Siraha Times
ताजा समाचार

लहानमा विद्यार्थीहरूको सक्रियतामा राजदेवी पंचावति मन्दिर परिसर सफाई 

  • जेठ ३, २०८२
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल राजदेवी पंचावति मन्दिर परिसरमा लोटस इङ्लिस बोर्डिङ स्कुल लहान–८ का विद्यार्थीहरूको सक्रियतामा एक दिने सरसफाई अभियान सञ्चालन गरिएको छ। मन्दिर परिसर भित्र र बाहिर सफा गर्दै मन्दिर क्षेत्रलाई पूर्ण रूपमा फोहोरमुक्त बनाउने उद्देश्यले आयोजित सो अभियानमा कक्षा ५ का सेक्सन क, ख, र ग का १०३ जना विद्यार्थीहरू तथा ४ जना शिक्षक–शिक्षिकाहरूको टोली सहभागी थियो।

उनीहरूले फूलपाती, प्लास्टिकका बोतल, खाद्य परिकारका खोल, कपडाका टुक्रा जस्ता फोहरजन्य वस्तुहरू संकलन गरी व्यवस्थापन गरेका थिए। विद्यालयका शिक्षिका इन्द्र नारायण सिंह महतोका अनुसार यो कार्यक्रम विद्यार्थीकै सहभागिता र पाठ्यक्रममा आधारित धार्मिक तथा पर्यटकीय स्थलप्रतिको उत्तरदायित्व बोध गराउने उद्देश्यले आयोजना गरिएको हो। उनले भने, "धार्मिक स्थलको सफाइ मात्र नभई विद्यार्थीकै सिर्जनात्मक सोच, सामाजिक चेतना र वातावरणीय जिम्मेवारी विकास गर्ने खालको अभ्यास हो यो अभियान।"

राजदेवी पंचावति मन्दिर, जहाँ विशेषगरी वैशाख पूर्णिमा (बुद्ध जयन्ती) को अवसरमा छिमेकी जिल्लाहरू र भारतको बिहार क्षेत्रबाट लाखौं श्रद्धालुहरू दर्शन गर्न आउने गर्छन्, सन्तान प्राप्तिका लागि भाकल गर्ने, बोका, परेवा बलि दिने, फूलपाती चढाउने परम्पराको धार्मिक केन्द्रका रूपमा चिनिन्छ। यस्ता भीडभाड हुने पर्वहरूमा मन्दिर क्षेत्रमा फोहरजन्य समस्याहरू देखिने गरेकाले सफाइ अभियानको आवश्यकता झनै महत्त्वपूर्ण रहेको स्थानीयहरू बताउँछन्।

स्थानीय समुदाय, विद्यालय, र विद्यार्थीबीचको सहकार्यमा सञ्चालित यो सरसफाइ कार्यक्रमले धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा शिक्षा संस्थाको भूमिकाको उदाहरण प्रस्तुत गरेको छ। सरसफाइ पश्चात मन्दिर क्षेत्र झनै आकर्षक, स्वच्छ र भक्तजनमैत्री देखिएको छ। यस किसिमका अभियानले भविष्यमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने र अन्य विद्यालय तथा संस्थाहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१