Siraha Times
ताजा समाचार

विद्यालय बसको दुर्घटनामा खलासी र ५ वर्षीया छात्राको मृत्यु, चालक फरार

  • असार १६, २०८३
  • ७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा परी एक खलासी र पाँच वर्षीया छात्राको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेशपुर पतारीका अनुसार पायनर एजुकेसनल एकेडेमी, लहान–१२ भोटियाटोलको को.१ख.३५९९ नम्बरको विद्यालय बसले किच्दा बसका खलासी लहान नगरपालिका–२२ लवटोल निवासी १९ वर्षीय धर्मपाल यादव तथा सोही विद्यालयमा अध्ययनरत लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी ५ वर्षीया समिक्षा साहको ज्यान गएको हो।

स्थानीय प्रवेश कुमारका अनुसार मंगलबार साँझ करिब ४:२० बजे विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्यायउने क्रममा दुर्घटना भएको थियो। मृतक बालिकाका गाउँले तथा हजुरबुबा पर्ने नारायण साहका अनुसार समिक्षा बसबाट ओर्लिएलगत्तै लड्न पुगेकी थिइन्। उनलाई उठाउन बसका खलासी धर्मपाल यादव बसको पछाडितर्फ पुगेका थिए। सोही समयमा चालकले यात्रु सबै सुरक्षित रूपमा ओर्लिएको सुनिश्चित नगरी बस अगाडि बढाउँदा पछाडिको चक्काले खलासी र बालिका दुवैलाई कुल्चिएको बताइएको छ।

दुर्घटना लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित नथुनी साहको घर अगाडि भएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार दुर्घटनापछि घटनास्थलमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। प्रहरीले दुर्घटनामा संलग्न विद्यालय बसलाई नियन्त्रणमा लिएको छ। बस चालक भने घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ।

घटनाको वास्तविक कारण, चालकको लापरवाही तथा विद्यालय बस सञ्चालनसम्बन्धी सुरक्षा मापदण्डको पालना भए–नभएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यस हृदयविदारक घटनाले विद्यालय बसको सुरक्षा व्यवस्था, चालकको जिम्मेवारी र विद्यार्थी ओहोरदोहोरका क्रममा अपनाउनुपर्ने सावधानीबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीले दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१