Siraha Times
ताजा समाचार

एक सातादेखि अस्पताल धाइरहेकी गर्भवती अन्ततः भर्ना, जनप्रतिनिधिको पहलमा उपचार सुरु

  • असोज ७, २०८३
  • १०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी लहान नगरपालिका–१ की गर्भवती अन्जली कुमारी यादव अन्ततः अस्पतालमा भर्ना भएकी छन् । आर्थिक अवस्थाका कारण उपचारका लागि अस्पतालमा भर्ना हुन नसकेको गुनासो गर्दै आएकी यादवलाई स्थानीय सामाजिक अगुवा तथा जनप्रतिनिधिको पहलमा अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो ।

गर्भवती यादव स्वास्थ्य परीक्षण तथा उपचारका लागि पटक–पटक अस्पताल पुग्दै आए पनि आफूलाई आवश्यक उपचारका लागि भर्ना नगरिएको गुनासो गर्दै आएकी थिइन् । करिब एक सातादेखि अस्पतालमा चेकजाँच गराउँदै आए पनि उपचारका लागि भर्ना हुन नसकेको विषय स्थानीयवासीको चासोको विषय बनेको थियो ।

मंगलबार साँझ यादवको स्वास्थ्य अवस्था तथा अस्पतालमा भर्ना हुन नसकेको विषयमा स्थानीयवासीले मधेश प्रदेशसभा सदस्य ललिता दास र जसपा नेपालको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रत्यासी सत्यनारायण यादवलाई जानकारी गराउँदै तत्काल सहयोगका लागि आग्रह गरेका थिए । स्थानीयवासीको आग्रहपछि प्रदेशसभा सदस्य दास र यादव अस्पताल पुगेर गर्भवती यादवलाई भर्ना गराउन पहल गरेका थिए ।

अस्पतालमा भर्ना गराउने क्रममा केही समय अस्पताल पक्ष र सहयोगका लागि पुगेका व्यक्तिहरूबीच भनाभनसमेत भएको बताइएको छ । भर्नाका विषयमा केही समय सामान्य विवाद उत्पन्न भए पनि पछि चिकित्सक शैलेन्द्र चौधरीलाई बोलाएर गर्भवती यादवलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

अस्पतालमा भर्ना भएपछि यादवको आवश्यक उपचार तथा प्रसूति सेवा अस्पतालमै उपलब्ध गराउने सहमति भएको बताइएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा थप समस्या नहोस् भन्ने उद्देश्यले प्रदेशसभा सदस्य ललिता दास र सत्यनारायण यादवले आवश्यक परे उपचारमा लाग्ने खर्चसमेत व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशसभा सदस्य दास र यादवले आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिलाले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुनेमा जोड दिएका छन् । आवश्यक उपचारका लागि अस्पताल पुगेकी बिरामीलाई आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आफूहरूले तत्काल पहल गरेको उनीहरूको भनाइ छ ।

यसैबीच, अस्पताल व्यवस्थापन पक्षले भने घटनाबारे अस्पताल प्रशासनलाई पूर्वजानकारी नभएको स्पष्ट पारेको छ । अस्पताल व्यवस्थापनका अनुसार अन्जली यादव असोज ६ गते स्वास्थ्य परीक्षणका लागि अस्पताल आएकी थिइन् । सो क्रममा उनको स्वास्थ्य अवस्थाअनुसार सामान्य रूपमा दुईवटा परीक्षण गराउन चिकित्सकले सल्लाह दिएको अस्पताल पक्षको भनाइ छ ।

अस्पताल व्यवस्थापनका अनुसार त्यस समयमा बिरामीसँग आर्थिक समस्या छ वा उपचार खर्च तिर्न सक्ने अवस्था छैन भन्ने विषयमा आफूहरूलाई जानकारी थिएन । साँझ पुनः बिरामी अस्पतालमा आएपछि मात्र उनको आर्थिक अवस्थाबारे जानकारी भएको अस्पताल पक्षले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका प्रतिनिधिका अनुसार, “बिरामीसँग पैसा छ कि छैन भन्ने विषयभन्दा पनि बिरामी अस्पताल आउनुपर्‍यो र सेवा पाउनुपर्‍यो भन्ने कुरा महत्वपूर्ण हो । हामी बिरामीलाई सेवा दिनकै लागि यहाँ बसेका हौँ ।” आर्थिक समस्या रहेको जानकारी पाएपछि अस्पतालबाट उपलब्ध हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पताल व्यवस्थापनले आफूहरूलाई यस घटनाबारे पूर्वजानकारी नभएको र जानकारी पाएलगत्तै अस्पतालबाट हुने आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ । बिरामीको उपचारमा अस्पतालले आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्ने व्यवस्थापनको भनाइ छ ।

भर्नाका क्रममा अस्पताल पक्षबाट व्यक्ति विशेषका कारण बिरामी भर्नामा समस्या भएको दाबीसमेत गरिएको थियो । घटनाका क्रममा केही समय अस्पताल परिसरमा भनाभनको अवस्था सिर्जना भए पनि पछि उपचारको व्यवस्था मिलाउने सहमति भएपछि अवस्था सामान्य बनेको बताइएको छ ।

गर्भवती यादवको उपचार अहिले अस्पतालमै भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा थप समस्या नआओस् भनेर प्रदेशसभा सदस्य दास र यादवले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने अस्पताल व्यवस्थापनले पनि बिरामीलाई उपलब्ध गराउन सकिने सेवा तथा सहजीकरणमा कुनै कमी हुन नदिने जनाएको छ ।

घटनाले आर्थिक रूपमा कमजोर बिरामीले अस्पतालमा उपचार पाउने विषयमा सम्बन्धित पक्षबीच समयमै समन्वय र सूचना आदानप्रदानको आवश्यकता देखाएको छ । साथै, स्वास्थ्य उपचारका लागि अस्पताल पुग्ने बिरामीको आर्थिक अवस्था कमजोर भएमा उपलब्ध सरकारी तथा संस्थागत सहायताबारे समयमै जानकारी गराउने र आवश्यक सहजीकरण गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१