Siraha Times
ताजा समाचार

“घर–घरको सान, स्वच्छता हाम्रो अभियान” : लहानमा वास अभियान सुरु

  • जेठ २, २०८३
  • २६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान” भन्ने नारासहित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास/WASH) अभियान औपचारिक रूपमा सुरु गरिएको छ। लहान नगरपालिका र दलित जनकल्याण युवा क्लब को सहकार्यमा ‘द विकन’ परियोजना अन्तर्गत अभियान सञ्चालनमा ल्याइएको हो।

अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख महेश चौधरी ले नगरलाई २०७४ सालमै खुला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि अझै हजारौं नागरिक आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको बताए। उनका अनुसार नगरपालिकामा रहेका कुल २० हजार ५ सय ७७ घरधुरीमध्ये ४ हजार २ सय १ घरधुरी अझै शौचालयको पहुँचभन्दा बाहिर रहेका छन्।

नगरप्रमुख चौधरीका अनुसार शौचालयविहीन घरधुरीमध्ये सबैभन्दा बढी २ हजार ७ सय ८७ दलित समुदायका परिवार रहेका छन्। त्यस्तै २ सय ९५ मुस्लिम समुदायका तथा ३ सय ७२ जनजाति समुदायका घरधुरीमा समेत शौचालयको सुविधा उपलब्ध छैन। उनले यस अवस्थालाई नगरको प्रमुख चुनौतीका रूपमा लिँदै आर्थिक रूपमा अति विपन्न परिवारलाई नगरपालिका र परियोजनाको संयुक्त सहकार्यमा निःशुल्क शौचालय निर्माण गरिने जानकारी दिए।

उनले सरसफाइलाई केवल पूर्वाधारसँग मात्र सम्बन्धित विषय नभई जनस्वास्थ्य, मानव सम्मान तथा सामाजिक चेतनासँग प्रत्यक्ष जोडिएको अभियानका रूपमा व्याख्या गरे। “खुला दिशामुक्त घोषणा गरेर मात्र दायित्व पूरा हुँदैन, प्रत्येक घरमा सुरक्षित र प्रयोगयोग्य शौचालयको सुनिश्चितता हुनुपर्छ,” नगरप्रमुख चौधरीले भने, “यस अभियानलाई सफल बनाउन सम्पूर्ण नगरवासीको सक्रिय सहयोग आवश्यक छ।”

पत्रकार सम्मेलनमा अभियानको उद्देश्य, कार्ययोजना तथा सन् २०३० सम्म लहानलाई पूर्ण रूपमा दिगो खुला दिशामुक्त तथा स्वच्छ नगर बनाउने लक्ष्यबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख चौधरीले सरसफाइलाई दीर्घकालीन सामाजिक अभियानका रूपमा अघि बढाइने स्पष्ट पारे।

अभियान अन्तर्गत समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, शौचालय निर्माणमा सहजीकरण गरिने, स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने तथा व्यवहार परिवर्तनसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिने जनाइएको छ।

स्थानीय सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने यस अभियानले नगरको सरसफाइ अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

भालुवाहीको सदाय बस्त ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा न. ११ भालुवाही मा सरकारले ल्याएको ...

भक्ति र विकासको सङ्ग ...

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१