ताजा समाचार

१८ किलोमिटरको लहान–ठाडी सडक : आधा शताब्दी बित्दा पनि स्तरोन्नतिको प्रतीक्षा

  • असोज १९, २०८३
  • ६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समयदेखि सञ्चालनमा रहे पनि अहिलेसम्म अपेक्षित रूपमा पूर्ण स्तरोन्नति हुन नसक्दा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

सिरहा क्षेत्र नं. १ का नागरिकका लागि महत्वपूर्ण मानिने यो सडकलाई यस क्षेत्रको ‘लाइफलाइन’ सडकका रूपमा लिइन्छ। लहानदेखि सीमावर्ती ठाडी क्षेत्रसम्मको आवागमन, व्यापार–व्यवसाय तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको सडकको अवस्था पछिल्लो समय झन् जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ। सडकको विभिन्न स्थानमा ठूला–ठूला खाल्डाखुल्डी देखिन थालेका छन्। सडक साँघुरो हुनुका साथै दैनिक सवारीसाधनको चाप बढ्दै जाँदा आवागमन थप जोखिमपूर्ण बनेको स्थानीय बताउँछन्।

सडकको कमजोर अवस्थाका कारण सवारीसाधनमा क्षति पुग्ने, यात्रा समय बढ्ने तथा दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ। स्थानीयका अनुसार सडकको अवस्था सुधार गर्न पटक–पटक आवाज उठ्दै आएको छ। निर्वाचनका समयमा समेत लहान–ठाडी सडकको स्तरोन्नति प्रमुख चुनावी मुद्दाका रूपमा उठ्ने गरेको भए पनि निर्वाचनपछि समस्या यथावत् रहने गरेको नागरिकको गुनासो छ।

‘जहाँ सडकको नामोनिसान थिएन, त्यहाँ सुविधा सम्पन्न र चिल्ला सडक निर्माण भइसकेका छन् तर वर्षौंदेखि प्रयोगमा रहेको लहान–ठाडी सडक भने दिनप्रतिदिन जीर्ण हुँदै गएको छ,’ स्थानीयको गुनासो छ। नागरिकले सडक निर्माण तथा स्तरोन्नतिको जिम्मेवारी कसको हो भन्ने प्रश्नसमेत उठाएका छन्। सडकको दुरावस्थाका कारण सर्वसाधारणले दैनिक जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने उनीहरूको माग छ।

स्थानीय नागरिकको प्रश्न छ—‘अझै कति वर्षसम्म यही सडकको धुलो, खाल्डाखुल्डी र जोखिम सहेर यात्रा गर्नुपर्ने हो?’ सडकको अवस्था सुधारका लागि टालटुले मर्मतभन्दा दीर्घकालीन योजना बनाएर पूर्ण स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ। सडक विस्तार, कालोपत्रे, नाली तथा आवश्यक संरचना निर्माणसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडकलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने उनीहरूको भनाइ छ।

वर्षौंदेखि विकासको आश्वासन सुन्दै आएका नागरिकमा अब भने आफ्नै पहलमा सडक स्तरोन्नतिका लागि दबाब सिर्जना गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ। कतिपय स्थानीयले व्यंग्यात्मक रूपमा ‘अब त घरघरबाट चन्दा उठाएरै सडक बनाउनुपर्ने हो कि?’ भन्ने प्रश्न गर्न थालेका छन्। तर सडकजस्तो सार्वजनिक पूर्वाधार निर्माणको मूल जिम्मेवारी राज्यका सम्बन्धित निकायको भएकाले नागरिकबाट उठ्ने यस्तो आवाजलाई दबाब र जनचासोका रूपमा लिनुपर्ने स्थानीयको भनाइ छ।

लहान–ठाडी सडक केवल एउटा सडकखण्ड मात्र नभई यस क्षेत्रको आर्थिक, सामाजिक र दैनिक जनजीवनसँग जोडिएको महत्वपूर्ण मार्ग भएकाले यसको दीर्घकालीन समाधान आवश्यक देखिन्छ। अब प्रश्न एउटै छ—१८ किलोमिटरको यो सडकको स्तरोन्नतिका लागि नागरिकले अझै कति वर्ष प्रतीक्षा गर्नुपर्ने हो? यस सडकको वर्तमान अवस्था, समस्या र समाधानबारे यस क्षेत्रका नागरिकको धारणा के छ? आफ्नो विचार कमेन्टमार्फत लेख्नुहोस्।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤