जनकपुरधाम पुस १९ । मधेश प्रदेश सरकारले तेस्रो अधिवेशन अन्त्य भएको तीन महिना २० दिनपछि प्रदेश सभाको चौथो अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २३ गते १ बजे प्रदेश सभाको बैठक बोलाउने निर्णय गरेको हो ।
अधिवेशन बोलाउनेबारे प्रदेश प्रमुख कार्यालय मार्फत मधेश प्रदेश सभालाई पत्राचार गर्ने कार्य अगाडि बढेको छ । सत्ता साझेदार दलहरूबीच ६ दिनअघि नै प्रदेश सभाको अधिवेशन बोलाउने सहमति भए पनि प्रमुख सचिव लोकनाथ पौड्याल बिदामा रहनुभएका कारण मन्त्रिपरिषद्को बैठक बोलाउन ढिलो भएको थियो ।
असार १ गते ल्याएको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा विकास निर्माणका काम खुला प्रतिस्पर्धाबाट गराउने उल्लेख रहेको विषयलाई संशोधन गरी विकास निर्माणलाई गति दिन उपभोक्ता समिति मार्फत गराउनको लागि प्रदेश सभा बोलाउनु पर्ने सरकारको बाध्यता छ । यस बाहेक प्रदेश बाल अधिकार पहिलो संशोधन २०७९, प्रदेश कृषि विकास र पर्यटनको विकास र प्रवर्द्धन विधेयक विषयगत समितिहरूमा छलफलपछि प्रदेश सभामा टेबलका लागि तयार छ भने प्रदेश बीउबिजन र प्रादेशिक व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बधनमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरिएको छ ।
पहिलो अधिवेशनमा ३६ पटक, दोस्रो अधिवेशनमा १४ पटक र तेस्रो अधिवेशनमा ३४ पटक गरी जम्मा १३५ घण्टा २० मिनेट बसेको मधेश प्रदेश सभाको बैठकले १० वटा कानुन मात्र बनाउन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic