Siraha Times
ताजा समाचार

बालिका शिक्षा तथा सशक्तीकरणमा जोड : सखुवानन्कारकट्टीमा स्थानीय परियोजना सल्लाहकार बैठक सम्पन्न

  • असार ६, २०८३
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रम अन्तर्गत स्थानीय परियोजना सल्लाहकार बैठक सम्पन्न भएको छ। केयर नेपालको आर्थिक सहयोग, समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा तथा सखुवानन्कारकट्टी गाउँपालिकाको सहकार्यमा शुक्रबार उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा गाउँपालिका, विद्यालय, महिला समूह, अभिभावक, युवा प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालिकाहरूको शिक्षा, नेतृत्व विकास, लैङ्गिक समानता, बाल विवाह न्यूनीकरण तथा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले समाजको समग्र विकासका लागि बालिकाको शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षित र सशक्त बालिकाले परिवार, समुदाय र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए। उनीहरूले बालिकाहरूलाई विद्यालयमा टिकाइ राख्न, आत्मविश्वास अभिवृद्धि गर्न तथा निर्णय प्रक्रियामा सहभागी गराउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

यस अवसरमा वडा नं. १ का अध्यक्ष संजय यादवले बालिका शिक्षा समाज परिवर्तनको आधारशिला भएको उल्लेख गर्दै स्थानीय सरकार बालिकामैत्री वातावरण निर्माण, विद्यालयमा नियमित उपस्थितिको सुनिश्चितता तथा बाल विवाह न्यूनीकरणका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षित र सक्षम बालिकाले भविष्यमा सक्षम नेतृत्व प्रदान गर्ने भएकाले अभिभावक, विद्यालय र समुदाय सबैले बालिकाको शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, बालिकाहरूलाई अवसर, सुरक्षा र आत्मविश्वास प्रदान गर्न सके मात्रै समतामूलक र समृद्ध समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

बैठकको मुख्य उद्देश्य परियोजना अन्तर्गत सञ्चालन भइरहेका गतिविधिहरूको समीक्षा गर्नु, स्थानीय आवश्यकता तथा चुनौतीहरूको पहिचान गर्नु र आगामी कार्ययोजनालाई प्रभावकारी बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ। साथै परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रममा बालिका शिक्षामा देखिएका अवरोध, विद्यालय छाड्ने दर न्यूनीकरण, किशोरीहरूको स्वास्थ्य तथा सरसफाइ, जीवनोपयोगी सीप विकास, बाल अधिकार संरक्षण तथा लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा सहभागीहरूले आफ्ना सुझाव प्रस्तुत गरेका थिए। प्रस्तुत सुझावहरूलाई आगामी कार्यक्रम तथा योजनामा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

बैठकले बालिकाहरूको शैक्षिक, सामाजिक तथा आर्थिक सशक्तीकरणमार्फत समतामूलक र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय स्तरमा परियोजनाका गतिविधिहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने निष्कर्ष निकालेको छ। बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न शिक्षा, अवसर र सशक्तीकरणलाई केन्द्रमा राखी सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१