जनकपुरधाम :प्रदेश २ सरकारले रेडबुकमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आइतबार प्रदेशसभा बैठक सुरु हुनासाथ एमाले र मोओवादी केन्द्रका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । नेकपा एमालेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए । ‘बजेट कुन ध्येयबाट आएको छ । प्रदेश सरकारको बजेट जिल्ला विकास समितिकोभन्दा पनि तल्लो स्तरको छ ।
बजेट प्रदेशको नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ ', उनले भने, ‘जनताको अधिकारमाथि कुठाराघात भएको छ । बजेटले प्रदेशको विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रकाशित गरेको पुस्तक रेडबुक नभएर ब्ल्याकबुक भएको टिप्पणी गरे । बजेट सुधार नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् ।