सिरहामा प्रधानाध्यापकसहित शिक्षकहरुले कक्षाकोठामा थुनेर निर्घात कुटपिट

  • भदौ ३०, २०८०
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको सिरहा नगरपालिका वडा नं १२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापकसहित शिक्षकहरुले कक्षाकोठामा थुनेर निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समीर राइनलाई गत मंगलबार कक्षा कोठामा अध्ययन गरिरहेको समयमा शिक्षकहरूले कुटपिट गरेका हुन् । कुटपिटको क्रममा घाइते विद्यार्थी समीर सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । घटनापछि उनी विद्यालय नै जान नसकेको समीरका बाबु मो. अकबर मियाले बताएका छन् ।

गत मंगलबार दिउँसो ३ बजे कक्षामा अध्ययन गरिरहेका समीरलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए । ‘मलाई स्टाफ कोठामा लगेपछि हेडसर जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कोठा थुनेर एक घण्टासम्म निर्घात कुटिरहे,’ घाइते विद्यार्थी समीरले भने, ‘तिमी बढी बुझ्ने भयौ भन्दै तीनै जना मिलेर लात्ती, पाइप, मुक्काले एकोहोरो कुटिरहे ।’ दिनभरको कक्षा छुट्टी भएपछि मात्र आफूलाई गेटमा घाइते अवस्थामा ल्याएर छोडिदिएको पनि समीरले बताएका छन् ।

घाइते समीरका बाबु मियाका अनुसार कुटाइबाट अनुहार, टाउको, पिठ्युँ, छाती, खुट्टा लगायतका शरीरका विभिन्न भागमा निलडाम नै लाग्ने गरी गहिरो चोट लागेको छ । मंगलबार राति नै उनलाई सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएपछि हाल घरमै आराम गराइएको बाबु मियाले बताए ।

समीरले भनेका छन्, ‘अहिले पनि टाउको दुखेको दुख्यै छ । शरीर काँपिरहेको छ, टाउको घुमिरहेको छ, अब स्कुल जानै डर लागिरहेको छ ।’ यसअघि प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीहरूले सरुवाको विरोध गरेको र विद्यालयको मातहतमा रहेको सारस्वरनाथ गुद्री हटियाको ठेक्काको विषयमा पनि उनले प्रश्न उठाएका थिए ।

प्रधानाध्यापक जयचन्द्र यादवले भने समीरले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेको दाबी गरेका छन् । सोहीकारण गुरुको रुपमा सजाय दिएको प्रअ यादवले बताएका छन् । 'केटो बदमास हो, यस घटनालाई अन्यत्र नमोड्नु । मलाई सहयोग गर्नुस् । उसलाई गुरुको रुपमा सजाय दिएको हुँ, परिस्थिति यस्तो बन्यो कि उसमाथि चोट लाग्यो ।'

घटनापछि समीरका बाबुले भने प्रधानाध्यापक जयचन्द्र, लेखापाल जितेन्द्र र कार्याल्य सहयोगी जयनारायणलाई कारबाहीको माग गर्दै गत भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएको बताएका छन् । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे जानकारी आएको तर जाहेरी आइनसकेको बताएका छन् । साथै यसबारे विस्तृतमा बुझ्ने कार्य भइरहेको बताए । दोषीलाई कानुनी दायरामा ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरहा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिलिपकुमार यादवले घटनाबारे प्रधानाध्यापक, विद्यार्थी र उनको परिवारसँग बुझ्ने कार्य भइरहेको बताएका छन् । पीडित समीरका बाबुले आफ्नो छोरालाई पशुजस्तै गरी कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । Source : ekantipur

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१