सिरहा सहितका मध्यपूर्वी तराईमा परेको पानीले किसानलाई राहत

  • भदौ २८, २०७९
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहा सहितका मध्यपूर्वी तराईमा भदौ दोस्रो सातायता सम्यक वर्षा भएको छ । असार, साउन र भदौ पहिलो सातासम्म राम्ररी पानी नपर्दा खेती राम्रो लगाउन नपाएका किसानले भदौ दोस्रो सातायता बेलाबेला पानी परिरहे पछि राहतको महसुस गरेका छन् । भदौ ११ गतेयता प्रत्येक दुई-तीन दिनमा पानी परिरहेको छ । सिरहा सहितका प्रदेश २ का अधिकांश भेगमा सोमबार पनि पानी परेको थियो । यसपालि असार-साउनमा पानी राम्ररी नपर्दा किसानले चाहेजति धान रोप्न पाएका थिएन । बीउकै अभावले ठीक समयमा ब्याड राख्न नपाएका किसानले पछि पानीको अभावले गर्दा धान रोपाइँमा धेरै सास्ती व्यहोर्नुपरेको थियो । इनारबाट पम्पसेट लगाएर पनि केही त रोपियो, तर वर्षा नै नभएपछि के साध्य हुनु ? पछि त पानीबेगर रोपो पहेँलिन थाल्यो’, साउनभरिको प्रचण्ड घाम सम्झँदै किसान भन्छन, साउन महिनामा धानखेतमा धजा फाटेको देख्दै वीरक्तिएका थियौँ, तर भदौ १० यताको पानीले त्राण भयो ।’

भदौ दोस्रो सातायता प्रत्येक दुई-तीन दिनको फरकमा केही बेरकै भए पनि पानी परी रहँदा धानका बोट फिरेर अब बाला लाग्ने आश जागेको किसानहरुको भनाइ छ । तर मल सहज उपलब्ध नहुँदा धेरै सास्ती खेप्नुपरेको आम किसान बताउँछन् । भदौ दोस्रो सातायताको बेलाबेलाको वर्षाले धानलाई मात्र नभएर रुखिएको माटोमा राम्ररी चिस्यान भर्दा उखु, तरकारी र फलफूलका बिरुवा पनि हलक्क बढेका किसान बताउँछन् । बेलाबेला पानी परेपछि चरन क्षेत्रमा ओइल्याएका दुबो र अन्य घाँसका झाम्टा पलाउन थालेका छन् । यसले पशुबस्तुको चरनमा निकै राहत दिएको पशुपालक किसानको भनाइ छ । यसपालि असार-साउनमा पानी नपर्दा अपेक्षित धान रोपाइँ हुन सकेन ।

त्यस्तै महोत्तरी जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य मानिन्छ । यसपालि पानीकै अभावले धान रोपाइँ ६५ प्रतिशत नकटेको कृषि ज्ञान केन्द्र महोत्तरीका विज्ञकै स्वीकारोक्ति छ । यद्यपि किसान त धान ५०-५५ प्रतिशतमात्र रोप्न सकिएको बताउँछन् । जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो-नहरको सिँचाइ पुगेको छ । नब्बे प्रतिशत जग्गा त आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । यसपालि त असार-साउनको खडेरीले सिञ्चित जग्गाका पानीका स्रोतका मुहान पनि सुकेर कुलोमा राम्ररी पानी नचलेको किसान सम्झिरहेका छन् । यसले गर्दा आफू मरिहत्ते गरेर लागे पनि पानी नभएपछि खेतीको काम कत्ति अघि नबढ्ने बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए । जे होस्, भदौका पछिल्ला तीन साता चाँही ठीकै रहे, बेलाबेला पानी परेर चिस्यान मर्न दिएको छैन’, कुशवाहा भन्नुहुन्छ, ईश्वरका भरको पानीमा खेती चलाउने हाम्रो नियति नै बनेको छ, हेर्नोस् न, यसो राम्ररी पानी परीदिँदा खुसी हुँइन्छ ।’ यसपालि सम्यक वर्षा पहिले नहुँदा धान उत्पादन भने निकै घट्न सक्ने किसान बताउँछन् ।

रोपो फिर्ने बेला (रोपिएलगत्तै पाँच÷सात दिनमा रोपो हरियो हुने प्रकृया) र गाँजिने बेला न पानी पायो, न मल नै’, भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादव भन्छन, अब अहिले वर्षाले थोरै आश जगाएको छ, हण्डर खेपेरै भए पनि अलिअलि मल पनि पाइएको छ, केही त फल्छ होला ।’ यसपालि बर्सातको मौसम मानिने असार, साउनमा निकै कम पानी परेकाले किसानले अपेक्षित रोपाइँ गर्न नसकेका छन् । धान गोडमेल र नाइट्रोजन मल रोपोमा हाल्ने बेला भदौको पहिलो साताभरि तातो बतास चलेर खेत झन रुखिँदा काममा समस्या परेको थियो । पछिल्लो वर्षामा धान गोडमेल गर्न पाइएको किसानले बताएका छन् । थोरैतिनो नाइट्रोजन (युरिया) मल पनि हाल्न पाइएको हुँदा अब धान चाँडै हलक्क बढेर पोटाउने किसानको आश छ । अहिले लामो प्रतीक्षापछि पानी पर्दा किसानलाई चाडबाड आएजस्तै खुसी मिलेको छ ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१