भगवानपुर गाउँपालिकामा एकदिवसीय निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • माघ १६, २०८२
  • ४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ १६ । भगवानपुर गाउँपालिकाको सहयोगमा एकदिवसीय पशु स्वास्थ्य शिविर वडा नं. ५ स्थित कृषि तथा पशु सेवा केन्द्रको प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको छ। पशु सेवा शाखा भगवानपुरद्वारा आयोजित उक्त शिविरमा स्थानीय किसानहरूको सहभागिता रहेको थियो। शिविरको उद्देश्य किसानका गाईवस्तुमा देखिएका विभिन्न रोगहरूको पहिचान, उपचार तथा रोकथामका उपायबारे जानकारी दिनुका साथै निःशुल्क औषधि र परामर्श उपलब्ध गराउनु रहेको थियो।

कार्यक्रममा मन्तव्य दिँदै पशु सेवा शाखाका प्रमुख रामसुन्दर दासले विगत वर्षहरू जस्तै यस वर्ष पनि किसानका गाईवस्तुमा विभिन्न किसिमका रोगहरू देखिन थालेको बताए। “यही अवस्थालाई मध्यनजर गर्दै आज वडा नं. ५ का किसानहरूका लागि निःशुल्क औषधि वितरण र सही परामर्श प्रदान गरिएको हो,” प्रमुख दासले भने। उनले यस्ता शिविरहरूबाट किसानलाई तत्काल राहत मिल्नुका साथै पशुपालन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिविरमा गाई, गोरु, भैंसी, बाख्रा लगायतका पशुहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने कुकुर र बिरालोलाई समेत खोप लगाइएको पशु सेवा शाखाले जनाएको छ। रोगको जोखिम न्यूनीकरणका लागि खोप कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको थियो। पशुहरूमा देखिने सामान्य तथा मौसमी रोगबारे किसानलाई जानकारी दिइनुका साथै सरसफाइ, पोषण र खोपको महत्वबारे समेत परामर्श दिइएको थियो। कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, वडा नं. ५ का वडा अध्यक्ष अमरलाल यादव, पशु सेवा अधिकृत रामसुन्दर दास, प्राविधिक शिवनारायण दास, विवेकानन्द झा, राजु कुमार राम, नायब प्राविधिक सहायक रामकुमार पण्डित, प्रभाष कुमार यादव, दुर्गानन्द यादव, भागवत यादव, श्रवण कुमार मण्डल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले पशु सेवा शाखा प्रमुख रामसुन्दर दासको सक्रियता, समन्वय र निरन्तर प्रयासकै कारण भगवानपुर गाउँपालिका सिरहा जिल्लामै मात्र होइन, देशभरि चिनिन सफल भएको बताए। “पशु सेवा क्षेत्रमा देखिएको यो उदाहरणीय कामका लागि प्रमुख दासलाई धन्यवाद दिनैपर्छ,” अध्यक्ष यादवले भने। यस्ता कार्यक्रमले किसान दाजुभाइहरूलाई उत्साहित बनाएको र उनीहरूको आत्मविश्वास बढाएको समेत उनले उल्लेख गरे।

उता वडा नं. ५ का वडा अध्यक्ष अमरलाल यादवले यस्ता शिविरबाट स्थानीय किसानहरू निकै खुसी भएको बताए। “पालिकाले यस्ता कार्यक्रम सञ्चालन गरेर किसानलाई प्रत्यक्ष सहयोग गरेको छ, यो कार्य साँच्चिकै सराहनीय छ,” उनले भने। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। एकदिवसीय पशु स्वास्थ्य शिविरले किसानलाई प्रत्यक्ष लाभ पुर्याकएको, पशु रोगको समयमै उपचार र रोकथाममा सहयोग पुगेको सहभागी किसानहरूले प्रतिक्रिया दिएका छन्। स्थानीय तहको पहल र पशु सेवा शाखाको सक्रियताले पशुपालन क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जलवायु उत्थानशील कृष ...

लहान , चैत ०४ । “सशक्त, समृद्धी र सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका साथ कृषक ...

कल्याणपुर न.पा.स्तरि ...

संजय महरा सिरहा चैत ३  । दलित विकास मञ्च सिरहाको आयाजोनामा कल्याणपुर नगरपालिकाको समन्वय र ...

लहान–२४ मा कक्षा १० ...

लहान, चैत्र ३। लहान नगरपालिका–२४ स्थित श्री लेखनाथ मा.वि. मलहनमा गोविन्दपुर विद्यालयमा कक्षा १ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१