रहमुल, लहान, २२ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, सेवा प्रवाह तथा गतिविधिहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी मिर्चैयामा सम्पन्न भएको छ। मिर्चैयास्थित होली डे होटलको सभाहलमा असोज १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा जिल्लाका १७ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, दुईवटै प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधि, निजी अस्पतालका प्रमुख तथा प्रतिनिधि, मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा विशिष्ट अधिकृत, स्वास्थ्य कार्यालय सिरहाका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख युगल किशोर यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीको प्रमुख आतिथ्य जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले गरेका थिए। कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य कार्यालय सिरहाका फोकल पर्सन प्रेम दासले गरेका थिए। दुईदिने समीक्षा गोष्ठीमा जिल्लामा वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको उपलब्धि, कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, स्वास्थ्य संस्थाले भोगिरहेका समस्या तथा चुनौती र आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे विस्तृत समीक्षा गरिएको थियो।

समीक्षाका क्रममा स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरेको, आवश्यक जनशक्तिको अभाव रहेको तथा उपलब्ध जनशक्तिको समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको विषय प्रमुख समस्याका रूपमा उठाइएको थियो। स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको आधारभूत अधिकार भए पनि स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य क्षेत्र अपेक्षाकृत कमजोर देखिएको सहभागीहरूको धारणा थियो। सडक, नाला, कुलो, पुललगायत भौतिक पूर्वाधारमा बजेट केन्द्रित भइरहँदा स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा पनि समान रूपमा योजनाबद्ध लगानी आवश्यक रहेकोमा जोड दिइयो।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच अझ गम्भीर, प्रभावकारी र परिणाममुखी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्थाको क्षमता विकास, औषधि तथा उपकरणको उपलब्धता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो। गोष्ठीमा प्रस्तुत तथ्यांक तथा स्थानीय तहको मूल्यांकनअनुसार स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा गोलबजार नगरपालिका पहिलो, अर्नमा गाउँपालिका दोस्रो र लहान नगरपालिका तेस्रो स्थानमा रहेको जानकारी दिइयो। मूल्यांकनमा केही स्थानीय तहको स्वास्थ्य क्षेत्रको अवस्था कमजोर देखिएको र सिरहा नगरपालिकाको स्वास्थ्य क्षेत्र तुलनात्मक रूपमा कमजोर रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।

स्थानीय तहको मूल्यांकनमा स्वास्थ्य क्षेत्रमा गरिएको लगानी, कार्यक्रम कार्यान्वयन, स्वास्थ्य संस्थाको सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप, पोषण, रोग नियन्त्रण, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन लगायत विभिन्न सूचकलाई आधार बनाइएको जनाइएको छ। जिल्लामा स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्दै आएका युनिसेफ, डब्लुएफपी, हेलन केलर इन्टरनेसनल, वान हार्ट, होप फाउन्डेसन, केयरलगायत साझेदार संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र प्रभावबारे समेत प्रस्तुति दिएका थिए।

साझेदार संस्थाहरूले मातृ तथा बाल स्वास्थ्य, पोषण, स्वास्थ्य सचेतना, क्षमता अभिवृद्धि तथा समुदायस्तरीय स्वास्थ्य कार्यक्रममार्फत स्थानीय स्वास्थ्य प्रणालीलाई सहयोग गर्दै आएका छन्। गोष्ठीमा उनीहरूको योगदान र सहकार्यको समीक्षा गर्दै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न संस्था तथा प्रतिनिधिलाई सम्मानसमेत गरिएको थियो। वार्षिक समीक्षा गोष्ठीपछि स्वास्थ्य कार्यालय सिरहा, स्थानीय तह तथा साझेदार संस्थाबीच स्वास्थ्य सेवा सुधारका लागि विभिन्न सामूहिक प्रतिबद्धता गरिएको छ।
प्रतिबद्धताअनुसार प्रत्येक स्थानीय तहले हरेक महिना खोप लिन छुटेका बालबालिकाको खोजी गरी अनिवार्य रूपमा खोप लगाउने अभियान सञ्चालन गर्ने, पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चित गर्ने र सबै वडालाई प्रथम वर्गीकरणमा ल्याउने लक्ष्य लिइएको छ। त्यस्तै, प्रोटोकलअनुसार गर्भवती महिलालाई आठ पटक गर्भजाँच गराउने, २४ सै घण्टा दक्ष प्रसूति सेवा सुनिश्चित गर्ने र कम्तीमा ८० प्रतिशत लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको छ। घरमै हुने प्रसूति शून्यमा झार्ने तथा चार पटक प्रसूति जाँच गराउने आमाको प्रतिशत जिल्लास्तरमा ८० प्रतिशत पुर्याउने गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
सबै स्थानीय तहले बर्थिङ सेन्टर तथा पालिका अस्पतालमा न्यूनतम सेवा मापदण्ड (MSS) लागू गरी कार्ययोजना कार्यान्वयन गर्ने र सम्पूर्ण बर्थिङ सेन्टर तथा प्रादेशिक अस्पताललाई हरियो वर्गीकरणमा ल्याउने लक्ष्यसमेत राखिएको छ। निजी तथा गैरसरकारी अस्पतालमा समेत नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड लागू गर्न सुरुवात गर्ने प्रतिबद्धता गरिएको छ।
समीक्षा गोष्ठीले स्वास्थ्य संस्थाबाट हुने प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ। सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाले महिना समाप्त भएको ३ देखि ७ गतेभित्र आफ्नो प्रतिवेदन DHIS-2 मा प्रविष्ट गर्ने र स्थानीय तहले सञ्चालन गर्ने मासिक समीक्षा बैठकमा तोकिएको चेकलिस्ट प्रयोग गर्ने प्रतिबद्धता गरेका छन्।
त्यस्ता समीक्षा बैठकमा पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सामुदायिक स्वास्थ्य संस्था र सम्बन्धित साझेदार संस्थालाई अनिवार्य रूपमा सहभागी गराउने निर्णय गरिएको छ। स्वास्थ्य कार्यालयले प्रत्येक महिनाको ७ देखि १० गतेभित्र सबै स्वास्थ्य संस्थाको प्रतिवेदन DHIS-2 मा प्रविष्ट भए/नभएको सुनिश्चित गरी आवश्यक प्रतिक्रिया (Feedback) दिने तथा जिल्ला स्तरीय मासिक समीक्षा बैठकमा स्थानीय तह, २५ बेडभन्दा माथिका अस्पताल, निजी तथा सामुदायिक स्वास्थ्य संस्था र एकभन्दा बढी पालिकामा काम गर्ने साझेदार संस्थालाई सहभागी गराउने प्रतिबद्धता गरिएको छ।
सबै स्थानीय तहले पाँचवटै परिवार नियोजनका साधन उपलब्ध हुने स्वास्थ्य संस्थाको संख्या क्रमशः बढाउँदै लैजाने र आवश्यक क्षमता अभिवृद्धि तालिमका लागि स्वास्थ्य कार्यालयले प्रदेश स्वास्थ्य तालिम केन्द्रमा अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै, शून्यदेखि २३ महिनासम्मका बालबालिकाको वृद्धि अनुगमनको औसत तथा नियमितता सुधार गर्न पीएचसी–ओआरसी, आमा समूहको बैठक, खोप सेसन, आईएमएनसीआई कार्यक्रम, राष्ट्रिय भिटामिन ए अभियान तथा अन्य पोषणसम्बन्धी अभियानमा वृद्धि अनुगमन र कुपोषण व्यवस्थापनका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
निजी अस्पतालहरूले मृत्युको कारण पहिचान गर्न ‘Cause of Death’ समिति गठन गर्ने र पहिचान भएका कारणका आधारमा मृत्यु न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने निर्णय गरिएको छ। सबै स्थानीय तहले मातृ मृत्युको समीक्षा गरी त्यसका आधारमा कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। क्यान्सरलगायत नसर्ने रोग (NCD) को रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्नुका साथै डेंगु, जापानिज इन्सेफलाइटिसलगायत भेक्टरजन्य रोगको रोकथामका लागि एकीकृत भेक्टर व्यवस्थापन (Integrated Vector Management) सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। गोष्ठीमा सीमित स्रोतसाधनका बाबजुद गाउँ–गाउँमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसा गरिएको थियो।
स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्था नागरिकको स्वास्थ्य सेवामा पहिलो सम्पर्क बिन्दु भएकाले स्वास्थ्यकर्मीको निरन्तर मेहनत, सेवाभाव र स्थानीय तह तथा साझेदार संस्थाबीचको समन्वयले जिल्लाको स्वास्थ्य प्रणालीलाई चलायमान बनाएको सहभागीहरूले बताएका थिए। समीक्षा गोष्ठीले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा केवल अंक, तथ्यांक र मूल्यांकनमा सीमित नरही आगामी वर्षको सुधारको आधार बन्नुपर्ने निष्कर्ष निकालेको छ। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन आगामी वर्ष स्पष्ट योजना र परिणाममुखी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
दुईदिने समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएकोमा स्वास्थ्य कार्यालय सिरहाका फोकल पर्सन प्रेम दासले सहभागी विशिष्ट अतिथि, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, अस्पतालका प्रमुख तथा प्रतिनिधि, साझेदार संस्था, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरे। दासले स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्थानीय तहको प्राथमिकता, पर्याप्त बजेट, दक्ष जनशक्तिको व्यवस्थापन र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए। स्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र साझेदार संस्थाबीच निरन्तर सहकार्य र प्रतिबद्धता कार्यान्वयन हुन सके सिरहाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved