ओम प्रकाश यादव लहान, वैशाख २४ । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ पिपरा स्थित भैरहवा–कपिलवस्तु हुलाकी सडकखण्डमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका अनुसार बिहीबार बिहान करिब ११ः४० बजेको समयमा पर्साबाट भैरहवा तर्फ जाँदै गरेको BAA 0079 नम्बरको कारले सोही दिशातर्फ गइरहेको UP 55 B 0039 नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार भारतको सिद्धार्थनगर जिल्ला कक्रहवा निवासी अन्दाजी ४० वर्षीय बाबु साहेब लोध गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते लोधलाई तत्काल उपचारका लागि भिम अस्पताल भैरहवा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबास निवासी २६ वर्षीय राज अग्रहरी रहेका छन् भने मोटरसाइकल चालक भारत सिद्धार्थनगर कक्रहवा निवासी अन्दाजी २१ वर्षीय ब्रम कुमार लोध रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic