दोहा । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ ।

कतारमा सोमबार २०५ जनामा संक्रमण पुष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ संक्रमण भेटिएको छ । योसँगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २९ हजार ५२३ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ६१९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये २४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ४४ लाख ३८ हजार २१० डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप लगाउँदै आएको छ ।