ताजा समाचार

सामाजिक परीक्षणसँगै विद्यालयको आय–व्यय सार्वजनिक, बालबालिकालाई झोला वितरण

  • असोज २२, २०८३
  • ३०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक लेखापरीक्षण, सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयले अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थितिमा आफ्नो वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्दै विद्यालयका शैक्षिक गतिविधि, उपलब्धि, समस्या र आगामी योजनाबारे छलफल गरेको हो।

विद्यालयको पारदर्शिता, जवाफदेहिता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षा क्षेत्रका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम नवराजपुर गाउँपालिका–१ का वडा अध्यक्ष नविन कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद साहले आर्थिक वर्ष २०८२/०८३ को आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्दै विद्यालयको आर्थिक अवस्था र वर्षभर सञ्चालन भएका गतिविधिबारे जानकारी गराए। विद्यालयले प्रस्तुत गरेको विवरणअनुसार विभिन्न अनुदान, बैंक मौज्दात, छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा, बालविकास व्यवस्थापन, विद्यार्थी भर्ना अभियान, विज्ञापन, छुट तथा विभिन्न सामग्री बिक्रीलगायत शीर्षकबाट आम्दानी भएको जनाइएको छ। विद्यालयको प्रस्तुत विवरणमा कुल आम्दानी रु. ३७ लाख ५६ हजार १६७ रुपैयाँ १५ पैसा रहेको उल्लेख छ।

त्यस्तै शिक्षक तथा कर्मचारीको तलब–भत्ता, बालविकास शिक्षकको पारिश्रमिक, छात्रवृत्ति, पाठ्यपुस्तक खरिद, विद्यालय सुधार योजना, शैक्षिक सामग्री, मसलन्द, विद्युत तथा इन्टरनेट महसुल, मर्मत–सम्भार, रंगरोगन, दिवा खाजा, विद्यार्थी भर्ना अभियान, खानेपानी तथा फिल्टर, शिक्षण–सिकाइ र बालविकास कक्षा व्यवस्थापनलगायत शीर्षकमा खर्च भएको विवरण सार्वजनिक गरिएको थियो।

May be an image of one or more people and temple

विद्यालयले प्रस्तुत गरेको खर्च विवरणमा रु. ३७ लाख ४७ हजार ६१० रुपैयाँ ७७ पैसा खर्च भएको उल्लेख छ। कार्यक्रममा अभिभावक तथा सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, भौतिक पूर्वाधार, शिक्षक–अभिभावक समन्वय, आर्थिक पारदर्शिता तथा विद्यालयको आगामी योजनाबारे जिज्ञासा र सुझाव राखेका थिए। उनीहरूले नियमित रूपमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ गर्दा विद्यालयका गतिविधि बारे समुदायलाई जानकारी हुनुका साथै विद्यालय र अभिभावक बीच विश्वासको वातावरण बलियो हुने धारणा राखेका थिए।

May be an image of one or more people

कार्यक्रम समापनपछि विद्यार्थीको विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्पूर्ण छात्रछात्रालाई विद्यालयका तर्फबाट झोला वितरण गरिएको थियो। झोला वितरणले विद्यार्थीलाई विद्यालयप्रति थप आकर्षित गर्न तथा नियमित पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार केही समयअघिसम्म अपेक्षाकृत कमजोर अवस्थामा रहेको विद्यालयमा प्रधानाध्यापक महेन्द्र प्रसाद साहको नेतृत्वमा पछिल्लो समय उल्लेखनीय सुधार आएको छ। विद्यालयको भौतिक संरचना व्यवस्थित हुनुका साथै विद्यार्थीको चाप बढेको र नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको उनीहरूको भनाइ छ।

May be an image of one or more people and violin

स्थानीयवासी तथा अभिभावकले प्रधानाध्यापक साह विद्यालयमा आएपछि विद्यालयका गतिविधि नियमित र व्यवस्थित हुँदै गएको बताएका छन्। विद्यालयका हरेक गतिविधिमा समुदायको सहभागिता बढ्दै गएको तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र स्थानीय समुदायबीच सहकार्यको वातावरण बनेको उनीहरूको भनाइ छ।

May be an image of one or more people and text

प्रधानाध्यापक साहले विद्यालय कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई समुदाय र सरकारको साझा सम्पत्ति भएकाले यसको विकासमा सबै पक्षको समान जिम्मेवारी रहेको बताए। शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकारबीचको सहकार्यबाट मात्र विद्यालयलाई राम्रो बनाउन सकिने उनको भनाइ छ। “विद्यालय र विद्यार्थीलाई राम्रो बनाउन शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकारको उत्तिकै जिम्मेवारी हुन्छ,” प्रधानाध्यापक साहले भने, “मैले सबै पक्षलाई आफ्नो जिम्मेवारीबोध गराउने प्रयास गर्दै विद्यार्थीको गुणस्तर र सिकाइमा विशेष ध्यान दिँदै आएको छु। विद्यालय सुधारका लागि मेरो प्रयास आगामी दिनमा पनि निरन्तर रहनेछ।”

May be an image of one or more people and text

उनले समुदाय र सरकारको सहयोग तथा विद्यालय परिवारको निरन्तर प्रयासका कारण विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई थप प्राथमिकता दिने बताए। कार्यक्रममा सहभागी सरोकारवालाले विद्यालयको आय–व्यय सार्वजनिक गर्नु सकारात्मक अभ्यास भएको बताउँदै यस्ता कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी नियमित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले विद्यालयको शैक्षिक उपलब्धि, आर्थिक पारदर्शिता, विद्यार्थीको नियमितता र भौतिक पूर्वाधार सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

May be an image of one or more people

विद्यालयमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइसँगै विद्यार्थीलाई झोला वितरण गरिनुले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहाको स्वास्थ्य सम ...

रहमुल, लहान, २२ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤