Siraha Times
ताजा समाचार

लहान–५ की अपांग नावालिकमाथि जबरजस्ती करणीको आरोप

  • असोज १३, २०८२
  • १३४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ । लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीयस्तरमा तरङ्ग मच्चाएको छ। पीडित नावालिकले लहान–५ कै खानेपानी संस्थान नजिकै घर रहेका मो. ईशा नामका व्यक्तिले करिब एक हप्ता अघि आफूमाथि बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार ईशाले जबरजस्ती समातेर घरमा लगि कृत्य गरेको हो।

घटना सार्वजनिक भएपछि मानवअधिकारकर्मी विजय महतोले यसलाई गम्भीर घटनाका रूपमा व्याख्या गर्दै प्रशासन र अस्पतालको भूमिका प्रश्नवाचक रहेको बताएका छन्। उनका अनुसार स्थानीयले खबर गरेपछि पीडितलाई तत्काल स्वास्थ्य परीक्षणका लागि प्रदेशिक अस्पताल लहानमा ल्याइएको थियो। तर, परीक्षण भएको तीन दिन बितिसक्दा समेत अस्पताल प्रशासनले मेडिकल रिपोर्ट सार्वजनिक नगरेको भन्दै महतोले आपत्ति जनाए। उनले प्रहरी प्रशासनलाई घटना सम्बन्धी सबै मौखिक जानकारी हुँदाहुँदै पनि मौन बसेको, राजनीतिकरण तथा उच्चस्तरीय दबाबका कारण आरोपी अझै खुलेआम हिँडिरहेको आरोप छ।

यता, प्रहरी स्रोतले भने हालसम्म पीडित पक्षबाट कुनै निवेदन वा जाहेरी दर्ता नभएको बताएका छन्। पीडित नावालिकको आमा नभएको र बाबुले दोस्रो विवाह गरेपछि उनी अलपत्र अवस्थामा माग्दै–खाँदै आइरहेको र मानसिक सन्तुलन ठीक नभएको जानकारी पनि स्थानीयले दिएका छन्। सोही कारण परिवारजनबाट कानुनी प्रक्रियामा सहयोग नपाएकी पीडितलाई अहिले महिला तथा मानवअधिकारकर्मीहरूको रोहवरमा सेफ हाउसमा राख्ने तयारी भइरहेको बुझिएको छ।

घटना उजागर भएसँगै प्रहरी प्रशासनको उदासिनता, अस्पताल प्रशासनको ढिलासुस्ती र राजनीतिक दबाबकै कारण न्याय ढिलो हुने अवस्था देखिएको भन्दै अधिकारकर्मीहरूले छानबिनलाई निष्पक्ष बनाउन जोड दिएका छन्। उनीहरूका अनुसार यस्तो संवेदनशील मुद्दामा ढिलाइ हुनु पीडितको अधिकारमाथिको उल्लङ्घन हो।

यसैबीच, करणी आरोपित मो. ईशाले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। लहान–५ को गुदरी हटिया (नयाँ बजार) मा कस्मेटिक पसल सञ्चालन गर्दै आएका उनले यो आरोप आफूमाथि षड्यन्त्रपूर्वक लगाइएको बताएका छन्। उनले केही व्यक्तिहरूले पैसा दिएर नावालिकलाई जबर्जस्ती झूटो आरोप लगाउन लगाएको दाबी गरेका छन्। ईशाले आफूसँग यसको प्रमाणस्वरूप भिडियो रहेको समेत बताउँदै आफूलाई फसाउनेहरूविरुद्ध छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

नावालिकको बयान, मानवअधिकारकर्मीहरूको चासो र आरोपीको प्रतिवादबीच घटनाले अब कानुनी बाटो कस्तो लिन्छ भन्ने प्रतीक्षामा स्थानीयवासी छन्। तर प्रहरी र अस्पताल प्रशासनको वर्तमान भूमिका प्रति असन्तुष्टि बढ्दै गएको छ। घटनाले फेरि एकपटक अपांग र कमजोर वर्गका बालबालिकामाथि हुने हिंसाको संवेदनशील प्रश्नलाई सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१