Siraha Times
ताजा समाचार

आर्थिक अभावले घरमै प्रसूति भएकी चन्द्रिकाको सहारा बन्यो पारस अस्पताल, स्थानीय सरकारमाथि उठ्यो प्रश्न

  • असोज ११, २०८३
  • ३०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन बाध्य भएकी मोरङको पथरीशनिश्चरे नगरपालिका–५, सुगाको प्लान टोलकी २१ वर्षीया चन्द्रिका ऋषिदेव र उनकी नवजात छोरीको उपचार तथा हेरचाहको जिम्मेवारी विराटनगरस्थित पारस अस्पतालले लिएको छ।

चन्द्रिकाको दयनीय अवस्थाबारे जानकारी पाएपछि पारस अस्पतालका अध्यक्ष तथा चिकित्सक डा. सफिउर रहमानको नेतृत्वमा अस्पतालको टोली उनको घरमै पुगेको थियो। टोलीले चन्द्रिकाको परिवारलाई करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा न्यानो कपडा र ११ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। सहयोगमा सीमित नरही अस्पतालले चन्द्रिका, उनकी नवजात छोरी तथा किड्नीमा पत्थरीको समस्या रहेका उनका श्रीमान् २९ वर्षीय सुमन ऋषिदेवको आवश्यक उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाएको जनाएको छ। अस्पतालका अनुसार चन्द्रिकाको एक वर्षसम्म र उनकी छोरीको पाँच वर्षसम्म उपचारमा आवश्यक सहयोग गरिनेछ।

चन्द्रिका र उनकी नवजात छोरीलाई बिहीबार नै विराटनगर ल्याएर पारस अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरिएको जनाइएको छ। चरम आर्थिक अभावका कारण अस्पताल जान नसकेकी चन्द्रिकाले आइतबार बिहान करिब साढे ३ बजे आफ्नै घरमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति भएको चार दिनसम्म पनि आमा र नवजात शिशुले आवश्यक स्वास्थ्य परीक्षण, पोषणयुक्त आहार, न्यानो कपडा तथा उचित हेरचाह पाउन सकेका थिएनन्। उनीहरू चिसो भुइँमै बस्न बाध्य भएको अवस्थाबारे समाचार सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो।

यसअघि हसन्दह स्वास्थ्य चौकीकी अनमी अम्बिका दर्नालले चन्द्रिकाको अवस्था बुझ्न घरमै पुगेर आफ्नै तर्फबाट बसभाडा सहयोग गरी उनलाई पथरीस्थित नगर अस्पतालसम्म पुर्‍याएकी थिइन्। नगर अस्पतालले पनि आमा र नवजात शिशुलाई न्यानो कपडा उपलब्ध गराएको थियो। चन्द्रिकाका श्रीमान् सुमन ट्र्याक्टरमा मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका छन्। तर, हाल कामको सिजन नभएकाले उनी बेरोजगार अवस्थामा छन्। नियमित आम्दानीको स्रोत नहुँदा परिवारलाई दैनिक जीवनयापनदेखि स्वास्थ्य उपचारसम्मका आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ हुँदै आएको बताइएको छ। 

चन्द्रिकाको अवस्थाबारे जानकारी पाएपछि पारस अस्पतालका अध्यक्ष तथा चिकित्सक डा. सफिउर रहमानले देखाएको सहयोगले आर्थिक रूपमा विपन्न परिवारका लागि निजी क्षेत्रबाट पनि मानवीय सहयोग सम्भव रहेको सन्देश दिएको छ। स्थानीयस्तरमा डा. रहमानले विपन्न, दलित, असहाय तथा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग गर्दै आएको चर्चा हुने गरेको छ। चन्द्रिकाको परिवारको अवस्थाबारे जानकारी पाएपछि घरमै पुगेर खाद्यान्न, कपडा र नगद सहयोग गर्नुका साथै परिवारका सदस्यको उपचारको जिम्मेवारी लिनुले उनको मानवीय पहललाई थप चर्चामा ल्याएको छ।चन्द्रिकाको परिवारले कठिन अवस्थामा साथ दिएकोमा पारस अस्पताल तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। 

घटनाले स्थानीय तहको स्वास्थ्य तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। आफ्नै पालिकाभित्र आर्थिक अभावका कारण एउटी गर्भवती महिला अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित प्रसूति हुनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको स्थानीयस्तरमा चर्चा हुन थालेको छ। विशेषगरी विपन्न, दलित तथा जोखिममा रहेका गर्भवती र नवजात शिशुको पहिचान, नियमित स्वास्थ्य अनुगमन, आकस्मिक उद्धार तथा निःशुल्क उपचारमा स्थानीय सरकारले कस्तो संयन्त्र बनाएको छ भन्ने प्रश्नसमेत उठेको छ।

चन्द्रिकाको परिवारको अवस्था बाहिर आएपछि निजी अस्पताल र स्वास्थ्यकर्मीबाट तत्काल सहयोग प्राप्त भए पनि यस्तो अवस्था आउनुअघि नै स्थानीय सरकारको स्वास्थ्य संयन्त्रले जोखिममा रहेका परिवार पहिचान गर्न नसकेको हो कि भन्ने प्रश्न अनुत्तरित छ। यद्यपि, स्थानीय सरकारको भूमिकाबारे सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक रूपमा आउन बाँकी छ।

चन्द्रिकाको घटनाले एउटा महत्वपूर्ण सन्देश भने दिएको छ आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिला र नवजात शिशु आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितता राज्यका सबै तह र सम्बन्धित स्वास्थ्य संस्थाको साझा जिम्मेवारी हो।

‘जसको कोही हुँदैन, उसको लागि ईश्वर साथमा हुन्छ’ भन्ने भनाइलाई सम्झाउने गरी संकटको समयमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्नु चन्द्रिकाको परिवारका लागि राहत बनेको छ। अब यस्ता परिवारलाई विपद् आएपछि मात्र होइन, विपद् आउनुअघि नै पहिचान गरेर सहयोग गर्ने जिम्मेवारी स्थानीय सरकार र सम्बन्धित निकायको पनि हो।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤