संजु कुमारी दास, लाहान माघ २५ । नेपालमा विवाहको न्यूनतम उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउने विषयमा संसदमा बहस सुरु भएको छ । सांसदहरूको भनाइमा वर्तमान कानुनी प्रावधान व्यवहारिक छैन । विवाहसम्बन्धी मुद्दाहरू, बालविवाहको नकारात्मक प्रभाव, र समाजमा यसले ल्याउने दीर्घकालीन असरलाई आधार मान्दै यस विषयमा विभाजित दृष्टिकोणहरू प्रस्तुत भएका छन् । सांसदहरुले स्थलगत अध्ययनहरुको आधारमा विवाहको उमेर घटाउनु पर्ने भनिरहेको बेला, भूँईतहमा विशेष गरेर सिरहा जिल्लामा भने समस्या बेग्लै देखिन्छ । यस लेखमा बालविवाहको कारण र्भूँईतहमा देखिएका समस्या र यसको प्रभावको चर्चा गरिएको छ ।
नेपालमा हाल विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाहलाई रोक्नका लागि कानुनी व्यवस्थाहरू भए पनि व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । संसदमा विवाहको उमेर १८ वर्षमा झार्नुपर्ने तर्क गरिँदै आएको छ । यस प्रस्तावका समर्थकहरूले नागरिकता, मतदान, र विवाहको उमेरलाई समान बनाउनुपर्ने आवश्यकतालाई जोड दिएका छन्। तर आलोचकहरू यस उमेरमा मानसिक, शारीरिक, र आर्थिक परिपक्वता नआउने तर्क गर्दै यो प्रस्तावको विरोध गरिरहेका छन्।
तथ्यांकले के भन्छ ?
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा पहिलो पटक विवाह गर्ने उमेरका आधारमा महिलाको विवाह गर्ने औसत उमेर पुरुषको तुलनामा निकै कम रहेको देखिन्छ । १० देखि १४ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या ९,१०,९३९ (१०.२०%) रहेको छ भने यस उमेरमा विवाह गर्ने पुरुषको संख्या मात्र २,१४,२६६ (३%) रहेको छ । १५ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या १७,०३,३७६ (३०.४%) रहेको छ, जसमा पुरुषको संख्या ८,७२,४०१ (१२.३%) रहेको छ । यसैगरी, १८ देखि २० वर्ष उमेर नपुग्दै विवाह गर्ने महिलाको संख्या सबैभन्दा बढी ३१,९३,५२० ( ३५.९%) छ भने पुरुषको संख्या २३,१८,००६ (३२.६%) रहेको छ ।
मधेश प्रदेशअन्तर्गत सिरहा जिल्लाको तथ्यांक हेर्दा, बाल विवाहको समस्या अझै पनि गम्भीर देखिन्छ । १० देखि १४ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या २,६४१ (१४.४%) रहेको छ भने यस उमेरमा विवाह गर्ने पुरुषको संख्या ६१४ (५.१%) मात्र छ । १५ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या ७,१६३ (३९%) छ, जुन पुरुषको संख्या २,०२० (१६.८%) को तुलनामा झन्डै दोब्बर छ । त्यस्तै, १८ देखि २० वर्ष नपुग्दै विवाह गर्ने महिलाको संख्या ७,०८२ (४२.८%) रहेको छ भने यस उमेरमा विवाह गर्ने पुरुषको संख्या ५,१३८ (३८.६%) रहेको छ ।
राष्ट्रसंघीय जनसंख्या कोषका तथ्यांकअनुसार, ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४३% महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्, जबकि शहरी क्षेत्रमा यो संख्या २७% मा सीमित छ । यसले ग्रामीण क्षेत्रका महिलाहरूमा बाल विवाहको समस्या बढी रहेको देखाउँछ । अध्ययनले देखाएको छ कि अशिक्षित र कम आय भएका परिवारका बालबालिकाहरू विवाहको उच्च जोखिममा हुन्छन्। प्रवेशिका वा सोभन्दा माथि पढेका महिलाहरूको औसत विवाह गर्ने उमेर २२ वर्ष रहेको छ, तर विद्यालय नपढेका महिलाहरूको औसत विवाह गर्ने उमेर १७ वर्ष मात्र रहेको पाइएको छ । यसले बाल विवाहलाई रोक्न शिक्षा र आर्थिक स्थितिको महत्वलाई प्रस्ट्याउँछ ।
“विवाहको लागि २० वर्षको उमेर सिमा राख्नुलाई यौन चाहनासंग मात्र हेर्नु उपयुक्त छैन । यो बालबालिकालाई उनीहरुको वृत्तिविकासको लागि दिईएको समयको रुपमा अथ्र्याउनु पर्छ ।” महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सिरहा स्थित मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा भन्नु हुन्छ – “राज्यले विवाहलाई मात्र यौन क्रियाकलापको लागि उपयुक्त हुने उमेरको रुपमा मात्र हे¥दै छ, जुन हेराई नै गलत हो ।
महराका कुरालाई सिरहाका केहि घटनाहरुले पनि पुष्टि गर्छ । जुन यहाँ प्रस्तुत गरिएको छ । यी घटनाहरु वस्तविक घटनाहरु हुन्तर यहाँ उनीहरुको गोपनीयताको लागि नाम परिवर्तन गरिएको छ ।
कम उमेरको विहेः जिवनको सत्यानाश
लाहान–१० की शबनम खातुन (परिवर्तित नाम)को विवाह १९ वर्षको उमेरमा परम्परागत रूपमा भयो। शबनमको विहे हुँदा उनी परिपक्व थिईनन्। सायद त्यसैले होला, विवाहपश्चात्उनलाई मानसिक र शारीरिक यातनाको सामना गर्नुप¥यो । विवाह भएको पहिले महिनामै कुटपिट भोग्नु प¥यो । विवाहको तीन महिनापछि नै उनी गर्भवती भईन्। परिवारले गर्भमै लिङ्ग परिक्षण गरायो । जब गर्भमै छोरीको लिंग पहिचान भयो, श्रीमानले गर्भपतनको दबाब दिए । शबनमले इन्कार गरेपछि उनलाई माइत पठाइयो। छोरी जन्मिएपछि श्रीमानले जिम्मेवारी लिन अस्वीकार गरे।
गर्भावस्थादेखि बच्चाको जन्म र स्वास्थ्य उपचारसम्म, शबनमले आर्थिक संघर्ष गर्नुप¥यो। “मेरो विहे अलि पछि भएको भए, म अझै बढी परिपक्व हुन्थेँ र जीवनमा यस्तो समस्या आउने थिएन ।” शबनमले भने “विहे हुनु भन्दा अघि आफ्नै खुट्टामा उभ्न सक्ने हुनुपर्छ नत्र सधैं दुखको हन्डर खानुपर्छ ।”
शबनम जस्तै सिरहा–१० की सोनी कुमारी (परिवर्तित नाम) को विवाह १५ वर्षकै उमेरमा भयो। सानै उमेरमा आमा बनेकी उनले गम्भीर स्वास्थ्य समस्याहरू सामना गरिन् । पाठेघरमा समस्या देखिए पनि आर्थिक अवस्थाले उपचार सम्भव भएन । उनको स्वास्थ्य, शिक्षा, र व्यक्तिगत जीवन बालविवाहका कारण क्षतिग्रस्त भयो। डाक्टरले जाँच गर्दा उनले पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उनका श्रीमान्राजमिस्त्रीको काम गर्छन्, तर आर्थिक अवस्था कमजोर भएकाले परिवारले जसो तसो गरेर मात्र गुजारा चलाइरहेका छन्। उपचार खर्च जुटाउन नसकेका कारण उनी संकटपूर्ण जीवन बिताउन बाध्य छिन्।
“मेरो लागि सानो उमेरको विहे काल भयो । यदि विवाह अलि ठुलो भएपछि भएको भए सायद म स्वस्थ्य हुन्थें” पँक्तिकारसंग पछिल्लो पटक भेंट हुँदा उनले सुनाईन्“बाँच्छु की मर्छु थाहा छैन, कसैले उपचारमा सहयोग पनि गर्दैन् ।”
त्यस्तै गोलबजार–६ की सविना सदा (परिवर्तित नाम) को विवाह १२ वर्षको उमेरमै भयो, र १५ वर्षको उमेरमा उनी आमा बनिन् । अन्य कुनै शीप नभएपछि, श्रीमानसँगै लेबरको काममा जाँदै आएकी उनले भारी सामान बोकेको र पौष्टिक आहार नपाएकाले बिस्तारै स्वास्थ्य समस्या झेल्न थालिन्। सेतो पानी बग्ने, कमर दुख्ने, र भारी सामान बोक्दा पाठेघर झरेको महसुस हुने समस्याले गर्दा उनले काम गर्न छोड्नु प¥यो । यस्ता समस्याका बाबजुद पनि उपचार गराउन आर्थिक अभावले गर्दा उनी सहेर बस्न बाध्य थिइन्। पछि, सिरहाकै एउटा गैरसरकारी संस्थाकोपहलमा उनलाई निःशुल्क जाँच र उपचार गराइएकोले अहिले उनको स्वास्थ्यमा सुधार भएको बताउँछिन्।
सविनाले आफ्ना बच्चाहरूलाई राम्रो शिक्षा दिन चाहे पनि कमजोर आर्थिक अवस्थाका कारण पूरा गर्न सकेकी छैनन्। “कम उमेरमा विहे भयो, यसले आफ्नो जिन्दगी त काल भयो भयो बालबच्चालाई पनि राम्ररी हेर्न सक्दिन” उनले भनिन्।
बालविवाहविरुद्धका संघर्ष र सफलता
यस्ता कथाहरु प्रस्तुत गर्दा सबै बालविवाहको समस्या कस्तो छ भन्ने प्रष्ट हुन्छ । अब अलिकति भएका राम्रा प्रयासहरुको चर्चा गरौं । सिरहा जिल्लाको गोलबजार–३ की प्रमिला देवीले बालविवाहबाट पीडित भएर पनि आफ्नो छोरीलाई यो चक्रबाट बचाउन सकिन्। प्रमिलाको विवाह १४ वर्षकै उमेरमा भएको थियो। उनी सानै उमेरमा आमा बनिन् यसले उनको शिक्षा र स्वतन्त्रतालाई पूर्ण रूपमा रोकिदियो।
तर, जब उनकी छोरी रीकु १३ वर्षकी भइन्, समाजले विवाहको दबाब दिन थाल्यो। प्रमिलाले यो दबाबलाई अस्वीकार गरिन्। उनलाई यस्ता दवाव अस्विकार गर्ने हिम्मत एउटा गैरसरकारी संस्थाम आबद्ध भएपछि भयो । एउटा संस्थाले किशोरीहरुलाई सशक्तिीकरण गर्ने कार्यक्रम गर्दा रीकु किशोरी समूहमा आबद्ध भईन र त्यहाँ उनले बालविवाहका हानिकारक प्रभावबारे जानकारी प्राप्त गरिन्। उनले आफ्ना आमालाई पनि यसबारे जानकारी गराईन । आमाको मनमा पहिले देखिनै गुम्सिएर बसेको भावना प्रस्फुटन भयो र उनले छोरीलाई बाचा गरिन्“तिम्रो विहे उमेर पुगेपछि मात्र गर्छु ।”
अन्ततः रीकुको विहे२० वर्षको उमेरपछि मात्र भयो। यसअघि उनले पढाइ पूरा गरी जागिर सुरु गरिन्। अहिले उनी आत्मनिर्भर छन् र समाजका लागि प्रेरणाको स्रोत बनेकी छिन् । प्रमिलाको यो संघर्षले बालविवाहको चक्र तोड्ने उदाहरण प्रस्तुत गरेको छ ।
बबिताको कथा
सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाकी बबिता (परिवर्तित नाम) आफ्नो परिवारले जबरजस्ती बालविवाह गर्न खोजेको अवस्थाबाट उम्किन सफल भइन् । जब उनका आमाबाबुले उनको विवाहको तयारी गरिरहेका थिए, उनले माला बनाउन घास लिएर आउँछु भनेर बहाना बनाइन्र घरबाट भागेर प्रहरी कार्यालय पुगिन्। त्यहाँ उनले आफ्ना अभिभावकले जबरजस्ती विवाह गराउन खोजेको भन्दै आफ्नो जीवन र स्वतन्त्रता जोगाउन प्रहरीसँग गुहारिन्।
प्रहरीले उनलाई अभिभावकको जिम्मा लगाउन खोज्दा, बबिताले आफ्नो इच्छाविपरीत घर फर्कन अस्वीकार गरिन् । त्यसपछि उनलाई गोलबजारमा सञ्चालित एउटा सेफ हाउसमा पठाइयो, जहाँ उनी बस्न थालिन्र आफ्नो भविष्यका लागि नयाँ सपना बुन्न थालिन्। त्यहिँउनले आफ्ना लक्ष्यअनुसार विभिन्न सीप सिक्न थालेकी छन्। उनी अब आर्थिक रूपमा सक्षम बनेर मात्र विवाह गर्ने अठोट लिएकी छन्।
बालविवाह रोक्न शिक्षा र कानुनी कार्यान्वयनको आवश्यकता
नेपालमा बालविवाह रोक्न कानुनी व्यवस्था छ, तर यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ । विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव बहसको विषय बनेको छ । तर, बालविवाहका कारण किशोरीहरूको स्वास्थ्य, शिक्षा, र व्यक्तिगत जीवनमा गहिरो असर पर्ने भएकाले यो विषयमा गहिरो सोच आवश्यक छ । “केहि किशोर–किशोरी भाग्यो भन्दैमा कानुननै परिवर्तन गर्नु आवश्यक छैन । बरु किशोर–किशोरी शिक्षा तथा कानुनी सचेतनाको कार्यक्रम अगाडी बढाऔं । भाग्नेहरुलाई सम्बोधन गर्न छुट्टै व्यवस्था गर्न सकिन्छ । तर केहि व्यक्तिको कारण सबैलाई अचानोमा हाल्नु हुँदैन ।” महिला अधिकारकर्मी श्याम साह भन्नुहुन्छ “बालविवाह रोक्नका लागि कानुनी व्यवस्था मात्र पर्याप्त छैन । यसका लागि शिक्षा, सामाजिक चेतना, र आर्थिक सशक्तिकरणको आवश्यकता छ । विशेषगरी ग्रामीण क्षेत्रका अशिक्षित र गरिब परिवारका बालबालिकाहरू बालविवाहको उच्च जोखिममा पर्ने भएकाले उनीहरूलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic