ताजा समाचार

सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय

  • असोज २१, २०८३
  • १०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, सेवा प्रवाह र गतिविधिहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी मिर्चैयामा सम्पन्न भएको छ। मिर्चैयास्थित होली डे होटलको सभाहलमा असोज १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको समीक्षा गोष्ठीमा जिल्लाका १७ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, दुईवटै प्रादेशिक अस्पतालका प्रमुख, निजी अस्पतालका प्रमुख तथा प्रतिनिधि, मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा विशिष्ट अधिकृत, स्वास्थ्य कार्यालय सिरहाका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख युगल किशोर यादवको अध्यक्षतामा सुरु भएFile Edit Insert View Format Table Toolsको गोष्ठीको प्रमुख आतिथ्य जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले गरेका थिए। कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य कार्यालय सिरहाका फोकल पर्सन प्रेम दासले गरेका थिए। दुई दिनसम्म चलेको समीक्षा गोष्ठीमा वर्षभरि जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, देखिएका समस्या तथा चुनौती र आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।

गोष्ठीमा प्रस्तुत तथ्यांक तथा स्थानीय तहको मूल्यांकनअनुसार गोलबजार नगरपालिका प्रथम, अर्नमा गाउँपालिका दोस्रो र लहान नगरपालिका तेस्रो स्थानमा रहेको जनाइएको छ। मूल्यांकनमा केही स्थानीय तहको स्वास्थ्य क्षेत्रको अवस्था कमजोर देखिएको र सिरहा नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको तथ्यांकले देखाएको समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो। समीक्षाका क्रममा स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, कार्यक्रम कार्यान्वयन, स्वास्थ्य संस्थाको सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप, पोषण, रोग नियन्त्रण, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, स्वास्थ्यकर्मीको परिचालनलगायत विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागी स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरूले सीमित स्रोतसाधनका बाबजुद नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विषयलाई समेत सराहना गरिएको थियो। गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरू नै नागरिकको स्वास्थ्य सेवामा पहिलो सम्पर्क बिन्दु भएकाले उनीहरूको निरन्तर मेहनत, समन्वय र सेवाभावले जिल्लाको स्वास्थ्य प्रणालीलाई चलायमान बनाएको सहभागीहरूले बताएका थिए।

त्यस्तै, जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विभिन्न साझेदार संस्थाहरूको भूमिकालाई पनि समीक्षा गोष्ठीमा महत्वपूर्ण रूपमा हेरिएको थियो। युनिसेफ, डब्लुएफपी, हेलन केलर इन्टरनेसनल, वान हार्ट, होप फाउन्डेसन, केयरलगायत साझेदार संस्थाहरूले स्वास्थ्य, पोषण, मातृ तथा बाल स्वास्थ्य, समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतना, क्षमता अभिवृद्धि तथा अन्य कार्यक्रममार्फत स्थानीय स्वास्थ्य प्रणालीलाई सहयोग पुर्‍याउँदै आएका छन्। साझेदार संस्थाहरूले आफ्ना वर्षभरिका कार्यक्रम, उपलब्धि र प्रभावबारे समीक्षा गोष्ठीमा प्रस्तुति दिएका थिए। कार्यक्रममा साझेदार संस्थाहरूको प्रस्तुति प्रभावकारी रहेको सहभागीहरूले बताएका थिए भने स्वास्थ्य क्षेत्रमा सहकार्य तथा योगदान पुर्‍याउने विभिन्न संस्थालाई सम्मानसमेत गरिएको थियो।

समीक्षाका क्रममा स्वास्थ्य क्षेत्रमा स्थानीय तहको बजेट तथा लगानी अझ बढाउनुपर्ने विषयसमेत उठेको थियो। स्थानीय तहहरूले भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले बजेट विनियोजन गर्नुपर्ने सहभागीहरूको धारणा थियो। विगत केही वर्षदेखि स्थानीय सरकारहरूले सडक, नाला, कुलो, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आए पनि नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषय गोष्ठीमा उठाइएको थियो।

स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य शाखाहरूले आफ्नो आवश्यकता, समस्या र उपलब्ध स्रोतसाधनका आधारमा स्पष्ट योजना निर्माण गरी कार्यान्वयन गर्न सके स्वास्थ्य सेवाको गुणस्तर र नागरिकको पहुँचमा थप सुधार ल्याउन सकिने निष्कर्ष समीक्षा गोष्ठीबाट निकालिएको छ। कार्यक्रममा वर्षभरि काम गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा समस्याको पहिचान मात्र नभई तिनको समाधानका लागि अपनाउन सकिने उपायबारे समेत छलफल गरिएको थियो। आगामी दिनमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ रणनीति र कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको थियो।

यसैबीच, दुईदिने समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएकोमा स्वास्थ्य कार्यालय सिरहाका फोकल पर्सन प्रेम दासले कार्यक्रममा सहभागी सम्पूर्ण विशिष्ट अतिथि, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, अस्पतालका प्रमुख तथा प्रतिनिधि, साझेदार संस्था, स्वास्थ्यकर्मी, कर्मचारी र सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्। दासले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा केवल अंक र मूल्यांकनमा सीमित नरही आगामी वर्षका लागि सुधारको आधार बन्नुपर्ने बताएका छन्।

उनले जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा साझेदार संस्थाबीचको निरन्तर सहकार्य र समन्वयबाट मात्रै नागरिकले अपेक्षा गरेको स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सकिनेमा जोड दिएका छन्। स्वास्थ्यकर्मीहरूको निरन्तर सेवा, साझेदार संस्थाहरूको प्राविधिक तथा कार्यक्रमगत सहयोग र स्थानीय तहको नेतृत्वबीच प्रभावकारी समन्वय कायम गर्न सके सिरहाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सकिने निष्कर्षसहित गोष्ठी सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤