लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभाको अधिवेशनमा पालिका उपाध्यक्ष ममता कुमार यादवले प्रस्तुत गरेकी नीति, कार्यक्रम तथा बजेटअनुसार कुल बजेटमध्ये चालु खर्चतर्फ ३० करोड २८ लाख २ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ २६ करोड ७२ लाख ८० हजार २ सय ८७ रुपैयाँ विनियोजन गरिएको हो।
प्रस्तुत बजेटमा वडा कार्यालयहरूको चालु तथा पुँजीगत खर्चका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै शिक्षा शाखाका लागि १ करोड रुपैयाँ, स्वास्थ्य शाखाका लागि ५० लाख रुपैयाँ, कृषि विकास शाखाका लागि ३० लाख रुपैयाँ, विपद् व्यवस्थापन शाखाका लागि १० लाख रुपैयाँ तथा पशु सेवा शाखाका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको पालिकाका उपाध्यक्ष यादवले जनाएकी छिन्।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १९ करोड ८६ लाख ६५ हजार २ सय ८७ रुपैयाँ विनियोजन गरिएको छ। यस्तै आर्थिक वर्ष २०८२/०८३ मा दायित्व सिर्जना भएका योजना तथा कार्यक्रमका लागि १४ करोड १७ हजार रुपैयाँ छुट्याइएको छ।
विषयगत शाखाका चालु तथा पुँजीगत सशर्त अनुदान कार्यक्रमका लागि १८ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय सरकारबाट प्राप्त विशेष अनुदानतर्फ ६८ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ १ करोड ८ लाख रुपैयाँ गरी कुल १ करोड ७६ लाख रुपैयाँ पूर्वाधार विकासमा खर्च गरिने जनाइएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न स्रोतबाट आय संकलन हुने अनुमान पनि सार्वजनिक गरेको छ। आन्तरिक स्रोतबाट २ करोड ५० लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ९ करोड २४ लाख रुपैयाँ, सशर्त अनुदानबाट १८ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदानबाट ६८ लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै संघीय राजस्व बाँडफाँडबाट ८ करोड ८४ लाख २६ हजार रुपैयाँ, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट ६३ लाख १६ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ४४ लाख २३ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदानबाट २५ लाख रुपैयाँ तथा विशेष अनुदानबाट २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बैंक मौज्दाततर्फ १४ करोड ७६ लाख १७ हजार २ सय ८७ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले आय लक्ष्य हासिल गर्न राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाइने, वडा तहबाटै राजस्व संकलनको व्यवस्था गरिने तथा स्वीकृत आयोजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न विशेष संयन्त्र गठन गरिने जनाएको छ।
गाउँपालिकाका अनुसार प्रस्तुत बजेटले सेवा प्रवाहलाई प्रभावकारी बनाउने, पूर्वाधार विकासलाई गति दिने, कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापन क्षेत्रलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै स्थानीय आवश्यकताअनुसार विकास कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved