रहमुल, लहान, ९ असोज । सप्तरीको खडक नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया अभियानअन्तर्गत छनोट शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीका अनुसार वडा नं. ११ मा आगामी असोज १२ गते प्रा.वि. बनौलीमा तथा वडा नं. ९ मा असोज १४ गते औषधालयमा मोतियाबिन्दुका बिरामी छनोटका लागि शिविर सञ्चालन गरिनेछ।
नगरप्रमुख चौधरीले नगरपालिकाभित्रका ज्येष्ठ नागरिक, आमाबुवा तथा आँखासम्बन्धी समस्या भएका सम्पूर्ण नागरिकलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेका छन्। उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्थानीय सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। यसैबीच, नगरप्रमुख चौधरी आफैं वडा नं. ३ का थप २३ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न गराई उनीहरूलाई घरसम्म पुर्याउने कार्यमा संलग्न भएको स्थानीयले बताएका छन्।
चौधरीले स्थानीय तहको विकासलाई सडक, भवन र विद्युत् विस्तारमा मात्र सीमित गर्न नहुने धारणा राखेका छन्। उनका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सूचना तथा सञ्चार, नेतृत्व तथा क्षमता विकास, कृषि र भौतिक पूर्वाधारलगायतका क्षेत्रमा समानान्तर रूपमा काम अघि बढेपछि मात्र नागरिकले विकासको वास्तविक अनुभूति गर्न सक्नेछन् बताएका छन।
उनले नगरपालिका जन्मदेखि वृद्धावस्थासम्मका नागरिकको साझा घर भएकाले स्थानीय सरकार सबै नागरिकप्रति समान दायित्व र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए। “सबैको चाहनाअनुसार पालिका सञ्चालन हुनुपर्छ” भन्ने उद्देश्यका साथ नागरिकको सहभागिता र सहकार्यमा आफ्नो नेतृत्वको स्थानीय सरकार अघि बढिरहेको उनको भनाइ छ।
नगरप्रमुख चौधरीले शिक्षा र स्वास्थ्यसँगै खानेपानी तथा सरसफाइ, सूचना तथा सञ्चार, नेतृत्व तथा क्षमता विकास र कृषि क्षेत्रलाई पनि नगरपालिकाको प्राथमिकतामा राखिएको बताए। नागरिकले सामान्य अवस्थामा पनि सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले आफू नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको उनले बताए।
उनका अनुसार नगरपालिकाले स्थानीय युवाको क्षमता विकासलाई समेत प्राथमिकता दिएको छ। यही असोज महिनामा ८० जना किशोरकिशोरी तथा युवायुवतीलाई तालिम प्रदान गरी उनीहरूको नेतृत्व तथा क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
तालिमबाट तयार हुने जनशक्तिले टोल, समुदाय, वडा र स्थानीय तह हुँदै भविष्यमा राज्य सञ्चालनका विभिन्न तहमा समेत योगदान दिन सक्ने विश्वास नगरप्रमुख चौधरीले व्यक्त गरे। यस्तो दक्ष जनशक्तिलाई नगरपालिकाको महत्वपूर्ण सामाजिक सम्पत्तिका रूपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाइ छ। नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा भक्तपुरस्थित केएमसी अस्पतालसँग उपचारमा छुटसम्बन्धी सम्झौता गरेको चौधरीले बताए।
सम्झौताअनुसार नगरवासीले तोकिएका स्वास्थ्य सेवामा २० देखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको नगरप्रमुखको भनाइ छ। उनले उक्त सुविधाबारे प्रत्येक नागरिकलाई जानकारी गराउन वडा कार्यालय, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय अगुवा र नागरिक समाजका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा सहुलियतको सूचना कागजमा मात्र सीमित नराखी घरदैलोसम्म पुर्याउनुपर्नेमा जोड दिए। नागरिकले सेवा र सुविधाबारे जानकारी पाएपछि मात्र स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रमको वास्तविक लाभ लिन सक्ने उनको भनाइ छ।
चौधरीले स्रोतसाधनले भ्याएसम्म नगरपालिकाले नागरिकको आवश्यकता सम्बोधन गर्ने प्रयास गरिरहेको दाबी गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा क्षमता विकासका कार्यक्रमलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic