ताजा समाचार

इनरुवा अस्पतालमा सुत्केरी महिलालाई तीन घण्टा सिँढी र प्यासेजमा राखेर अन्यत्र पठाएको आरोप, एम्बुलेन्समै जन्मियो बच्चा

  • असोज २४, २०८३
  • ७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिलालाई करिब तीन घण्टासम्म अस्पतालको सिँढी र प्यासेजमा राखेर स्वास्थ्य परीक्षण तथा बेड भर्ना नगरी अन्यत्र पठाइएको आरोप सार्वजनिक भएको छ। अस्पतालबाट विराटनगर लैजाने क्रममा एम्बुलेन्सभित्रै बच्चा जन्मिएपछि नवजात शिशुको टाउको आमाको शरीरमै अड्किएको अवस्थामा फेला परेको परिवारले जनाएको छ। समयमै उचित उपचार नपाएको भए आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने अवस्था आएको परिवारको भनाइ छ।

सुनसरीको कोशी गाउँपालिका–३, जमुवाकी शर्मिला सदा मुसहरलाई सुत्केरी व्यथाले च्यापेपछि उनका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदा बुधबार राति प्रसूति गराउन जिल्ला अस्पताल इनरुवा पुगेका थिए। तर, अस्पताल पुगेपछि पनि शर्मिलाले तत्काल स्वास्थ्य परीक्षण र उपचार सेवा नपाएको परिवारले आरोप लगाएको छ।

देवकुमार सदाका अनुसार सुत्केरी व्यथाले छटपटाइरहेकी शर्मिलालाई अस्पतालको भुइँतलामा राखेर आफू माथिल्लो तलामा रहेको प्रसूति वार्डमा स्वास्थ्यकर्मीलाई जानकारी गराउन पुगेका थिए। उनले बिरामीको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य परीक्षण गरिदिन र बेड भर्ना गर्न आग्रह गरेका थिए।

परिवारका अनुसार त्यहाँ कार्यरत चिकित्सक तथा नर्सिङ कर्मचारीले पुरानो प्रयोगशाला तथा भिडियो एक्सरेको रिपोर्ट हेरेर सुत्केरी महिलाको अवस्था उच्च जोखिममा रहेको बताएका थिए। तर, तत्काल स्वास्थ्य परीक्षण गरेर उपचार सुरु गर्नुको सट्टा पाठेघरको मुख नखुलेको र तत्काल बच्चा जन्मिने अवस्था नरहेको जवाफ दिएको फगुनी सदाले बताइन्। उनका अनुसार एक जना स्टाफ नर्सले स्वास्थ्य परीक्षण नगरी नै बच्चा तत्काल जन्मिने अवस्था नरहेको बताउँदै केही भएमा अस्पताल जिम्मेवार नहुने र आफ्नै जिम्मामा अन्यत्र उपचार गराउनुपर्ने आशयको जवाफ दिएकी थिइन्।

परिवारले प्रसूति वार्डमा ड्युटीमा रहेकी चिकित्सक डा. सुजाता चौधरीले बिरामीको प्रत्यक्ष परीक्षण नगरी फोनमार्फत स्टाफ नर्सलाई धरान वा विराटनगर लैजान निर्देशन दिएको आरोप लगाएको छ। परिवारका अनुसार उक्त समयमा प्रसूति वार्डमा उपस्थित रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साह र डा. कृष्ण दासले समेत बिरामीको अवस्थाबारे जानकारी पाउँदा आवश्यक उपचारको व्यवस्था नगरेको उनीहरूको आरोप छ। त्यसपछि राति १२ बजेपछि अस्पतालकै सरकारी एम्बुलेन्समा शर्मिलालाई राखेर विराटनगरस्थित कोशी अस्पताल पठाइएको देवकुमार र फगुनीले बताएका छन्।

सुत्केरी व्यथाले अत्यधिक पीडा दिइरहेको अवस्थामा एम्बुलेन्समा यात्रा गरिरहेकी शर्मिलाले बाटोमै बच्चा जन्माएको फगुनीले बताइन्। उनका अनुसार विराटनगरस्थित कोशी अस्पतालको मुख्य गेटमा पुग्दा नवजात शिशुको टाउको आमाको शरीरमै अड्किएको अवस्थामा थियो। त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले आवश्यक सहयोग गरी बच्चाको टाउको बाहिर निकालेका थिए। परिवारका अनुसार बच्चा जन्मिएपछि कोशी अस्पतालमा पनि तत्काल भर्ना नगरिएको र नवजात शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने भन्दै अन्य अस्पताल लैजान सुझाव दिइएको थियो। देवकुमारका अनुसार कोशी अस्पतालका स्वास्थ्यकर्मीको सुझावपछि उनीहरूले नवजात शिशुलाई सुरक्षा अस्पताल लगेका थिए। तर, त्यहाँ दैनिक १७ हजार रुपैयाँ अग्रिम जम्मा गरेपछि मात्रै बच्चालाई आईसीयूमा राख्न सकिने जानकारी दिइएको उनले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण तत्काल उक्त रकम जुटाउन नसकेपछि बच्चाको उपचार गराउन नसक्ने अवस्था आएको फगुनीले बताइन्। त्यसपछि जेसुकै भए पनि कोशी अस्पतालमै फर्काएर उपचार गराउने निर्णय गरेको उनको भनाइ छ। कोशी अस्पतालमा फर्काएपछि नवजात शिशु रुन थालेको र चिकित्सकले आमाको दूध चुसाउन सुझाव दिएको देवकुमारले बताए। आमाको दूध खुवाएपछि बच्चाले दिसा–पिसाब गरेको र त्यसपछि स्वास्थ्यकर्मीले आईसीयूमा राख्न आवश्यक नपर्ने भन्दै सामान्य बेडमा राखेर स्वास्थ्य परीक्षण गरेको उनले जानकारी दिए।

बिहान करिब १० बजेतिर आमा र बच्चाको स्वास्थ्य अवस्था ठीक रहेको भन्दै कोशी अस्पतालले आवश्यक औषधि लेखेर घर जान डिस्चार्जको कागज तयार गरिदिएको परिवारले जनाएको छ। तर, अस्पतालबाट औषधि लेखिए पनि आर्थिक अभावका कारण अहिलेसम्म औषधि किनेर आमा र बच्चालाई खुवाउन नसकेको देवकुमारले दुखेसो पोखे। सुत्केरी आमा र नवजात शिशुको उपचार तथा औषधिका लागि समेत रकम अभाव भएको उनको भनाइ छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साहले आफू तीन दिनदेखि अस्पतालमा नरहेको र सुत्केरी महिलाको घटनाबारे जानकारी नभएको बताएका छन्।

डा. साहका अनुसार आफू तालिममा सहभागी हुन इटहरी आएको हुँदा घटनाबारे अस्पताल प्रशासनका प्रमुख उमेश गौतमसँग बुझेर जानकारी लिनुपर्ने हुन्छ। यद्यपि, अस्पतालका केही स्वास्थ्यकर्मीले भने शर्मिला सदा प्रसूति व्यथाले च्यापिएको अवस्थामा अस्पताल आउँदा मेडिकल सुपरिटेन्डेन्ट डा. साह स्वयं माथिल्लो तलामा रहेको प्रसूति वार्डमा उपस्थित रहेको र बिरामीका श्रीमान् तथा जेठानीसँग कुराकानी गरेको दाबी गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार घटनाबारे कार्यालयका कर्मचारीहरूको बैठकमा छलफल हुन सक्ने भए पनि तत्काल सार्वजनिक रूपमा थप प्रतिक्रिया दिन नसकिने अवस्था छ।

अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकबाट घटनाको विस्तृत आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ। परिवारले लगाएका आरोप र स्वास्थ्यकर्मीले दिएका विवरणबीच देखिएको भिन्नतालाई निष्पक्ष छानबिनमार्फत स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ। अस्पताल सुधार संघर्ष समितिका अभियन्ता दिलीपचन साहले प्रसूति पीडामा रहेकी महिलाको सामान्य स्वास्थ्य परीक्षण र बेड भर्नासमेत नगरी जोखिमपूर्ण अवस्थामा अन्यत्र पठाइएको आरोप गम्भीर भएको बताएका छन्। उनले यस्तो व्यवहार चरम लापरबाही र मानवीय संवेदनहीनताको उदाहरण हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। दोषी देखिने स्वास्थ्यकर्मीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। सुत्केरी अवस्थामा अस्पताल पुगेकी महिलाले समयमै परीक्षण, उपचार र आवश्यक प्रसूति सेवा पाउनु स्वास्थ्य संस्थाको आधारभूत जिम्मेवारी हो। विशेषगरी प्रसूति व्यथाले छटपटाइरहेकी महिलाको अवस्था मूल्याङ्कन नगरी अन्यत्र पठाइएको हो वा होइन भन्ने विषयमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।<>

घटनामा लापरबाही भएको हो वा बिरामीको अवस्थाका कारण उच्चस्तरीय उपचारका लागि रेफर गर्नुपर्ने अवस्था थियो भन्ने विषय सम्बन्धित स्वास्थ्य अभिलेख, ड्युटी विवरण, प्रसूति वार्डका कर्मचारीको बयान तथा एम्बुलेन्स सेवाको विवरणका आधारमा छानबिन गर्न आवश्यक छ। आर्थिक रूपमा विपन्न परिवारले उपचारका क्रममा भोग्नुपरेको कठिनाइले सरकारी स्वास्थ्य संस्थामा उपलब्ध प्रसूति सेवा, आकस्मिक उपचार र रेफरल व्यवस्थाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। शर्मिला सदा र उनको नवजात शिशु घर फर्किए पनि औषधिसमेत किन्न नसक्ने अवस्थाले परिवारको पीडा अझै समाप्त भएको छैन। घटनाको निष्पक्ष छानबिन, आमा र बच्चाको स्वास्थ्य अवस्थाको सुनिश्चितता तथा आवश्यक उपचारमा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤