सिरहाटाइम्स लहान माघ १५ । मातृ तथा नवजात शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सिरहा जिल्ला समन्वय समिति (जिसस) कार्यालयमा मंगलबार विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको संयोजन परियोजना सल्लाहकार समिति सिरहाका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख दिनेश कुमार महतोले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिप लामा, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख, र गैरसरकारी संस्था महासंघ (गैसस) सिरहाका अध्यक्षको गोविन्द बिस्ट,शुभक लाल यादव सहित पत्रकारको पनि सहभागिता रहेको थियो।
कार्यक्रम होप फाउन्डेशन नेपाल र वान हार्ट वर्ल्डवाइडको आयोजना तथा स्थानीय सरकारको सहकार्यमा गरिएको हो । यस अन्तर्क्रिया कार्यक्रममा मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी चुनौतीहरू, समाधानका उपायहरू र नीतिगत आवश्यकताहरूको विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य जिल्ला स्तरीय निकायहरू, स्वास्थ्यकर्मीहरू, र समुदायबीच समन्वयको अभिवृद्धि गर्दै मातृ तथा नवजात शिशु मृत्यु दरलाई न्यूनतममा झार्नु रहेको बताइएको छ ।
कार्यक्रममा सहभागीहरूले मातृ तथा नवजात शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि प्रभावकारी रणनीति अपनाउनुपर्ने, स्वास्थ्य सेवा पहुँचयोग्य बनाउनुपर्ने, र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य कार्यालय सिरहाका प्रमुखले मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि हालसम्म गरिएका प्रयासहरूबारे जानकारी गराउँदै आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो । साथै, स्थानीय तहका प्रतिनिधिहरूले समुदायस्तरीय स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता बढाउनको लागि थप स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गैसस महासंघ सिरहाका अध्यक्षगोविन्द बिस्टले गैरसरकारी संस्थाहरूको भूमिकाबारे चर्चा गर्दै सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा साझेदारी आवश्यक रहेको बताए। कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच विस्तृत सुझावहरू आदानप्रदान गरियो। सिरहा जिल्लामा मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि यस्तो प्रकारका अन्तरक्रिया कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic