Siraha Times
ताजा समाचार

सिरहा सेवा समाज कतारद्वारा लक्ष्मीपुर पतारीकी वृद्ध आमालाई राहत वितरण

  • जेठ ३, २०८२
  • ८७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सिरहा सेवा समाज कतारले एक विपन्न वृद्ध आमालाई राहत सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रम जिसस (जिल्ला समन्वय समिति) सभापति दिनेश महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समाजको सहयोगमा अत्यन्तै दयनीय अवस्थामा जीवन बिताइरहेकी शान्ता गिरीलाई करिब रु १०,००० बराबरको खाद्यान्न सामग्रीसहित रु १,००० बराबरको औषधोपचार खर्च प्रदान गरिएको छ। शान्ता गिरी हाल अर्काको घरको डिलमा अस्थायी रुपमा बस्दै आएकी छिन्। कार्यक्रम रेडियो सरगमको पहल र सहजीकरणमा सम्पन्न भएको हो। रेडियो सरगमका कार्यक्रम सञ्चालक तथा सामाजिक अभियन्ता रहमुल रहमानको सक्रियतामा वृद्ध आमाको अवस्था सार्वजनिक भएपछि समाज कतारले सहयोगको हात फैलाएको हो।

कार्यक्रममा सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादव, कार्यक्रम संयोजक सियाराम यादव, स्थानीय समाजसेवीहरू, सञ्चारकर्मी तथा गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति थियो। अध्यक्ष जय प्रकाश यादवले संस्थाले विगतदेखि नै अति विपन्न, दलित, अपाङ्ग, अशक्त, बिपद् पीडितहरूलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्तो मानवीय सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। संयोजक सियाराम यादवले समाज कतारका सम्पूर्ण सदस्यहरू र सहयोगदातालाई धन्यवाद दिँदै स्वदेशमा रहेका असहायहरूप्रति आफ्नो दायित्व बोध गर्दै सहयोग जारी राख्ने बताए।

शान्ता गिरीले आँखाभरि आँसु पार्दै भनिन्, “कहिल्यै सोचेकी थिइनँ, यस्तो दिन आउला। श्रीमान बिते, धर्मपुत्र पनि गुमाएँ। अहिले घर छैन, पेट भर्न माग्नुपरेको छ। औषधि किन्न पैसा छैन। आज कतारबाट सहयोग आयो, यसले केही दिन बाँच्न सकिन्छ।” उनी ज्यानको सुरक्षादेखि दैनिक जीवन यापनसम्ममा समस्यामा परेकी छन्। उनले राज्य, स्थानीय सरकार, समाजसेवी र आम नागरिकहरूसँग सहयोगको अपिल गरेकी छन्। कार्यक्रमका प्रमुख अतिथि तथा जिसस सभापति दिनेश महतोले सिरहा सेवा समाज कतारको यो मानवीय कार्य अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले भने, “दुःखमा परेका नागरिकलाई सहयोग गर्नु हाम्रा लागि दायित्व हो। यस्तो कार्यले समाजमा सहानुभूति, सहयोग र सद्भावको भावना बढाउँछ।”

उनले यस्ता कार्यमा स्थानीय सरकारसँग मिलेर अघि बढ्न समाजसेवीहरूलाई आग्रह गरे। सिरहा सेवा समाज कतारको पहल, रेडियो सरगमको सक्रियता र स्थानीय सहभागिताले असहाय वृद्धाको जीवनमा केही उज्यालो दिने काम गरेको छ। यस्ता कार्यक्रमहरू समाजमा सकारात्मक सोच र सहयोगको भावना विकास गर्न प्रेरणादायी हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१