Siraha Times
ताजा समाचार

लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • माघ २६, २०८२
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २६ माघ । नेपाल हृदय रोग निवारण संघ (HDCL) अन्तर्गत सञ्चालनमा रहेको हार्ट एन्ड डायबेटिज सेन्टर (HDCL), लहान–४, सिरहाको प्रथम वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम लहान–१३ निवासी तथा हाल जर्मनीमा कार्यरत मुटु रोग विशेषज्ञ डा. वालकृष्ण अर्ग्यानको अध्यक्षता तथा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

जर्मनीका प्रख्यात मुटु रोग विशेषज्ञ डा. फ्लोरियन होएफनरको सहयोगमा स्थापना भएको उक्त केन्द्रले लहान–४ मा मुटु तथा मधुमेह रोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। यस अवसरमा अस्पताल परिसरमा चिकित्सकहरूको टोलीद्वारा वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो। वार्षिकोत्सवको अवसरमा दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य स्क्रिनिङ कार्यक्रमका क्रममा लहानवासीको स्वास्थ्य अवस्था, विशेषगरी मुटु रोग र मधुमेह सम्बन्धी समस्याहरू बारे गहन छलफल र परीक्षण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर महेश प्रसाद चौधरीले लहानमा मुटु तथा मधुमेह रोगको उपचारका लागि विशेषज्ञ सेवा स्थापना हुनु गौरवको विषय भएको उल्लेख गरे। उनले भने,“मधुमेह र क्यान्सर जस्ता रोगलाई मृत्युदण्ड सरह ठान्ने भ्रम अझै समाजमा व्याप्त छ। यस्तो अवस्थामा कम खर्चमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने यो अस्पताल लहान र आसपासका नागरिकका लागि वरदान सावित हुनेछ। नगरपालिकाले आवश्यक सहकार्य र सहयोग गर्न तयार छ।” अध्यक्षता गर्दै डा. वालकृष्ण अर्ग्यानले हाल विश्वभर मधुमेह र क्यान्सर तीव्र रूपमा फैलिँदै गएको तथ्य प्रस्तुत गर्दै यी रोग लागेपछि अनिवार्य रूपमा मृत्यु हुन्छ भन्ने गलत धारणा समाजमा रहेको बताए।

उनले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरी कम लगानीमा उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले लहानमा यो अस्पताल निर्माणको योजना अघि बढाइएको स्पष्ट पारे। डा. अर्ग्यानका अनुसार, प्रस्तावित दुई अर्ब रुपैयाँ लागतमा निर्माण हुने मुटु अस्पतालको डी.पी.आर. र नक्सा यसै अवसरमा सार्वजनिक गरिएको छ। उक्त अस्पताल सञ्चालनमा आएपछि लहान मात्र नभई सम्पूर्ण सिरहा तथा आसपासका जिल्लाका नागरिकले लाभ लिने अपेक्षा गरिएको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले ग्रामीण स्तरसम्म स्वास्थ्य सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन योजनाको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि यस्ता पहलहरू आवश्यक रहेको धारणा व्यक्त गरे। यस वर्ष संस्थाले वृहद् वृक्षारोपण अभियान समेत सञ्चालन गरेको जनाइएको छ।

कार्यक्रममा लहानका उच्च पदस्थ व्यक्तित्वहरू, ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू, सर्वसाधारण तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रथम वार्षिकोत्सव मनाएको HDCL ले आगामी दिनमा सेवा विस्तार गर्दै लहानलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤