरिएका योजनाहरूले वडाको भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। स्थानीय नागरिकको आवश्यकता पहिचान गरेर नगर प्रमुख जयप्रकाश चौधरी र वडा अध्यक्ष मो. कमलुद्दीन राइनबीचको समन्वयलाई निरन्तरता दिन सके आगामी दिनमा पनि विकासका थप काम अघि बढाउन सकिने अपेक्षा गरिएको छ।
समग्रमा खडक नगरपालिका वडा नं. ६ मा सडक, नाला, कृषि, शिक्षा, धार्मिक संरचना, नदी नियन्त्रण र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न योजना अघि सारिएको छ। अब ती योजनाको गुणस्तरीय कार्यान्वयन, प्रभावकारी अनुगमन र दीर्घकालीन संरक्षणमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास सुनिश्चित गर्नु महत्वपूर्ण हुनेछ।
प्रतिक्रिया दिनुहोस
कांग्रेस एकताको पक्षमा पद्मनारायण चौधरीको जोड, सिरहा सभापतिमा युवा नेता सन्तोष चौधरी सर्वसम्मत निर्वाचित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved