माधोपुर र हरिनगरामा चरम गर्मीमा विद्युत अभाव : स्थानीय आक्रोशित, दीर्घकालीन समाधानको माग

  • जेठ ३०, २०८२
  • ३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल्ला दिनहरूमा चरम गर्मीको मौसममा समेत निरन्तर विद्युत अभावका कारण अत्यन्तै कठिन जीवन बिताउन बाध्य भएका छन्। विद्युत आपूर्ति समयमै नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सर्वसाधारणलाई गम्भीर समस्या परेको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयको अनुसार, आज विहान ५ बजेदेखि बेलुका ४ बजेसम्म ११ घण्टासम्म विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। यो अबधिमा कुनै सूचना वा स्पष्टीकरण नआएको भन्दै स्थानीय आक्रोशित भएका छन्। “बत्तीबिना तातो मौसममा सास फेर्नै गाह्रो छ, साना बच्चा र बिरामीको हालत नाजुक बन्दै गएको छ,” एक स्थानीय वृद्धले दुखेसो गरे।

विद्युत अवरुद्ध भएपछि स्थानीयहरूले लहान विद्युत प्राधिकरणको ‘फ्यूज सेवा’मा फोन सम्पर्क गर्दा कुनै सन्तोषजनक उत्तर नपाएको गुनासो गरेका छन्। “समस्या के हो भनेर बुझ्न फोन गर्दा यता बिग्रिएको छ, उता बिग्रिएको छ भनी टार्ने मात्र काम भयो। उल्टै फोन गर्ने जनतालाई थर्काउने, धम्क्याउने व्यवहार देखाइयो,” एक स्थानीय युवाले बताए। विद्युत प्राधिकरणको यस गैरजिम्मेवार शैलीप्रति व्यापक असन्तुष्टि जनाइएको छ।

माधोपुर र हरिनगरा क्षेत्रको विद्युत लाइन ठाडी फिडरसँग जोडिएको छ । यसले गर्दा नियमितरूपमा बत्ती झ्याप्प–झ्याप्प जाने, कहिले घण्टौंसम्म नआउने समस्या सामन्यजस्तै बनेको छ। अहिलेको लगातार अवरोधले जनजीवन थप कष्टकर बनाएको छ । स्थानीयहरू गम्भीर आशंका व्यक्त गर्दै भन्छन्, “कतै कुनै दुष्ट आत्माको नजर परेर नै त यो क्षेत्र उपेक्षित भएको होइन?” यस्तो रहस्यमय अभिव्यक्तिले जनतामा बढ्दो निराशा र आक्रोश झल्काउँछ।

करीब ९ वर्षअघि स्थानीय स्वस्फूर्त प्रयासद्वारा माधोपुर र हरिनगराको लाइन छुट्याइएको थियो। त्यसपछि केही हदसम्म समस्या समाधान भए पनि पछिल्लो समय पुनः ठाडी फिडरसँग जोडिएपछि समस्या झन जटिल बन्दै गएको छ। दीर्घकालीन समाधानस्वरूप पुनः लाइन छुट्याउने कार्य अत्यावश्यक रहेको स्थानीयको माग छ। यस समस्याले विद्युत प्राधिकरणको भूमिकामाथि प्रश्न उठाएको छ। उपभोक्ताको गुनासो सुन्ने संयन्त्र कमजोर देखिएको छ भने, जिम्मेवार कर्मचारीहरूको उत्तरदायित्वहीन व्यवहारले समस्या झन् गहिरो बनाइरहेको छ।

स्थानीय बासिन्दाले विद्युत प्राधिकरणका उच्च अधिकारीहरू तथा जनप्रतिनिधिहरूसँग तत्काल हस्तक्षेपको माग गरेका छन्। माधोपुर र हरिनगराको लाइन छुट्याएर व्यवस्थित विद्युत आपूर्ति गरिनु पर्ने माग तीव्र बन्दै गएको छ। जनदबाब बढ्दै गएमा सडक संघर्षसमेत गर्नुपर्ने बाध्यता आउन सक्ने स्थानीयले चेतावनी दिएका छन्। यस समस्यालाई उपेक्षा नगरिकन सम्बन्धित निकायहरूले गम्भीरता साथ लिएर दिगो समाधानको पहल गर्नु समयको माग भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१