सिरहाको मझौरामा एकल महिलाको पीडा: घरबाट निकाली सम्पत्ति हडपिएको आरोप

  • जेठ २९, २०८२
  • २५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ २९। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका २ मझौराकी ५३ वर्षीया एकल महिला जगतारैन मुखिया आजकल चरम पीडामा छन् । श्रीमानको तीन वर्षअघि निधन भइसकेपछि एक्लै जीवन बिताइरहेकी मुखिया हाल बसोबास गर्ने घर समेत गुमेपछि न्यायका लागि गुहार माग्दै मिडियामा आएकी हुन्। उनले स्थानीय सैनी मलाहविरुद्ध घर कब्जा, ठगी, यौन प्रस्ताव र मानसिक यातनाको गम्भीर आरोप लगाएकी छिन्।

मुखियाका अनुसार वि.सं. २०७० मा उनले सैनी मलाहलाई मासिक २५ सय रुपैयाँमा आफ्नो घरको एक भाग किरानापसल चलाउन भाडामा दिएकी थिइन्। केही वर्षसम्म सबै सामान्य रूपमा चलेको बताउने मुखियाले २०७५ सालतिर पसलको ‘सर्तनामा’ बनाउने बहानामा मलाहले आफ्नो लालपुर्जा लिएका थिए। उनले भनिन्, “सर्तनामा बनाउँछु भनेर लालपुर्जा लिएर लहान मालपोत कार्यालयसम्म लगे। तर, मलाई झुक्याएर नबुझी कागजातमा दस्तखत गराए। पछि थाहा भयो कि ९ लाख रुपैयाँको बिक्री सम्झौता तयार गरिसकेका रहेछन्।”

घरमालिक भएर पनि अहिले सडकमा रात बिताउन बाध्य भएको बताउने मुखियाले आफ्नो हालत देखेर आँखा भरि आँसु पार्दै भनिन्, “घर माग्न जाँदा उल्टै मलाहले मुद्दा हाल्यो। अब कसरी लड्नू? म त बेसहारा नारी।” उनका अनुसार मलाहले पछि २७ लाख रुपैयाँको नक्कली सम्झौता पत्र बनाएर घर आफ्नो नाममा सार्ने प्रयास गरे र त्यही आधारमा जबर्जस्ती कब्जा गरे।

मुखियाले आफूमाथि यौन प्रस्ताव पनि गरिएको गम्भीर आरोप लगाएकी छन्। उनले भनिन्, “मैले घर फिर्ता गर भन्नासाथ मलाहले यौन सम्बन्धको प्रस्ताव राखे। जब मैले त्यसको प्रतिवाद गरेँ, उनले मलाई घरबाट निकालेर लत्ताकपडा, अन्नपात, फ्रीज लगायत सबै सरसामान लुटे।”

“गेहुँ, धान, चामल, तेल, लुगाफाटा सबै लिए। अहिले न खाने ठाउँ छ, न सुत्ने। राति एक्लै बस्न पनि डर लाग्छ,” मुखियाले भनिन्। घर गुमेपछि उनी अहिले छिमेकीको घरमा शरण लिइरहेकी छन्। मानसिक तनावले ग्रस्त भएकी उनी न्यायको खोजीमा गाउँपालिका, जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने तयारीमा छिन्।

उनले स्थानीय सुरक्षा निकाय तथा सरकारी निकायप्रति पनि गुनासो पोखेकी छन्। “यत्रो अन्याय हुँदा पनि कोही पनि केही बोलेन मलाई सहयोग गर्नु त परको कुरा उनी भन्छिन्। आफू एक्ली महिला, बेसहारा, वृद्ध अवस्थामा पुगेकी र कुनै पनि कानुनी लडाइँ लड्ने क्षमता नभएको बताउँदै मुखियाले मिडिया, मानवअधिकारकर्मी र स्थानीय जनप्रतिनिधिसँग न्यायका लागि सहयोग माग गरेकी छन्।

उनको कथाले स्थानीय निकायको उदासिनता, कमजोर कानुनी पहुँच र समाजमा महिलामाथिको दोहोरो शोषणको कटु यथार्थ उजागर गरेको छ। एकातिर उनी भौतिक सम्पत्तिबाट वञ्चित भएकी छन् भने अर्कातिर चरित्र हत्या र यौन प्रस्ताव जस्ता अमानवीय व्यवहार सँग जुध्न बाध्य छिन्। सिरहा जिल्लाको न्याय प्रणाली, स्थानीय तह र कानुनी निकायहरूप्रति यो घटना गम्भीर प्रश्न बनेर उभिएको छ। न्यायको खोजीमा मिडियाको शरण लिएकी मुखियाको यो आवाज सुन्ने र सहारा दिने समय अब ढिलो भइसकेको छ। अब राज्य र समाजले नै हस्तक्षेप गरी पीडितलाई न्याय दिलाउनु अत्यावश्यक छ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

माधोपुर र हरिनगरामा ...

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल् ...

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१