रहमुल, सिरहा, २८ साउन । दिदीबहिनी संस्थाको आयोजनामा सिरहा र सप्तरी जिल्लामा परियोजना सञ्चालनका क्रममा संस्थाले सहजीकरण तथा सहयोग गर्दै आएका कृषक समूहहरूलाई राष्ट्रिय कृषक समूह महासंघ, नेपालमा आबद्ध गराउने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत परियोजनाअन्तर्गत गठन तथा परिचालित कृषक समूहहरूलाई राष्ट्रिय कृषक समूह महासंघको सांगठनिक अभियानसँग जोड्दै किसानका अधिकार, समस्या तथा सरोकारका विषयमा सामूहिक रूपमा पैरवी गर्ने वातावरण निर्माण गर्ने प्रयास गरिएको हो।
कार्यक्रममा दिदीबहिनी संस्थाका कार्यक्रम संयोजक विपिन अर्याल, फिल्ड म्यानेजर खड भूषण साह तथा अनुगमन तथा मूल्यांकन अधिकृत अनु पोखरेल लगायतले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले सिरहा र सप्तरीमा संस्थाले सञ्चालन गरेका परियोजनामार्फत संगठित भएका कृषक समूहहरूलाई महासंघसँग आबद्ध गराउने प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
महासंघको तर्फबाट मधेस प्रदेश सचिव यामुन यादवले दिदीबहिनी संस्थाबाट हस्तान्तरण गरिएका कृषक समूहहरूलाई राष्ट्रिय कृषक समूह महासंघमा स्वागत गर्नुभयो। उहाँले कृषक समूहहरू महासंघको संरचनामा जोडिनुले किसानका साझा सवाललाई संगठित र प्रभावकारी ढंगले उठाउन थप बल पुग्ने बताउनुभयो। त्यस्तै, महासंघका मधेस प्रदेश कोअर्डिनेटर दिलिप साहले राष्ट्रिय कृषक समूह महासंघको सांगठनिक संरचना, उद्देश्य, कार्यक्षेत्र तथा किसान अधिकार अभियानका विषयमा जानकारी गराउनुभयो। उहाँले स्थानीय स्तरमा रहेका कृषक समूहहरूलाई प्रदेश तथा राष्ट्रिय संरचनासँग जोड्दै किसानका समस्या र मागलाई संस्थागत रूपमा अगाडि बढाउन महासंघले काम गरिरहेको बताउनुभयो।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठले कृषक समूहहरू महासंघमा आबद्ध हुनु किसानका अधिकार र सरोकारका विषयलाई संस्थागत तथा सामूहिक रूपमा उठाउने महत्वपूर्ण कदम भएको बताउनुभयो। अध्यक्ष श्रेष्ठका अनुसार थप कृषक समूहहरू महासंघको अभियानसँग जोडिँदै गएसँगै किसानका समस्या, अधिकार र आवश्यकताका विषयमा स्थानीयदेखि राष्ट्रिय तहसम्म प्रभावकारी रूपमा पैरवी गर्न सहयोग पुग्नेछ। कृषकहरूको संगठनात्मक एकता र सशक्तीकरणका लागि दिदीबहिनी संस्था र महासंघबीचको सहकार्य महत्वपूर्ण रहेको उहाँको भनाइ छ।
अध्यक्ष श्रेष्ठले दिदीबहिनी संस्थाले परियोजना सञ्चालनका क्रममा तयार तथा संगठित गरेका कृषक समूहहरूलाई राष्ट्रिय कृषक समूह महासंघमा आबद्ध गराउने वातावरण निर्माण गरी समूहहरू हस्तान्तरण गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले महासंघमा आबद्ध भएका सम्पूर्ण कृषक समूहहरूलाई किसानका अधिकारको अभियानमा एकताबद्ध भएर अगाडि बढ्न, आपसी सहकार्य र समन्वय कायम गर्न तथा कृषकका साझा समस्या समाधानका लागि सामूहिक आवाज उठाउन आह्वानसमेत गर्नुभयो।
कृषक समूहहरूलाई एउटै छातामुनि संगठित गर्दै किसानको उत्पादन, बजार पहुँच, उचित मूल्य, कृषि नीति तथा किसानमैत्री सेवा–सुविधाका विषयमा पैरवी गर्ने अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने महासंघको लक्ष्य रहेको जनाइएको छ। यसैबीच, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठले आजै कर्जन्हा नगरपालिकामा महासंघको तेस्रो अधिवेशन आयोजना हुन गइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अधिवेशनले स्थानीय तहमा कृषकहरूको संगठनात्मक एकता, नेतृत्व विकास तथा किसान अधिकारको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
दिदीबहिनी संस्था र राष्ट्रिय कृषक समूह महासंघबीचको यस्तो सहकार्यले सिरहा र सप्तरीका कृषक समूहलाई थप संगठित बनाउँदै किसानको अधिकार तथा सशक्तीकरणको अभियानलाई स्थानीय तहसम्म विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमका अवसरमा महासंघले सहजीकरण तथा समन्वयका लागि दिदीबहिनी संस्थाका पदाधिकारी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै महासंघमा आबद्ध भएका सम्पूर्ण कृषक समूहलाई किसानको हकहितका लागि एकताबद्ध भएर अघि बढ्न स्वागत गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic