कार्तिक २२ । फेसबुकका सिइओ मार्क जुकरबर्गले भारतमा ह्वाट्सएपमार्फत रकम पठाउँदा कुनै शुल्क नलाग्ने बताएका छन् । मल्टी बैंक मोडलमा युपिआईमा जोडिनका लागि नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को सहमति प्राप्त भएपछि उनले भारतका १४० भन्दा बढी बैंकले यसको उपयोग गर्ने बताए ।जुकरबर्गले एक भिडियो सन्देशमार्फत भने, ‘अब तपाईंहरूले आफ्ना परिवार र इष्टमित्रलाई ह्वाट्सएपमार्फत सन्देश जत्तिकै सजिलैसँग रकम पनि पठाउन सक्नुहुनेछ । रकम पठाउँदा कुनै शुल्क लाग्ने छैन, कुनै समस्या पनि आउने छैन । यसमा भारतका १४० भन्दा बढी बैंक सहभागी भएकाले सुरक्षित एवं गोप्य पनि रहनेछ ।’
भिन्दाभिन्दै एपमार्फत पनि तत्काल भुक्तानी हुन सकोस् भनेर यसलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) उपयोग गरेर बनाइएको उनले बताए । यसमार्फत कम्पनीहरूले पनि उपभोक्तालाई उत्कृष्ट सेवा दिने अवसर पाउनेछन् । यस्ता किसिमका सेवा सुरु गर्ने भारत पहिलो देश भएको जुकरबर्गले बताए । एनपिसिआईबाट स्वीकृति प्राप्त भएपछि फेसबुकका सिइओ मार्क जुकरबर्गले एक भिडियो सन्देश जारी गर्दै ह्वाट्सएपको भुक्तानी सेवा १० क्षेत्रीय भाषाहरूमा उपलब्ध हुने बताए । युपिआईले सपोर्ट गर्ने कुनै एक बैंकको डेबिट कार्ड भएका उपभोक्ता सिधै यसमा जोडिन सक्नेछन् । ह्वाट्सएपको नवीनतम संस्करणमा यो उपलब्ध छ ।
भारतमा ह्वाट्सएपका ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । कम्पनीले विगत दुई वर्षदेखि भुक्तानी सेवा सुरु गर्न अनुमतिको प्रतीक्षा गर्दै थियो । ह्वाट्सएपले करिब १० लाख प्रयोगकर्तामार्फत यसको परीक्षण गर्दै थियो । जुकरबर्गले भने, ‘५ नोभेँम्बरदेखि युपिआईका अधिकतम दुई करोड प्रयोकर्ताका साथ ह्वाट्सएपमा यो सेवा सुरु गरिनेछ । ह्वाट्सएपको भुक्तानी सेवालाई बिस्तारै व्यापक बनाइँदै छ । एनपिसिआईको दिशानिर्देशहरूलाई ध्यानमा राख्दै प्रयोगकर्तालाई बिस्तारै भुक्तानी सेवाको अपडेट दिइँदै छ । सुरुमै सबै प्रयोगकर्तालाई भने यसको अपडेट प्राप्त हुने छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic