Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमाईमा अज्ञात समूहद्वारा ९० वर्षीय वृद्धको निर्मम हत्या, स्थानीय त्रसित सुरक्षा निकायप्रति आक्रोश

  • साउन १४, २०८२
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन १४ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा न. ११ स्थित आमचोकमा गएराति एक हृदयविदारक घटना घटेको छ। अन्दाजी ९० वर्षीय वृद्धको आफ्नै घरभित्रै सुतेको अवस्थामा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको हो।

मृतक वृद्ध लहान नगरपालिका वडा न. २४ मलहनमा निवासी तथा लहान–२४ का भूतपूर्व वडाध्यक्ष कमलदेव यादवका पिता हुन्। घटनाबारे स्थानीयहरूले दिएको जानकारी अनुसार वृद्ध सामान्य रूपमा घरभित्र सुतेका थिए। रातको अँध्यारोलाई मौका बनाई अज्ञात समूहले घरमा पसी टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ।

घटनाले समग्र आमचौक क्षेत्र र आसपासका बासिन्दालाई भयभीत बनाएको छ। स्थानीयहरूका अनुसार घटनास्थल नजिकै करिब ५०० मिटर पश्चिममा इलाका प्रहरी कार्यालय भए पनि सुरक्षाकर्मीहरूको चरम निष्क्रियताका कारण अपराध बढिरहेको जनाइएको छ। आज बिहान आक्रोशित स्थानीय बासिन्दाहरूले आमचौक क्षेत्र वरपर चक्काजाम गर्दै प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। स्थानीय एक व्यक्तिले भने, "हामी सधैं त्रासमा बस्न बाध्य छौं। प्रहरी चौकी नजिकै हुँदा पनि यस्तो निर्मम हत्या हुनु लाजमर्दो हो। दोषी पक्राउ नगरे कडा आन्दोलन गर्छौं।"

यस आपराधिक घटनाले धनगढीमाई नगरपालिका भित्रको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा निकायहरूको ढिलासुस्ती र कमजोर सुरक्षाले गर्दा अब सामाजिक अशान्ति बढ्न सक्ने चेतावनीसमेत स्थानीयले दिएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको जनाएको छ भने दोषी पहिचान गरी यथाशीघ्र कारबाही गरिने प्रतिबद्धता जनाएको छ। यद्यपि, स्थानीय जनताको विश्वास पुनःस्थापित गर्न प्रशासन र सुरक्षा निकायको संयमित, प्रभावकारी र तिव्र पहल अपरिहार्य देखिन्छ।

हत्या किन, कसले, के कारणले गर्यो भन्ने विषयमा अनुसन्धान जारी छ। यस घटनाले धनगढीमाई नगरपालिका मात्र होइन, समग्र सिराहा जिल्लामा अराजकताको संकेत दिएको भन्दै सर्वसाधारणले गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

शैक्षिक गन्तव्यको नय ...

विनोद अविरल, बैशाख २९ । सिरहा जिल्लाको शैक्षिक इतिहासमा धनगढीमाई–१० मा अवस्थित इन्द्रेणी पाठशा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१