Siraha Times
ताजा समाचार

नालाको पानी निकासका लागि सडक काटिएपछि समस्या, पिप्रा-पोखरिया सडकमा अवात जवातमा समस्या

  • असोज ११, २०८३
  • ३७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सडक काटिएपछि पिप्रा–पोखरिया सडकमा आवतजावतमा समस्या भएको छ। नालाको पानी सडकमा बग्दा सडक कटान हुनुका साथै हिलो र पानी जमेर स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ भएको हो।

कटहरिया गाउँबाट बाहिर निस्किनेबित्तिकै पर्ने पोखरीनजिकै पानी निकासका लागि सडक काटिएको छ। उक्त सडकले पिप्रा, पोखरिया, डुमरिया र बगही लगायतका गाउँलाई जोड्नुका साथै कटहरिया नगरपालिकाका वडा नं. ७, ८ र ९ का स्थानीयवासीका लागि महत्वपूर्ण आवतजावतको मार्गका रूपमा रहेको छ। सडक काटिएपछि अहिले सो स्थानमा पानी र हिलो जम्दा पैदलयात्री, साइकल तथा मोटरसाइकल चालकलाई आवतजावतमा समस्या भएको छ। विशेषगरी विद्यालय जाने बालबालिकासमेत जोखिममा परेका छन्। हिलोका कारण मोटरसाइकल चिप्लिएर दुर्घटना हुने जोखिम बढेको स्थानीयवासीको भनाइ छ।

स्थानीय पूर्व वडा सदस्य बाबूलाल राय यादवले नालाको पानी सडकमा बग्दा सडक कटान हुनुका साथै हिलो जमेर दैनिक आवतजावतमा समस्या भएको बताएका छन्। उनले नगर प्रमुख, वडा जनप्रतिनिधि तथा सम्बन्धित निकायले स्थलगत निरीक्षण गरी समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्। स्थानीयवासीका अनुसार पानी निकासका लागि सडक काट्नु आवश्यक भए पनि त्यसपछि सडकलाई पुनः व्यवस्थित नगरिँदा समस्या थपिएको हो। सो स्थानमा ह्युमपाइप राख्नुका साथै एक–दुई टेलर ग्याभियनको व्यवस्था गरी पानी निकास व्यवस्थित गर्दै सडक सुचारु गर्नुपर्ने उनीहरूको सुझाव छ।

त्यसैगरी, स्थानीयवासीले नाला तथा पाइपको काम प्रभावकारी भए/नभएको समेत जाँच गर्न माग गरेका छन्। पाइप कहाँ राखिएको छ, पानीको निकास कहाँबाट हुने हो र नालाको उचित निकासको व्यवस्था के छ भन्ने विषयमा सम्बन्धित निकायले स्थलगत निरीक्षण गर्नुपर्ने उनीहरूको भनाइ छ। यस विषयमा कटहरिया नगरपालिका–५ का वडा अध्यक्ष सुरफलाल गुप्तासँग बुझ्दा समस्या आफूलाई जानकारी भएको बताउँदै छिट्टै आवश्यक पहल गरी समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। स्थानीयवासीको आवतजावत सहज बनाउन सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने वडा अध्यक्ष गुप्ताको भनाइ छ।

तीनवटा वडा तथा विभिन्न गाउँ जोड्ने महत्वपूर्ण सडक भएकाले पानी निकाससँगै सडकको मर्मत तथा उचित व्यवस्थापन गरी तत्काल आवतजावत सहज बनाउन स्थानीयवासीले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤