Siraha Times
ताजा समाचार

सिरहामा कटुवा पेस्तोल सहित युवाहरू पक्राउ: निष्पक्ष अनुसन्धान र सामाजिक सद्भाव जोगाउन स्थानीयको जोड

  • साउन २०, २०८३
  • ३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछि घटनाको निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूको संलग्नता, हतियारको स्रोत, उद्देश्य तथा सम्भावित सञ्जाल बारे विस्तृत अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गरिनु आवश्यक छ।

उनीहरूको भनाइमा कुनै पनि घटनाबारे प्रमाण र अनुसन्धानको निष्कर्ष नआउँदासम्म हतारमा निष्कर्ष निकाल्नु उचित नहुने धारणा व्यक्त गरिएको छ। स्थानीयहरूले यस्ता गैरकानुनी गतिविधिले समाजमा डर, असुरक्षा र विभिन्न समुदाय बीच अविश्वास बढाउने जोखिम रहने भएकाले राज्यका निकायले संवेदनशीलतापूर्वक अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार सामाजिक सद्भाव र कानुनी शासन कायम राख्नु अहिलेको प्रमुख आवश्यकता हो।

पक्राउको घटनामा सक्रियता देखाएको भन्दै स्थानीयहरूले नेपाल प्रहरी, विशेषगरी सिरहा प्रहरीको प्रशंसा गरेका छन्। केही दिनअघि देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा किशोर तथा युवाहरूको प्रयोग भएको विषय पनि गम्भीर रूपमा उठेकाले यस्ता गतिविधिमा कसले, किन र कसरी युवालाई प्रयोग गरिरहेको छ भन्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ। केही जानकारहरूको भनाइअनुसार सुनसरीको देवानगञ्ज घटनापछि मधेशका विभिन्न जिल्लामा भएका बन्द, प्रदर्शन, आगजनी, लुटपाट तथा मानवीय क्षतिले सर्वसाधारणमा अझै त्रासको वातावरण सिर्जना गरेको छ।

उनीहरूका अनुसार कतिपय व्यवसायी, विशेषगरी मुस्लिम समुदायका व्यवसायीहरू अझै ढुक्क भएर व्यवसाय सञ्चालन गर्न नसकेको गुनासो सुनिन थालेको छ। यस्तो अवस्थाले सामाजिक विश्वास कमजोर बनाउने भएकाले सरकारले शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति दिलाउन प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। स्थानीय बुद्धिजीवीहरूले यदि पछिल्ला घटनाहरूका पछाडि कुनै योजनाबद्ध समूह वा व्यक्तिको संलग्नता रहेको भए त्यसको निष्पक्ष र गहिरो अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने सुझाव दिएका छन्।

उनीहरूका अनुसार दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइनु नै न्याय र सामाजिक विश्वास कायम गर्ने आधार हो। सरोकारवालाहरूले समाजमा द्वन्द्व, हिंसा वा धार्मिक वैमनस्य फैलाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन्। उनीहरूको भनाइमा नेपालको सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण वातावरण जोगाउनु सबै पक्षको साझा जिम्मेवारी हो। त्यसैले अफवाह, अपुष्ट सूचना वा भड्काउ सामग्रीको पछि नलागी सम्बन्धित निकायको आधिकारिक अनुसन्धान र तथ्यलाई आधार बनाउन उनीहरूले सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१